उर्लाबारी नपाका इन्जिनियर यादवको जागिर चैट

    उर्लाबारी /   मोरङको उर्लाबारी नगरपालिका इन्जिनियर धिरेन्द्रकुमार यादवको जागिर चैट भएको छ ।
इन्जिनियर यादवले सेवाग्राही र ठेकेदारसँग मिलेमतो गरी आर्थिक चलखेल गरेको पाइएपछि नगरपालिकाले उनीसँगको करार सम्झौता रद्ध गरेपछि यादव जागिरबाट निकालिएका हुन् ।
यादवले गत महिना बेमौसमी बर्षाका कारण स्थानीय मावा खोलामा आएको बाढीका कारण क्षति पुगेको स्थानमा बासको पाइलिङ गर्ने कामको १० लाखको स्टिमेट देखाएर कामको जिम्मा दिने भन्दै स्थानीय एक ठेकेदारबाट १ लाख रकम असुलेको पाइएको छ । इन्जिनियर यादवले नगरपालिका प्रमुख खड्ग फागोको नाम जोडेर उक्त रकम लिएको ती ठेकेदारले बताए ।

ती ठेकदारले भने “इन्जिनियर यादवले मेयर सावलाई १ लाख दिनुपर्छ भन्दै मागेर लगे ।”
नगरपालिकाले कटान रोकथामका लागि बाँसको पाइलिङ गर्ने योजना बनाए पनि विभिन्न कारणले पाईलिङको काम हुन नसकेपछि यादवले मेयरको नाम मुछेर लगेको १ लाख रुपैयाँको कर्तुत बाहिर आएको हो । बुधबार नगरपालिका परिसरमा कामको बारेमा बुझ्न आउँदा यादवले १ लाख रुपैयाँ लिएको कुरा खुलेको हो ।

यादवले ठेकेदारलाई भ्रममा पारी नगर प्रमुखको नाम जोडेर आर्थिक चलखेल गरेको पुष्टि भएपछि उनलाई तत्काल जवाफ माग गरिएको थियो । जवाफमा उनले ठेकेदारको रकम फिर्ता गर्ने प्रतिबद्धता गरे पनि अहिलेसम्म रकम नपाएको ठेकेदारले बताए । यता नगरपालिकाले पनि सो विषयमा यादवसँग स्पष्टिकरण माग गरेको थियो । तर उनले स्पष्टिकरण पेस गर्न नसकेपछि बुधबार नै करार सम्झौता भंग गरी जागिरबाट निकालिएको नगरपालिकाले जनाएको छ ।
यादवको कर्तुत यतिमै सीमित छैन । उनले उर्लाबारी–५ का एक सेवाग्राहीसँग मिलेमतो गरी १ कठ्ठा ६ धुर जग्गाको घर नक्सा प्रमाणिकरणमा कार्यालयमा दाखिला नभएको प्रमाणपत्रमा हस्ताक्षर गरेको पनि भेटिएको छ । २०७६ कार्तिकमा घर नक्सा प्रमाणपत्र प्रदान गरिएपनि त्यसको कुनै प्रमाण नगरपालिकामा छैन । उक्त समयमा उनी घरनक्सा फाँटका प्रमुख थिए । प्रमाणपत्रको प्रतिलिपि नगरपालिकाको कुनै पनि रेकर्डमा दाखिला नभएकोले उनले पदीय दुरुपयोग गरेको पाइएको छ ।
नगरपालिका स्रोतका अनुसार यादवले बैकिङ प्रयोजनका लागि तयार पारिएको घरनक्सा प्रमाणीकरणको प्रमाणपत्रमा हस्ताक्षर गरेको पाइएता पनि सोको प्रतिलिपि प्रमाण र दर्ता चलानी नगरपालिकाको रेकर्डमा नभेटिएपछि यादवले फर्जी काम गरेको प्रमाणित भएकोले उनलाई कारवाही गरिएको नगर प्रमुख खड्ग फागोले बताए ।
दमकस्थित कामना सेवा विकास बैंकले २०७८ कार्तिक ११ गते उर्लाबारी नगरपालिकालाई मोरङ जिल्ला बेलबारी मालपोत कार्यालयमा दर्ता कायम भएको १ कठ्ठा ६ धुर जग्गामा घर कायम भएको र निर्माण सम्पन्न भए नभएको जानकारी माग गरेर पत्र काटेपछि खोजविनका क्रममा सो कुरा बाहिर आएको हो । यस विषयमा इन्जिनियर धिरेन्द्रकुमार यादवसँग सम्पर्क गर्दा उनको फोन स्वीच अफ रहेको समाचार नेपाली पोर्टलले लेखेको छ । ।

शुक्रबार, २४ मंसिर, २०७८, बिहानको ०८:३५ बजे

सम्बन्धित खवर