संकटमा प्रदेश सरकार, मुख्यमन्त्रीसहित आठ जना सांसद निलम्बन

नेकपाले नेतृत्व गरेका ६ प्रदेश सरकारमध्ये ४ सरकार अल्पमतमा

२८ पुस / पार्टी विभाजनको असर प्रदेश सरकारमा पनि देखिएको छ । नेकपाले नेतृत्व गरेका ६ प्रदेश सरकारमध्ये ४ सरकार अल्पमतमा परेका छन् । त्यसमा पनि सबैभन्दा ठूलो संकट प्रदेश १ मा देखिएको छ ।

९३ सदस्यीय प्रदेशसभामा ६७ सांसद रहेका नेकपाका ३७ जनाले राईविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकट छाएको छ ।

दाहाल-नेपाल समूह यतिमा मात्रै रोकिएको छैन । मुख्यमन्त्री राईसहित आठ जना सांसदलाई निलम्बन पनि गरेको छ । ओली समूहका मुख्यमन्त्री राईसहित चार मन्त्री, प्रमुख सचेतक र तीन सांसदलाई तीन महिनाका लागि निलम्बन गरिदिएको छ ।

पुस १६ गते ओली समूहका मुख्यमन्त्री राईले प्रचण्ड–माधव समूहका नेता भीम आचार्यसहित १६ जना प्रदेशसभा सदस्यलाई निलम्बन गरेका थिए ।

काउन्टरस्वरुप बुधबार आठ जनालाई स्पष्टीकरण सोधेको प्रचण्ड–माधव समूहले आइतबार निलम्बन गरेको हो ।

मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ्, प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणि पराजुली, अम्बिका थापा र विमल कार्कीलाई निलम्बन गरेको जानकारी आइतबार प्रदेशसभा सचिलायमा दर्ता भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

प्रचण्ड–माधव समूहका संसदीय दलका नेता भीमप्रसाद आचार्यले हस्ताक्षर गरेको पत्रमा दलको कुनैपनि बैठकमा उपस्थित नभई पार्टी र सरकारको हितविपरीत गतिविधिमा संलग्न रहेकाले तीन महिनाका लागि निलम्बन गरिएको उल्लेख छ ।

मङ्गलबार, २८ पुष, २०७७, दिउँसोको ०२:५७ बजे

सम्बन्धित खवर