कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार

इलाम /   कोभिडका कारण मृत्यु भएका परिवारलाई देउमाई नगरपालिकाले राहतस्वरुप ५० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नगरबासीको मृत्यु भए उक्त रकम दिने निर्णय गरेको हो।

नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले यो यस वर्षको नयाँ कार्यक्रम भएको बताए। नगरपालिकाले नयाँ कार्यक्रमका रुपमा देउमाइलाई अपाङ्तामैत्री घोषणा गरेर अपाङ्ता भएका पहेलो कार्ड भएका व्यक्तिलाई मासिक ५०० रुपैयाँ दिने निर्णय गरेको छ।

नगरपालिकाले एकल पुरुषलाई समेत भत्ता दिँदै आएको छ। साथै, ४५ वर्ष उमेर नाघेका अविवाहित महिलालाई मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने भएको छ। यौनिक अल्पसंख्यकलाई पनि मासिक एक हजार रुपैयाँ भत्ता उपलब्ध गराउने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ।

अन्य स्थानीय तहभन्दा फरक कार्यक्रमका रुपमा शुरुदेखि नै यस नगरपालिकाले नगरपालिकाभित्र बसोबास गर्ने नगरवासीले बच्चा जन्माउँदा पोषण सुविधा उपलब्ध गराउँदै आएको छ। त्यस्तै, मृत्यु हुँदा दाहसंस्कार खर्च भनेर पनि नगद उपलब्ध गराउँदै आएको छ। जन्म र मृत्युमा नगरबासीलाई नगद ५ हजार उपलब्ध गराउँदै आएको छ। उकत कार्यक्रमलाई समेत निरन्तरता दिइएको नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रेमप्रसाद दाहालले बताए।

 

शनिबार, २६ असार, २०७८, दिउँसोको ०४:३१ बजे

सम्बन्धित खवर