पथरी/ मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यायले गत सालझैं यस वर्ष पनि सामुदायिक कुकुरको वन्ध्याकरण कार्यक्रम अघि बढाएको छ ।

मंगलबार नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितको टोलीले वडा नम्बर ६ स्थित मंगलबारे स्थित पशु सेवा केन्द्रमा वन्ध्याकरण संचालन गरेको हो ।

उक्त बन्ध्याकरण कार्यक्रमको सो टोलीले अनुगमन समेत गरेको थियो । सोहि क्रममा टोलीले नगरले ४ लाख ५० हजार रुपैयाँमा खरिद गरेको पशुपंक्षीको औषधि तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रको गतिविधिको पनि अनुगमन गरेको थियो ।

रेविज मुक्त नगर बनाउने उद्देश्य लिई संचालित वन्ध्याकरण कार्यक्रममा नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर इटहरीको प्राविधिक सहयोगमा आज दोस्रो दिनसम्ममा १ सय ४५ वटा कुकुरको वन्ध्याकरण गरिएको छ भने २ सय वढीको वन्ध्याकरण गर्ने लक्ष्य बनाएको नगरका पशु सेवा प्राविधिक पर्वत साहले बताउनुभयो ।

डाक्टहरु इन्द्रनारायण साह, कृष्णकुमार यादव, सूर्य साह, सुवास चौधरी, राघवेन्द्र तिवारी समेतको पशु सेवा प्राविधिक टोलीले वन्ध्याकरण कार्य सञ्चालन गरेको छ ।

पहिलो वर्ष १ सय ६०, दोस्रो वर्ष २ सय २ कुकुरको वन्ध्याकरण गरिएको थियो । वन्ध्याकरणका लागि यो वर्ष ५ लाख रुपैयाँ विनियोजित गरिएको पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो । उहाँले सेवा केन्द्रबाट आवश्यक औषधि र खोप पनि निःशुल्क उपलब्ध हुँदै आएको बताउनुभयो ।

Facebook Comments Box