पूर्वमाओवादी घटकहरुसँग एकताको सम्भावना छैनः वैद्य

    काठमाडौं, पुस २७ /  नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्वमाओवादी घटकहरुसँग तत्काल एकताको सम्भावना नरहेको बताएका छन् । मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा(माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भएपनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे ।

आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो । उनले भने, ‘उहाँहरुले पार्टी एकता हुनसक्छ, पूर्व माओवादीहरूसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्नुभएको छ । तर हाम्रो पार्टी सँग सम्भव छैन । नेकपा(क्रान्तिकारी माओवादी)सँग सम्भव छैन । किन भन्नुहुन्छ भने हामीले पुरानो राज्यसत्ता, संसदीय व्यवस्था यसलाई स्वीकार गर्न सक्दैन भनि राखेका छौँ ।

प्रचण्डजीको पुरै जोड के छ भने, माओवादी केन्द्रका साथीहरूका जोड के छ भने यो संविधानको असली संरक्षक हामी हौँ । संसदीय व्यवस्थाको असली संरक्षक हामी हौँ भन्ने हिसाबले उहाँहरु गइरहनुभएको छ । त्यसकारणले उहाँहरु सँग एकताको सम्भावना छैन ।’
उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए । ती पार्टीहरूसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाई छ ।

कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए । त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए ।

मङ्गलबार, २७ पुष, २०७८, दिउँसोको ०४:४५ बजे

सम्बन्धित खवर