एमाले एकता – आज सहमति पत्रमा हस्ताक्षर हुने

काठमाडौँ, २६ असार / नेकपा (एमाले) मा विवाद समाधानका लागि गठित कार्यदलले विवादित विषयमा सहमतिको अन्तिम मस्यौदा तयार गरेको छ ।

कार्यदलले तयार गरेको सहमतिको खाकालाई भाषिक परिमार्जन गरेर शनिबार सार्वजनिक गरिने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

कार्यदलका सदस्य ज्ञवालीले हिजोको छलफल निकै सौहार्द र सघनरुपमा भएको बताए पनि उक्त खाकाका विषयवस्तुबारे थप खुलाएनन् । उनले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए ।

उनले भने, ‘सौहार्द र सघन वार्ता भएको छ । पार्टीको एकतालाई सुदृढ गर्ने सम्वन्धमा सहमतिमा पुगेका छौँ ।’

त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए ।

कार्यदल सदस्य रघुजी पन्तले मस्यौदामा दुवै पक्षको सुझाव समेटेर छलफल भएको बताउँदै शनिबारको बैठकले अन्तिम रुप दिने बताए ।

कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलले कार्य गरिरहेका बेला जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभाको विघटनएपछि एमालेमा विवाद बल्झिएको थियो ।

प्रधानमन्त्री ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा हस्ताक्षर गर्ने एमालेका २३ निवर्तमान सांसदले हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । यता नेता नेपालले पार्टीलाई २०७५ जेठ २ गतेको स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ ।

शनिबार, २६ असार, २०७८, बिहानको ०७:४२ बजे

सम्बन्धित खवर