जाँचपास नगरी चलचित्र निर्माण र प्रदर्शन गर्न नपाईने

आश्विन २५ / युट्युबलगायत विभिन्न विद्युतीय माध्यममा प्रशारण गर्ने गरी जाँचपास नै नगरी चलचित्र निर्माण भएको भन्दै सरकारले त्यस्ता चलचित्र निर्माता तथा प्रदर्शकलाई कारबाहीको चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रचलित ऐन कानुनविपरीत चलचित्र तथा विज्ञापन चलचित्र प्रशारण गर्ने निकायलाई अविलम्ब पूर्वस्वीकृति लिन आग्रह गरेको छ ।
पछिल्लो समय चलचित्र हल बन्द हुँदा वैकल्पिक माध्यमबाट प्रदर्शन गर्ने प्रचलन बढेको छ । युट्युब तथा विभिन्न मोबाइल एप्समार्फत प्रदर्शन गर्ने गरी चलचित्र निर्माण हुने गरेका छन् भने कतिपय निर्माताले हलमा प्रदर्शन नगरी डिसहोम लगायतका प्लेटफर्मबाट निश्चित शुल्क लिएर सार्वजनिक प्रदर्शन गर्ने गरेका छन् । खासगरी सानो बजेटमा बन्ने यस्ता चलचित्रले कानुनी मापदण्ड समेत पूरा गर्ने गरेका छैनन् ।
मन्त्रालयका प्रवक्ता विनोदप्रकाश सिंहले पछिल्लो समय चलचित्र तथा विज्ञापन चलचित्र जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो सञ्चार मन्त्रालयमा प्राप्त हुन आएकोले सरोकारवालाका नाममा सूचना जारी गरिएको जानकारी दिए । “विभिन्न प्रसारण संस्था तथा विद्युतीय सञ्चारमाध्यम वा अन्य माध्यमबाट कतिपय चलचित्र तथा विज्ञापन चलचित्रहरु जाँचपास नगराई प्रदर्शन गर्ने गरेको गुनासो हाम्रो मन्त्रालयमा प्राप्त हुन आएकोले सूचना जारी गरेका हौं,” प्रवक्ता सिंहले भने, “चलचित्र तथा विज्ञापन चलचित्रको जाँचपास गराएर मात्र सार्वजनिक प्रदर्शन तथा प्रसारण गर्नुपर्ने कानुनी प्रावधान उहाँहरुलाई सम्झाएका हौं, अटेर गरेमा स्थानीय प्रशासनले कारबाही गर्नेछ ।”
चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ मा कुनै पनि चलचित्रको प्रदर्शन गर्नुपूर्व चलचित्र जाँच समितिबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण नियमावली, २०५७ को नियम १७ को उपनियम (२) मा प्रदर्शकले चलचित्र जाँच समितिबाट अनुमति पाएका चलचित्र मात्र प्रदर्शन गर्नुपर्ने व्यवस्था छ । सोही ऐनअनुसार बनेको नियमावलीको नियम १६ को उपनियम (२) ख मा विज्ञापन चलचित्र जाँच गराउनुपर्ने उल्लेख छ ।
प्रवक्ता सिंहका अनुसार ऐन तथा नियम उल्लघंन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच हजार रुपैयाँसम्म जरिवाना गरी इजाजतपत्र खारेज गर्न सक्ने अधिकार दिएको छ । यस्तै, यस्ता चलचित्रको निर्माण, प्रदर्शन तथा वितरण गर्दा प्रयोग गरिएका उपकरणसमेत जफत गर्न सक्ने समेत व्यवस्था रहेको छ ।
यता, कोरोना महामारीका कारण लामो समय बन्द रहेका सिनेमा हल शुक्रबारदेखि खुलेका छन् । कोरोना संक्रमण कम भएसँगै स्थानीय प्रशासनले ५० प्रतिशत दर्शक क्षमतामा हल सञ्चालनको अनुमति दिएसँगै सञ्चालनमा आएका हुन् । तर, दुई वर्षपछि हल खुल्दा पनि कुनै रौनक नदेखिएको सञ्चालकहरु बताउँछन् । हल सञ्चालकहरुको संस्था नेपाल चलचित्र संघले कोभिड प्रोटोकलको कडा रुपमा पालना गर्दै हल सञ्चालनमा ल्याइएको जनाएको छ । यद्यपि, दर्शकको संख्या कम भएका कारण स्वदेशी चलचित्र निर्माता तथा वितरकहरुले भने प्रदर्शनका लागि रुचि देखाएका छैनन् । जसका कारण उपत्यकाका अधिकांश हलमा हिन्दी चलचित्र प्रदर्शन भइरहेका छन् ।

सोमबार, २५ असोज, २०७८, बिहानको ०८:१६ बजे

सम्बन्धित खवर