ओलीले महेश बस्नेतलाई हटाएर बादलकी श्रीमति च्यापेको भन्दै युवा संघको आपत्ती

दमक, २७ जेठ /  युवा नेता महेश बस्नेतलाई ओलीले मन्त्री नबनाएपछि युवा संघका नेताहरु असन्तुष्ट बनेका छन् । मन्त्रिपरिषदमा बस्नेत नपरेपछि विहीबार ओलीनिकट युवासंघका केही नेताहरु गुनासो बोकेर बालुवाटार पुगेका थिए ।

‘अप्ठेरोमा सहयोग गर्ने बस्नेतजीलाई क्याबिनेटमा नपारेपछि गुनासो गर्नु स्वाभाविक हो’, युवा संघका एक नेताले भने, ‘अहिले प्रधानमन्त्रीलाई महेश बस्नेतभन्दा नैनकला प्यारोजस्तै भयो ।’ बादललाई खुशी राख्न उहाँकी श्रीमति काखी च्याप्नु गलत कदम हो ।

विहीबार नयाँ मन्त्रीहरुले सपथ लिइरहेका बेला बस्नेतचाहिँ फेसबुकमा स्टाटस लेख्दै थिए । आफ्नै कमरेडले मन्त्री बन्न नदिएको संकेत गर्दै उनले भनेका छन् ‘मेरो राजनैतिक जीवनमा पद प्राप्ति ठूलो विषय कहिले बनेन । पार्टीभित्र मात्र होइन, बाहिरका मान्छेलाई समेत प्रभाव र दबाव पर्ने गरी काम गरेको छु ।

पटक–पटकको मन्त्रिमण्डलको पुनर्गठनमा मेरो नाम व्यापक चर्चा हुने गर्दछ । मेरो सहयोद्धा कमरेडहरु बनाउने पक्षमा र बनाउनै हुँदैन भन्ने पक्षमा ब्यापक लाग्नुहुन्छ । मेरो सफलतामा कोही आफ्नो भलो र कोही आफ्नो राजकाज सकिन्छ भन्ने ठान्छन् ।’

शुरुमा बस्नेतको नाम काट्ने सोचमा प्रधानमन्त्री ओली थिएनन् । तर, आफ्नै समूहभित्र असन्तुष्टि बढेपछि उनले बस्नेतको नाम काटेको स्रोत बताउँछ ।

अहिले कामचलाउ सरकारमा लगिएका नेताहरुलाई प्रधानमन्त्री ओलीले आगामी चुनावमा टिकट दिने सम्भावना कम छ । महेश बस्नेत आगामी चुनावमा भक्तपुरबाट टिकट पाउने र चुनावी अभियानमा देशैभरि खट्न सक्ने नेता हुन् । यस कारणले पनि उनलाई मन्त्री नबनाइएको बालुवाटार स्रोतको तर्क छ ।

बिहिबार, २७ जेठ, २०७८, रातीको १०:२३ बजे

सम्बन्धित खवर