‘प्लिज प्रधानमन्त्री ज्यू, मन्त्री नपाएर हिरिक्क–हिरिक्क भएकालाई मन्त्री बनाइदिनुस्।’ – ओली

दमक, २७ साउन/   २४ गते बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन पछि सर्दा पार्टी एकीकृत बनाउन दौडधूप गरिरहेको एमाले वृत्तमा चर्चा चल्यो- पार्टी फुट्न नदिन अध्यक्ष केपी शर्मा ओली एक कदम पछि सरे। किनभने त्यसअघि बसेको वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय केन्द्रीय कमिटी बैठकमा नेपालले पार्टी एकता जोगाउने हो भने बोलाइएको बैठक ओलीले स्थगित गर्नुपर्ने बताएका थिए। तर, सोमबारको बैठकले पार्टी एकतामा जोड दिइरहेका समक्ष त्यति शुभ समाचार ल्याएन। ओली पक्षले एमालेको रथ लगभग एक्लै हाँक्न सक्ने निर्णय अनुमोदन गर्यो, पार्टीमा अध्यक्षलाई शक्तिशाली बनायो
अध्यक्षमा शक्ति केन्द्रित गर्ने प्रस्ताव राखिएको सो विधान आगामी भदौ २६ र २७ गते बस्ने विधान महाधिवेशनबाट पारित हुँदैछ। नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले संशोधन गराएको विधान एमाले विभाजनको दोस्रो प्रस्थानविन्दु भएको नेपालपक्षीय नेताहरु बताउँछन्। उनीहरुको बुझाईमा नाम एक भएपनि अब एमालेका दुई ब्राण्ड छन् ।

आफ्नै पुराना सहयात्रीप्रति ओलीको हद दर्जाको व्यवहार र ओली प्रवृत्तिलाई पटक्कै देख्न नरुचाउने नेता नेपालबीचको पुरानै मित्रता फेरि फर्कने सम्भावना क्षीण हुँदै गएको छ। विपरीत धारमा नेतृत्व गरिरहेका यी दुई नेताको सम्बन्ध यस्तो हुँदा एमाले एक हुने सम्भावना झनै कम रहेको दुवै पक्षका नेताहरु बताउँछन्।

अध्यक्ष ओली र नेता नेपालले मंगलबार गरेका भाषणको अन्तर्यमा पनि एक अर्काप्रतिको तिक्तता ज्यादा छ। आफैँले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि पहिलोपटक मंगलबार विशेष समय लिएर बोलेका अध्यक्ष ओलीले पार्टी फुटेको घाटा सहन तयार रहेको बताए।

‘सभामुखमार्फत प्रधानमन्त्रीज्यूलाई एउटा अनुरोध, मेरो दलका केही सांसदहरु मन्त्री नपाएर हिरिक्क–हिरिक्क भएका छन्, ती सांसदहरुलाई मन्त्री बनाउनुस्,’ ओलीले भने, ‘प्लिज प्रधानमन्त्रीज्यू, विचराहरु मन्त्री खान नपाएर छटपटिएका छन्। तिनीहरुलाई मन्त्री बनाइदिनुस् न। किन बिलम्ब गर्नुभएको, किन ढिला गर्नु भएको? विचराहरुलाई मन्त्री बनाइदिँदा मेरो पार्टीलाई घाटा हुने भए पनि सहुँला, बुझौँला तर उनीहरुलाई मन्त्री बनाइदिनुस्।’

बुधबार, २७ साउन, २०७८, बिहानको ०९:०८ बजे

सम्बन्धित खवर