पहिचानको आधारमा नामाकरण हुन्छ : मुख्यमन्त्री राई

भोजपुर /    प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नै कार्यकालमा पहिचानको आधारमा प्रदेशको नामाकरण गर्ने बताएका छन् ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै गृहजिल्ला भोजपुर पुगेका राईले विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारसँग कुरा गर्दै अघिल्लो सरकारले चासो नदिएको प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने दावी गरे ।

सरकारले विश्वासको मत लिएलगत्तै नामाकरणबारे छलफल थालिने बताउँदै मुख्यमन्त्री राईले नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल सुरु हुने बताए । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्ने भन्दै उनले प्रदेश १ को नामाकरण पहिचानका आधारमा गर्नुपर्छ भन्नेमा धेरै प्रदेशसभा सदस्यहरुको मत रहेको आफूले पाएको बताए ।

प्रदेशको नामाकरण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउनेबारे दलका प्रमुखसँग छलफल गर्ने मुख्यमन्त्री राईको भनाइ छ । अघिल्लो सरकारले छलफल र प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिलेसम्म हुन नसकेको उनले बताए ।

मुख्यमन्त्री राईले भोजपुर–संखुवासभा जोड्ने अरुण नदीमा पक्की पुल निर्माणको काम पनि आफ्नै कार्यकालमा पूरा गर्ने आश्वासन दिएका छन् । भोजपुरको षडानन्द नगरपालिका र संखुवासभाको खाँदबारी नगरपालिका जोड्ने अरुण नदीको लम्सुवाघाटमा पक्की पुल निर्माणको माग स्थानीयले गर्दै आएका छन् । संघीय सरकारको योजनामा १० वर्षअघि शिलान्यास गरेको लम्सुवाघाटको पक्की पुल ठेकेदारको लापरवाहीले अहिलेसम्म बनेको छैन ।

बुधबार, २४ कार्तिक, २०७८, बिहानको ११:०० बजे

सम्बन्धित खवर