चार पुस्ताको किरिया एकै पटक

संखुवासभा, २६ भदौ /  बौदमान कार्कीका परिवारका ६ जनाको हत्या हुँदा चार पुस्ता नै सकियो। अहिले त्यही घरमा चार पुस्ताको सामूहिक किरिया एकै पटक सुरु भएको छ। बौदमानका ३ छोरा, ३ छोरी, १ नाति र नातिनी बुहारी किरियामा बसेका छन्।

बौदमानकी पत्नी ८४ वर्षीया पार्वता कार्की, छोरा ५८ वर्षीय तेजबहादुर कार्की र तेजबहादुरकी पत्नी ५२ वर्षीया कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीको अज्ञात समूहले हत्या गरेको अवस्थामा गत सोमबार शव भेटिएको हो। बुधबार बेलुका इटहरीस्थित बूढीगंगा जमुना मुक्ति घाटमा उनीहरूको सामूहिक दाहसंस्कार भयो।

दाहसंस्कारपछि किरिया बस्नेहरू बिहीबार बेलुका मादीस्थित घर आइपुगे। मृतक तेजबहादुरका कान्छो छोरा नरेश, बुहारी र दुई छोरी पनि किरियामा बसेका छन्। तेजबहादुरको जेठो छोरा रमेश कार्की कोरोना महामारीका कारण उडानमा अवरोध हुँदा अहिलेसम्म आउन पाएका छैनन्। नरेश दुबईमा थिए। घटनापछि उनी भने आएर किरियामा बसेका हुन्। नरेश दाहसंस्कारमा पनि सहभागी हुन भ्याए।

टुहुरो बन्यो खोलागाउँ
संखुवासभाको मादी नगरपालिका—१ उम्लिङस्थित खोलागाउँका तेजबहादुर कार्की गाउँकै सहयोगी थिए। सिंगो परिवार नै गाउँमा सहयोगीको रूपमा चिनिन्थ्यो। छरछिमेकमा आर्थिकदेखि लिएर अरू समस्या पर्दा कार्की परिवारले सहयोग गर्ने गरेको स्थानीय चन्द्रबहादुर थापा बताउँछन्। ‘आर्थिक तथा अन्य सहयोग चाहिएर तेजबहादुर मामाको घरमा जाँदा रित्तै फर्कनु पर्दैनथियो,’ थापा भन्छन्।

गाउँमा भरअभरमा सरसापटीका लागि कार्की परिवार गाउँकै सहयोगी रहेको वडाध्यक्ष खेमनाथ कटुवाल बताउँछन्। ‘कार्की परिवारले वार्षिक ७/८ मन अलैंची उत्पादन गर्थे। दुई छोरा वैदेशिक रोजगारीमा भएकाले घरमा थोरबहुत रकम टुट्दैनथियो,’ उनी भन्छन्, ‘सामान्य जीवनयापनमा चलेको भए पनि कार्की परिवार मनको धनी थियो। अब त्यो परिवारको साथ कसैले पाउने छैनन्।’ कार्की परिवार गुमाउनु पर्दा अहिले खोलागाउँ सहाराविहीन बनेको कटुवालको भनाइ थियो। ‘एकै परिवारका ६ जनाको हत्या गरेर गाउँलाई नै टुहुरो बनाइदिए,’ उनले भने, ‘अहिलेसम्म गाउँभरि रुवाबासी चलेको छ।’ शोकमा डुबेको खोलागाउँलाई पुरानै अवस्थामा फर्कन समय लाग्ने वडाध्यक्ष कटुवालको भनाइ छ।

हत्याराको पहिचान हुन नसक्दा खोलागाउँ त्रसित मात्र बनेन बेसहारा एवं टुहुरो पनि बनेको उनले बताए। उनका अनुसार बाहिरबाट जाने जो कोही पनि कार्कीकै घरमा गरेका बास बस्ने गर्थे। कार्की परिवारका बारेमा कुरा गर्दा उनका छिमेकी निशब्द हुन्छन्। आँखाभरि आँसु टिलपिलाउँदै त्यो परिवारले समाजमा गरेको सहयोग र लगाएको गुन कहिल्यै भुल्न नसक्ने बताउँछन्।

तेजबहादुरको परिवार खोलागाउँकै सहयोगी परिवार भएकाले सिंगो गाउँ नै अभिभावक नभएको टुहुरोजस्तो बन्नु परेको स्थानीय बताउँछन्। घरमा प्रायः पैसा नटुट्ने कार्की परिवारकोमा समस्या परेर रकम सापटी माग्न जाँदा रित्तै फर्कनु नपरेको छिमेकीहरू बताउँछन्। चन्द्रबहादुरले भने, ‘गाउँकै सहयोगी परिवारको हत्या कहिल्यै बिर्सन सक्दैनौं। भरथेग गर्ने परिवार सकिदिएर गाउँलाई नै रुवाइदिए।’

परिवारका ६ जनाको हत्यापछि खोलागाउँ टुहुरो बनेको हो। आफ्नै गाउँमा बीभत्स हत्याको घटना भएकाले मन बुझाउन नै गाह्रो भएको उनी बताउँछन्। कसैलाई नबिझाउने र कोहीसँग पनि रिसराग नभएको परिवारमाथिको दर्दनाक प्रहार गाउँकै लागि नमेटिने घाउ बनेको थापाको भनाइ छ।

छिमेकी लक्ष्मीभक्त कार्कीले भने ,‘भरपुरसँग लगाएको गुन समाजले तिर्न नपाउँदै सहयोगी परिवार गुमाउनु पर्‍यो।’ गाउँमा कोही बिरामी पर्दा होस् वा कुनै संकट पर्दा कार्की परिवारकै आस हुने उनको भनाइ छ। ‘हामीलाई संकट पर्दा सहयोग गर्ने परिवार थियो,’ लक्ष्मीभक्त भन्छन्, ‘आँखामा हाल्दा नबिझाउने परिवारलाई हामीबाट लुछेर लगे।’ आफूसँग पैसा नभएका बेला गाउँकाले तेजबहादुरकै परिवारलाई सम्झने गरेको उनको भनाइ छ। सामान्य परिवार भए पनि कार्की परिवारले सहयोगी भावनाको रहेको उनले सुनाए।

मादी नगरपालिकाका मेयर विदुर लिङ्थेप कार्की परिवारलाई खोलागाउँले कहिल्यै बिर्सन नसक्ने बताउँछन्। ‘भरअभरमा गाउँलाई भरथेग गरेर बसेको मिजासिलो परिवार थियो,’ उनले भने, ‘यति राम्रो सहयोगी परिवार पाउनै गाह्रो छ।’ सिंगो समाजको सहारा बन्ने व्यक्ति कमै पाइने लिङ्थेपको भनाइ छ। ‘मिजासिलो र सहयोगी परिवारको हत्या कसले र किन गर्‍यो ?,’ उनी भन्छन्, ‘समाजलाई नै असुरक्षित तुल्याएको यस घटनापछि गाउँले अभिभावक गुमायो।’

त्रासले घर छाड्न थाले स्थानीय
छिमेकमा एकै घरका ६ जनाको हत्या भएकै दिन गत सोमबार बेलुका चन्द्रबहादुर थापा छिमेकीको शरणमा पुगे। बीभत्स हत्या गरेर छरपस्ट बनाइएको शवको दृश्य आँखैआगडि देखेपछि त्रसित बनेको थापा परिवार अन्ततः घर छाड्ने अवस्थामा पुग्यो।

छिमेकीको हत्यारा आफ्नोे घरमा पनि आउन सक्ने डरले बालबच्चाले घरमा बस्नै नमानेको थापाले बताए। आफ्नो पनि एकान्तमा बास भएकाले असुरक्षित महसुस गरेर घर छाड्नु परेको उनको भनाइ छ। घटनापछि गाउँभरि नै प्रहरी भए पनि श्रीमती र साना छोराछोरीले बस्न नमान्दा घर छाडेको उनको भनाइ छ। एकान्तमा जंगलनजिकै घर भएकाले डर मान्नु पनि स्वाभाविकै थियो। गाईबस्तु, बाख्रा, कुखुरा पुरानै घरमा भएकाले दिनभर घाँसपात गरेर बेलुका चाबी लगाएर घर छाड्ने गरिएको थापा बताउँछन्। तर अरू छिमेकीको अर्को ठाउँमा घर नभएकाले सुरक्षित स्थानको खोजीमा उनीहरू रहेको थापाले बताए।

हत्या गरिएका ११ वर्षीय दीपेन र ७ वर्षीया गोमा कार्कीसँगै विद्यालय जाने आउने गरेका आफ्नो ८ वर्षीय छोरा उनीहरूको शव देखेपछि डराउने, तर्सिने र आत्तिने गरिरहेको उनको भनाइ छ। थापाका २ छोरा, १ छोरी र श्रीमतीसहित ५ जनाको परिवारले त्रासकै कारण घर छाडेका हुन्। मृतक दीपेनको विद्यालयमा नाम दीप कार्की छ। उनी उम्लिङ माविको कक्षा ४ का प्रथम विद्यार्थी हुन्। दीप अनुशासित र मेहनती विद्यार्थी रहेको प्रधानाध्यापक योगेन्द्र ओझा बताउँछन्। कोराना महामारीका कारण विद्यालय बन्द थियो।

शनिबार, २६ भदौ, २०७८, बिहानको ०८:०० बजे

सम्बन्धित खवर