६० जिल्लामा डेंगु देखियो, एक महिनामै ४ सय बिरामी

  काठमाडौं, साउन २५ / बर्खायाम लागेसँगै गएको एक महिना अवधिमा ४ सय डेंगुका केस भेटिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गएको पुस महिनादेखि अर्थात् सात महिनाको अवधिमा ३४७ डेंगुको केस पुष्टि भएको छ । यद्यपि गएको एक महिनामै थप ४ सय केस थपिएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको भेक्टर कन्ट्रोल सेक्सनका प्रमुख डा गोकर्ण गौतमले सोही अवधिमा ६० जिल्लामा डेंगुका केस भेटिएको बताउँछन् ।
यसै गरी राजधानीका तीन जिल्लामध्ये ललितपुरमा १३७, काठमाडौँमा ४७ वटा केस देखिएको छ । डा. गौतम भन्छन्, ‘काठमाडौँमा यो वडा यो ठाउँका बिरामीलाई डेंगु भएको भन्ने आधार छैन । अस्पतालमा उपचार गराउन कहाँ कहाँबाट अस्पताल उपचार गराउन आइपुग्छन्, त्यसैको तथ्याङ्क हो ।’
ललितपुर जिल्लामा पहिलो केस असार ९ गते देखिएको थियो । महालक्ष्मीस्थान, थसिखेल, खुमलटारका विभिन्न स्थानमा गरी १३७ जनामा डेंगु देखिएको हो ।

अघिल्लो वर्ष ५३० जनामा डेंगु पुष्टि भएको थियो । अहिले भने सात महिनाको अवधिमा झण्डै साढे ७ सय जनामा डेंगु पुष्टि भएको छ ।

​डा गौतमका अनुसार अझै तीन महिना अर्थात् कार्तिक मसान्तसम्म डेंगुका बिरामीको रिपोर्टिङ हुने भएकाले अझै बिरामी बढ्न सक्छन् । उनी भन्छन्, ‘अहिले नै गत साल देखिएको दरभन्दा बढी डेंगुका बिरामी देखिएकाले यो सङ्ख्या अझै बढ्छ ।’

बाग्मती र लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै डेंंगुका बिरामी देखिएका छन् । रुपन्देही, बर्दिया, धादिङ, सङ्खुवासभा लगायतका दश जिल्लामा २० वटाभन्दा धेरै केस देखिएका जिल्ला १० वटा रहेका छन् ।

०७६ मा डेंगुले प्रकोपको रुप लिंदा १० हजार ८ सय ८ केस पुष्टि भएको थियो । जसमध्ये ६ जनाको मृत्यु भएको थियो भने १६ हजार जना अस्पताल भर्ना भएका थिए । इडिसिडिका अनुसार २०७५/०७६ मा ३ हजार ४२४ केस पुष्टि भएको थियो भने ०७६/०७७ मा १ हजार ८०८, ०७७/०७८ मा ४८७ र ०७८/०७९ मा ५३० केस पुष्टि भएको थियो ।

तराईदेखि हिमालसम्म लामखुट्टेको प्रकोप

जलवायु परिवर्तन भएसँगै डेंगुका बिरामी तराईबाट उक्लिएर पहाड र हिमालमा पनि देखिन थालेका छन् । गएको सात महिना यता तराई, पहाडसँगै हिमाली जिल्ला जुम्ला, मुगु, कालिकोट, बैतडी लगायतका जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

डा. गौतमका अनुसार किट्जन्य रोग पहिले तराईमा मात्रै देखिन्थ्यो । तर वातावरणीय प्रभावका कारण तराईमा देखिने किट्जन्य रोग पहाडी, हिमाली जिल्लामा पनि देखिन थालेका छन् । किराहरू आफ्ना आनीबानी परिवर्तन गरी हिमाल, पहाडका जिल्ला सर्न थालेका छन् ।

कस्तो हो डेंगु सार्ने लामखुट्टे

डेंगु एडिस एजिप्टाई प्रजातिका लामखुट्टेको टोकाईबाट सर्ने रोग हो । एडिस प्रजातिको लामखुट्टेले आफ्नो वंश बढाउनका लागि अन्य लामखुट्टे भन्दा बाठो चरित्रको हुन्छ । यस जातिको लामखुट्टेले वातावरणमा अन्य प्रजातिका लामखुट्टेभन्दा बढी घुलमिल हुने क्षमताको हुने डा. गौतम बताउँछन् ।

‘यो लामखुट्टेले एकै ठाउँमा अण्डा नपारेर भिन्दाभिन्दै स्थानमा पार्छ,’ उनी भन्छन्, ‘एक ठाउँमा पारेका अण्डा लार्भा बन्न असफल भए पनि अन्य ठाउँका अण्डा बच्न सक्छ, त्यसैले यो चलाख हुन्छ ।’

अण्डाबाट लार्भा, प्युपा, त्यसपछि वयस्क बन्छ । तर, यसले सुख्खा मौसममा अण्डा पारेपनि ५/६ महिनासम्म सुख्खा मौसम भए पनि नमर्ने उनले बताए । सुख्खा मौसममा अण्डा पारेपछि सात आठ महिनापछि पानी पर्‍यो भने पुनः त्यो अण्डाबाट लार्भा बन्ने गरेको उनले बताए । यसले वंशाणुगत्त चरित्रलाई बचाउने गर्छ ।

डेंगु भएको मानिसलाई टोकेको लामखुट्टेले अरुलाई टोक्दा डेंगु हुन्छ । यतिमात्रै होइन डेंगु भएका लामखुट्टेबाट जन्मिने छोराछोरी, नाति नातिनी अर्थात् अन्य पुस्तामा समेत डेंगु भाइरस हुने डा. गौतमले बताए । यस्तै, डेंगु सार्ने लामखुट्टेले बिहान र दिउँसो मान्छेको रगत मन पराउने पराउने भएकाले उज्यालोमा बढी टोक्ने गर्छ । जबकि अन्य लामखुट्टेले अँध्यारोमा टोक्ने गर्छन ।

सहरी तथा घना बस्तीमा डेंगु एडिस प्रजातिका लामखुट्टे बस्ने गर्छन् । यी लामखुट्टे सफा पानीमा बस्न रुचाउँछन् । जस्तै, सहरका कर्पोरेट हाउस, ठूला होटलमा राखिने फुलदानीमा डेंगु हुने लामखुट्टे हुन्छन् । नुहाउन, प्रयोगका लागि जम्मा गरेर राखिएको पानीमा यो लामखुट्टे बस्ने गर्छ । त्यसैले भाँडामा राखिएका सफा पानी परिवर्तन गरिरहनुपर्छ । डेंगु तराई, हिमाल र पहाडमा देखिएपनि छिरोलिएर केसहरू नदेखिएको डा. गौतमले बताए ।

‘गाउँभरि केस देखियो भने ठूलो समस्या ल्याउन सक्छ,’ उनी भन्छन्, ‘फाट्टफुट्ट एउटै गाउँपालिकामा पनि कुनै केस एउटा वडामा छ, अर्को अल्लि पल्लो वडा वा टोलमा देखिएको छ । डेंगु धेरै जिल्लामा देखिएपनि छिरएर देखिएको छ ।

सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनका अनुसार संक्रमित सबैमा डेंगुको कडा लक्षण देखिँदैन । डेंगु भएर बसिरहेको अवस्थामा अचानक पेट दुख्ने, तारन्तार बान्ता हुने, आलस्य हुने, रक्तश्राव हुने (गिंजा, नाक आदिबाट रगत बग्ने), कलेजो सुन्निने र प्रयोगशालामा परीक्षण गर्दा प्लेटेलेट्सको सङ्ख्या तीव्र गतिमा ओरालो र हेमाटोकृत उकालो लाग्ने गरेको हुन्छ । यस्तो अवस्थामा संक्रमितले जति सक्दो चाँडो चिकित्सकलाई सम्पर्क गर्नुपर्ने उनले बताए ।

डा. पुनका अनुसार लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगुबाट बच्ने मुख्य आधार हो । लामखुट्टेबाट बच्नका लागि घर वरपर पानी जम्मा हुने ठाउँ राख्नु हुँदैन । कार्यस्थल अर्थात् होटल, कार्पोरेट हाउस राखिने फुलदानीको पानी परिवर्तन गरिरहनुपर्छ । दिउँसो निदाउँदा पनि झुल लगाएर निदाउनुपर्छ । त्यसै सम्भव भएसम्म दिउँसो पनि सबै शरीर ढाक्ने लुगा लगाउन उनको आग्रह छ ।

बुधबार, २५ साउन, २०७९, दिउँसोको ०२:४६ बजे

सम्बन्धित खवर