धरहरा आठौ आश्चर्यमा परेछ !

क्रम सङ्ख्यामा बिश्वका सात आश्चर्यहरु
सबैभन्दा तल झरेछ !
आश्चर्यहरुको सबैभन्दा माथी
भाचिएको धरहरा परेछ !!
विश्वको आठौ आश्चर्यमा परेको देखेर ,
धरहरा आफै आश्चर्यमा परेछ !!!

ग्रेटवाल , ताजमहल ,कोलिसियम
चर्च , मन्दिर अनि मस्जिद ,
क्वारेन्टाइनमा सरेको बेला !
विस्तारवाद अनि साम्राज्यवाद
आइसोलेसनमा परेको बेला !!
भाचिएको धरहरा , आठौ आश्चर्यमा परेछ !!!

आज ख्वाक्क खोक्दा विस्तारवाद हल्लिन्छ,
अनी हाच्छियु गर्दा साम्राज्यवाद थर्किन्छ !
हिजो हात धोएर कम्युनिष्ट ध्वस्त पार्न लाग्नेहरु
आज आफै हात धोएर बसेको बेला !!
नेपालका कम्युनिष्टलाई देखेर
धरहरा आठौ आश्चर्यमा परेछ !!!

प्रदुषण पातलिएको छ,ओजन बाक्लिएको छ ,
खुशी छन जन्तुहरु , आजाद छन चराहरु !
मान्छेहरु गुफा बसेको बेला पनि
लुट्नलाई ब्यस्त छन सरकारी नकचराहरु !!
यी नकचराहरुको चित्र र चरीत्र देखेर
धरहरा आठौ आश्चर्यमा परेछ !!!

मान्छे जस्तै देखिने मासुका थुप्राहरु ,
गोबर निकाल तिम्रा खोपडिको !
लकडाउनमा उस्तै लाग्छ कि के हो तिमीहरुलाई,
ब्यथा महल अनि झुपडिको !!
तिमीहरुको ब्यवहार अनि शैली देखेर
धरहरा आठौ आश्चर्यमा परेछ !!!

म कसरी आठौ आश्चर्यमा परे भनेर
धरहरा फेरी आश्चर्यमा परेछ !!!!

श्याम बाबु गौतम

शनिबार, २९ चैत, २०७६, दिउँसोको १२:२२ बजे

सम्बन्धित खवर