‘जसपाका कारण गठबन्धन टुट्ने कुरा हुनै सक्दैन’ – अध्यक्ष चाम्लिङ

    ===  संविधानको रक्षा, मधेशको मुद्धा, वर्गीय, लैङ्गिक र आदिवासी जनजातिको पहिचान बचाउन, आन्दोलनका उपलब्धीको रक्षा र संस्थागत विकास गर्न जनमत केन्द्रित गर्नुपर्ने अवस्थाले गठबन्धनको आवश्यकता परेको हो ।  —-

     00 आगामी वैशाख ३० गते स्थानीय सरकारको निर्वाचन देशभर एकै चरणमा सम्पन्न हुँदैछ । ६ वटा महा–नगरपालिका, ११ उप–महानगरपालिका २ सय ७६ नगरपालिका र ४ सय ६० गाउँपालिकाको निर्वाचनमार्फत ७ सय ५३ स्थानीय तहले ताजा जनादेशसहितको नेतृत्व पाउँदैछन् । यी स्थानीय तहमा ३५ हजार २ सय १८ नयाँ जनप्रतिनिधिहरु चुनिएर आउनेछन् । यसले स्थानीय तहको शासन आगामी पाँचवर्षका लागि निश्चित गर्नेछ । यसपालिको चुनाव गत वर्षको चुनावभन्दा निकै फरक देखिन्छ । काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चालगायतका दलसँग गठबन्धन गरी अघि बढ्ने सहमत छन् । अर्कोतर्फ एमाले एक्लै चुनावमा होमिने तरखरमा छ । यो अवस्थामा गठबन्धनभित्रको जनता समाजवादी पार्टी, प्रदेश नं. १ का अध्यक्ष प्रविण चाम्लिङसँग हामीले स्थानीय चुनावको पूर्व तयारीका विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौं । प्रस्तुत छ अध्यक्ष चाम्लिङसँगको चुनाव केन्द्रित कुराकानीको सम्पादित अंश । 00

                              

चुनावी गठबन्धन नै किन ?
परिवर्तन विरोधी र प्रतिगामी दुराशयबाट देश र लोकतन्त्रलाई जोगाउन पाँच दलीय गठबन्धन बनेको कुरा सबैमा विदितै छ । संविधानको रक्षा, मधेशको मुद्धा, वर्गीय, लैङ्गिक र आदिवासी जनजातिको पहिचान बचाउन, आन्दोलनका उपलब्धीको रक्षा र संस्थागत विकास गर्न जनमत केन्द्रित गर्नुपर्ने अवस्थाले गठबन्धनको आवश्यकता परेको हो । लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय बासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानीय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्नु अहिलेको आवश्यकता भएकाले पनि गठबन्धन आवश्यक भएको हो ।

गठबन्धनभित्र के भागबण्डा पनि भइसकेको हो ?
अहिले पालिकास्तरमा छलफल भइरहेको छ । अहिले ठ्याक्कै यो यो तेरो, यो यो मेरो भन्ने भइसकेको छैन, हामीले भनेका छौ स–सम्मान भागवण्डा हुुनुपर्छ, जनप्रभावको आधारमा, संगठनको आधारमा र मूल मुद्धाको जित हुने हिसावले भागबण्डा गरौं भनेर प्रश्ताव गरेका छौं, सोही अनुुसार छलफल हुँदैछ । अहिलेको आवश्यकता भनेको लिनु र दिनुको अथवा कसले कति पायो भन्नेमा भन्दा पनि मूल मुद्धामा गठबन्धन भएको अनुभूति हुनुपर्छ भन्ने हो । प्रतिगमन परास्त हुनुपर्छ र अग्रगमनपक्षधरले जित्नुपर्छ भन्ने हो ।

गठबन्धन अनुसार चुनावी परिणाम आउने कुरामा विश्वस्त हुनुहुन्छ ?
परिवर्तनलाई आत्मसात गर्न नसक्ने र नचाहने एमाले लगायतका केही पार्टी जाति र पहिचानका आधार स्तम्भहरु सक्ने, जातीय मुक्तिका आधारशिलाहरु भत्काउने योजनाका साथ लागिरहेका छन् । एमाले परिवर्तनका विरुद्ध अझै पनि षडयन्त्र गरिरहेको छ, जनताका उपलब्धीहरुको रक्षा गर्न र अहिलेको लोकतान्त्रिक परिवर्तनलाई संस्थागत गर्न अहिलेको गठबन्धन हो भन्नेकुरा सर्वसाधारणले पनि बुझिसकेका हुनाले गठबन्धन अनुसार नै परिणाम आउने कुरामा कुनै शंका छैन । 

पार्टीले चुनावी अभियान कसरी चलाउने योजना तय गरेको छ ?
सबैजसो पालिका र वडाहरुमा साथीहरु अभियानकै रुपमा जनता समक्ष जानुभएको छ । एक पालिका एक केन्द्रीय सदस्यको योजनामा केन्द्रले अभियन्ताको रुपमा र प्रदेशले सहजकर्ताको रुपमा परिचालन गरिसकेको छ । स्थानीय चुनाव नै जनताको मुख्य सरोकारको जनअधिकार सहितको सरकार बनाउने र प्रतिनिधी छान्ने चुनाव भएकाले कार्यकर्ता सबै उत्साहका साथ जुट्नुको विकल्प छैन । सोही अनुसार योजना बनाएर जनताको घर घर पुग्न हामी अभियानमा जुटेका छौं ।

तपाईंको पार्टीभित्र प्रदेश र जिल्लामा (विशेष गरेर झापामा ) सम्वन्वयको अभाव भएको कुरा आइरहेको छ नि ?
हाम्रो पार्टीमा त्यस्तो छैन, तपाईलाई कसले भन्यो, त्यो गलत हो । सामान्य विवाद र असन्तुष्टी एकता प्रक्रियाको बेला थियो होला तर अहिले त्यो छैन, छँदै छैन । मलाई लाग्छ यो प्रतिपक्षले फैलाएको अफवाह हो । हामी एकढिक्का भएर केन्द्रदेखि वडासम्मका कार्यकर्ता चुनावी अभियानमा लागिसकेका छौं ।

प्रदेशभित्रका जिल्लामा नेपाली काँग्रसले त एक्लै लड्ने भनिरहेको छ नि ?
यो उसको आन्तरिक विवादको परिणाम र दम्भ हो, अहिले दम्भ देखाउने बेला होइन, नेपाली काँग्रेसले पार्टीभित्रको योजनालाई केन्द्रित गरेर लान सक्नुपर्छ । काँग्रेसले गठबन्धन र तालमेलको धर्म नछाड्ने हो भने सतप्रतिशत नतिजा ल्याउन सकिन्छ । केन्द्रको योजना नमानेका ठाउँहरुका सन्दर्भमा हामीले पनि पार्टीको केन्द्रमा जानकारी गराएको छौं । उसले त अहिले सबैलाई मिलाएर लाने र मिलेर जाउँ, साझा मुद्धा लिएर चुनावमा जाउँ भन्ने बेला हो, तर काँग्रेसले दम्भ देखाउनु उसको दूर्भाग्य हुन्छ ।
तपाईँहरु पाँच, छ दल मिलेर गठबन्धन गरिरहनु भएको छ, एमाले एक्लै लडेर विरासत कायम गर्ने योजनामा छ नि ?
एमाले आफुलाई दह्रो देखाउन नाटकीय भाषा बोल्छ, एमालेभित्र दम्भ र घमण्ड भरिएको छ, बाहिर बाहिर हुँकार छाड्ने र भित्र भित्र डराएर काम्ने अवस्थामा एमाले पुगेको छ । गठबन्धनका पार्टीहरुले इमान्दारिता कायम गर्नसके भने एमाले १० देखि १५ सिटमा सिमित हुन्छ ।

जसपाका कारण गठबन्धन टुट्दैन भन्ने आधार के छन् ?
सत्तारुढ पाँच दलले स्थानीय तह निर्वाचनमा ठाउँ र अवस्थाअनुसार तालमेल गर्न पार्टीका नेता कार्यकर्तालाई आहृवान गरिसकेको अवस्था छ । यस प्रदेशमा पनि ठाउँ र अवस्था अनुसार चुनावी तालमेल मिलाएर चुनावमा आपसी सहकार्य र परस्पर सहयोगी भावनाले अगाडि बढ्न पार्टीले निर्देशन गरिसकेको हुनाले जसपाका कारण गठबन्धन टुट्ने कुरा हुनै सक्दैन । जसपाले जसरी पनि चुनाव परिणाममूखी बनाउन योजना अघि सारिसकेको हुनाले म यो मिडियामार्फत पनि प्रदेशभरका जिल्ला र पालिका हुँदै वडासम्मका कार्यकर्ता र पार्टी पंक्तिमा पनि हार्दिकताका साथ यही आग्रह गर्दछु । धन्यवाद ।

 

सोमबार, २८ चैत, २०७८, साँझको ०६:०९ बजे

सम्बन्धित खवर