मोबाइल/टिभी हेर्न दिने समय बालबालिकालाई कति ?

डा. प्रकृति भण्डारी

अहिले इन्टरनेटको जमाना हो। यो समयमा इन्टरनेट, मोबाइल, ट्याब्लेट लगायतका ग्याजेटबाट जुनसुकै उमेरका व्यक्ति पनि अछुतो छैनन्। यसलाई कसरी सदुपयोग गरेर चलाउने भन्ने ज्ञान हुने उमेरको मान्छेको लागि त ठिकै छ तर यस्तो केही ज्ञान नभएका बालबालिकालाई भने यसबाट हुन सक्ने दीर्घकालीन असरको डर हुन्छ।

कोरोनाको महामारी सुरु भएर घर बस्नु पर्ने अवस्था सृजना भएपछि धेरै बालबालिकामा मोबाइल चलाउने बानी झन् बढेर आएको धेरै अभिभावकको गुनासो छ। यी सामग्री चलाउनै पर्ने कारण पनि बढेको छ, चाहे त्यो विद्यालयको अनलाइन कक्षा लिन होस् वा टाढा भएका आफन्तहरुसँग कुरा गर्न। तर अभिभावकले समयमै बालबालिकालाई आवश्यकता भन्दा बढी मोबाइल/ट्याब्लेट/ टिभी चलाउने बानी नबनोस् भनेर होशियार हुन अत्यन्त जरूरी छ।

स्क्रीन टाइम भनेको के हो ?
स्क्रीन टाइम भनेको मोबाइल, टिभी, ट्याब्लेट वा कम्प्युटर अगाडि बसेर व्यतीत गरीने समय हो। चाहे त्यो समय स्क्रीन हेरेर केही सदुपयोग गरेर व्यतीत भएको जस्तो लागोस् वा दुरुपयोग गरेर, स्क्रिन टाइमले दुवै समय बताउँछ।

उमेर अनुसारकाे स्क्रीन टाइम कति हुनु पर्छ ?
अमेरिकन एकेडेमी अफ पेडीयाट्रीक्स र विश्व स्वास्थ्य संगठनले बालवालिकामा उमेर अनुसार कति समय स्क्रीन टाइम हुनु पर्दछ भनेर तालिकाहरु सिफारिस गरेका छन्। दुबैले सिफारिस गरेको स्क्रीन टाइम लगभग उस्तै छ।

दुई वर्ष मुनि : शून्य स्क्रिन टाइम

३ देखि ५ वर्ष : एक घण्टाभन्दा कम स्क्रिन टाइम।

५ वर्ष देखि माथि : दिनको दुई घण्टाभन्दा कम स्क्रिन टाइम।

स्क्रीन टाइमको नियम कस्ताे हुनु पर्दछ ? कस्ताे सामाग्री हेर्ने, कुन समयमा हेर्ने यो सबैको नियम बनाइदिनु पर्दछ।

दुई वर्ष मुनिका बालबालिकाको स्क्रीन टाइम शून्य हुनु पर्छ भने ३ देखि ५ वर्षका बालबालिकालाई गुणस्तरीय शैक्षिक भिडियो मात्र देखाउनु पर्छ र आफू पनि संगै बसेर जे देखाइरहेको हो त्यो वर्णन गर्दिनु पर्छ। उसले हेर्दै गरेका कुराहरु दैनिक जीवनका कुरासँग वा उसको पुस्तकमा भएको सामग्रीहरूसँग वा खेलौनासँग मिलाएर केही सिकाउने किसिमको कुराहरु मात्र देखाउनु पर्दछ।

५ वर्ष भन्दा माथिका बालबालिकालाई पनि गुणस्तरीय सामग्री भएको कुराहरु मात्र देखाउन पर्दछ र मोबाइल/भिडियो गेमहरु शारीरिक व्यायाम र बौद्धिक वृद्धि हुने खालको मात्र खेल्न दिनु पर्दछ। ५ वर्ष माथिका बालबालिकालाई २ घण्टा भन्दा बेसी स्क्रीन टाइम दिन हुन्न।

अत्याधिक स्क्रीन टाइम दिने, लत बन्ने किसिमले स्क्रीन अगाडि छोडिदिने गर्नु हुँदैन। निन्द्रा, शारीरिक खेल, बौद्धिक खेल, व्यायाम, शैक्षिक क्रियाकलाप, खानपिन र अन्य मनोरञ्जनका कुराहरु दैनिक चाहिन्छन् र यीनीहरुको लागि चाहिने समय कुनै दिन पनि स्क्रीन टाइमले असर हुन दिनु हुन्न।

उचित ढंगको स्क्रीन टाइमको फाइदा के छ?
स्क्रीन टाइम नियममा बसेर गुणस्तरीय रूपमा प्रयोग गर्न सके यसका फाइदाहरु पनि छन्। जस्तै: टाढा भएका आफ्ना नाता र साथी भाईसँग बोल्न मिल्छ, शैक्षिक काममा सहयोग मिल्छ। अहिलेको यो विषम परिस्थतिमा घरमै अनलाइन माध्यमबाट पढ्नु र पढाउनु पर्ने वाध्यता छ, त्यसैले सही ढंगले प्रयोग गर्न जाने र प्रयोग गराउन जाने फाइदा हुन्छ।

अनुचित ढंगको स्क्रीन टाइमको बेफाइदा के हो ?
सानै उमेरबाट स्क्रीन देखाउन थालिएको छ वा जुनै उमेरको भएपनि अत्याधिक मात्रामा स्क्रीन टाइम दिइने गरिएको छ भने बालबालिकामा थुप्रै नकारात्मक र दीर्घकालीन असरहरु देखा पर्ने सम्भावना हुन्छ जस्तै: १) भाषामा ढिलाइ २)एकाग्रता अवधिमा असर ३) सन्तुष्ट नरहने ४)आत्म विनियममा असर ५)दैनिक जीवनको समस्या समाधान गर्न गाह्रो हुने ६) भावनात्मक समस्याहरु हुने ७)साथीभाईहरु सँग मिल्न गारो हुने ८)गृहकार्य गर्न समस्या हुने ९) स्कूल जान प्रति नकारात्मक हुने १०) सामाजिक हुन नसक्ने १२)निन्द्रामा असर पर्ने १३) आखामा असर हुने १३) मोटोपना १४) व्यावहारिक समस्याहरु १५) सीप विकासमा असर इत्यादि।

यसको लत बसिसकेको भए लत कसरी छुटाउने ?
१) सानैबाट बानी बन्न दिनु हुँदैन। त्यसको लागि अभिभावकमा पनि यसको बानी हुनुहुन्न। बच्चाले आफ्नु घरको वातावरणबाट नै धेरै कुरा सिक्छ। त्यसैले बालबालिकाको अगाडि स्क्रीन चलाउने बानी अभिभावकको पनि न्यून हुन पर्दछ। त्यसैले सर्वप्रथम घरको सदस्यहरुले नै आफ्नो स्क्रीन टाइमकाे सीमा बनाउनु जरुरी हुन्छ।

२) घरमा अनुशासन र नियम हुनुपर्छ र बालबालिकालाई नियम भित्र रहन सिकाउनु पर्छ। त्यो भनेको कुटेर/गाली गरेर हैन।बालबालिकामा सकारात्मक सुदृढीकरण जरूरी हुन्छ।

३) मोबाइल/ ट्याब्लेट/ टिभी बच्चाको नजरबाट टाढा हुने गरी राख्नु पर्छ।

४) उसले मोबाइल /टिभी चलाउन खोज्ने समयमा अरु काम वा खेलमा व्यस्त बनाउन सकिन्छ। जस्तै: किताब दिएर र पढाएर, बौद्धिक खेलका सामग्रीहरू दिएर र खेलाएर, शारीरिक खेल खेलाएर, घरका सामान्य कामहरू गर्न लगाएर, सांगीतिक सामाग्रीहरु बजाउन दिएर र सिकाएर, गाना गाउँदै उसलाई नाच्न लगाएर, चित्र बनाउन दिएर, रंग भर्न दिएर र यस्ता अन्य थुप्रै क्रियाकलापहरू।

५) अलि ठूला बच्चाहरुले मोबाइल/ट्याब्लेट/टिभी चलाउने समयमा उसले चलाउने सामाग्रीहरुमा आफूले नजर राखी राख्नु पर्छ। प्यारेन्ट्स कन्ट्रोल एप्लिकेशनहरु प्रयोग गरेर बच्चाले चलाउन सक्ने नचाहिने सामग्रीहरू छान्न पनि सकिन्छ।

६) बच्चाले खाएन भनेर ख्वाउनलाई वा रोयो भनेर फकाउनलाई वा अन्य कुनै पनि बहानामा मोबाइल/ट्याब्लेट दिन हुँदैन। बानी छ भने पनि बिस्तारै सकारात्मक सुदृढीकरण गर्दै गर्दै यो बानी हटाउन पर्दछ।

७) केही समस्या जस्तो लागे एक पटक आफ्नु बालरोग विशेषज्ञ वा अस्पतालमा सम्पर्क गर्न पनि बिर्सिनु भएन।

मोबाइल/ट्याब्लेट/कम्प्युटर/ टिभी अनुत्पादक ढंगमा केवल लत बनाएर कसैले प्रयोग गर्न हुन्न भन्ने धेरैलाई थाहा भएकै कुरा हो तर बालबालिकालाई यसको ज्ञान हुन्न। त्यसैले उनीहरूलाई नियम सिकाएर सकारात्मक सुद्रिनिकरण गरेर मोबाइल/टिभीहरुको बानी नबसाल्नमा अभिभावकको नै ठूलो भूमिका हुन्छ।

-(बाल रोग विशेषज्ञ डा भण्डारी प्रदेश अस्पताल सुर्खेतमा कार्यरत छिन्)

मङ्गलबार, २६ साउन, २०७८, दिउँसोको ०२:५४ बजे

सम्बन्धित खवर