पर्यटकीय गन्तव्य बन्दै चतराको  पुल

देवेन्द्र कार्की/धरान,

पूर्वी नेपालसँग सडक सञ्जाल जोड्ने वैकल्पिक मार्गका रूपमा रहेको चतरास्थित सप्तकोशीमा आधुनिक पुल निर्माण भएपछि यो क्षेत्र एउटा आकर्षक पर्यटकीयस्थल बनेको छ । साथै स्थानीयवासीका लागि वनभोज खाने एक आकर्षक स्थान पनि बनेको छ ।

यतिबेला पुल आसपासमा वनभोज खान र डुङ्गा (बोट) चढ्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । एशियाली विकास बैंकको सहयोगमा पाँच वर्षअघि पुल निर्माण भएपछि यहाँ आन्तरिक पर्यटकको चहलपहल बढेको हो । पुल हेर्नकै लागि पनि धरान, विराटनगर, इटहरी, गाईघाट, बेलटार, फत्तेपुरलगायत स्थानबाट स्थानीयवासी आउने गरेका छन् । कोशी पुलदेखि वरपर आधा दर्जन स्तरीय होटल सञ्चालनमा रहेका छन् भने अरु आवश्यक पूर्वाधार निर्माणका लागि स्थानीय नागरिकले यहाँका स्थानीय सरकारलाई आग्रह गरिरहेका छन् ।

हिजोआज दैनिक करिब ५०/६० जना पर्यटक पुल हेर्नकै लागि मात्र यहाँ आउने गरेको स्थानीय व्यापारी शरद कोइरालाले बताउनुभयो । आफ्ना कामले पूर्वपश्चिम यात्रा गर्ने यात्रु पनि केही समयसम्म सवारी रोकेर तस्वीर खिच्ने र यसो रमाउने गरेको देखिन्छ । पुल नजिक कोशी किनारमा वनभोज खानेको भीड लाग्न थालेको कोइरालाले बताउनुभयो । पुलमुनिबाट केही वर्षदेखि जेटबोट पनि सञ्चालन भएको छ । यो बोट बराहक्षेत्र, सिम्लेसम्म पुग्ने गरेको छ । उदयपुर, सप्तरी, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरीबाट जेट बोट चढ्न र वनभोज खान आउने गरेको कोइराला बताउनुहुन्छ ।

सामाजिक सङ्घसंस्था, विद्यालय र साथीभाइ समूह बनाएर कोशी पुलमा वनभोज खान आउनेको सङ्ख्या पछिल्लो समय निकै बढेको बेलका नगरपालिका–८ का वडाध्यक्ष जयकुमार राईले बताउनुभयो । वनभोज खानेको सङ्ख्या बढेपछि बेलका नगरपालिकाले उक्त क्षेत्रमा शौचालय तथा अन्य आवश्यक न्यूनतम पूर्वाधार निर्माण गरिदिएको छ ।

स्थानीयवासी मोहन खड्काका अनुसार शनिबार १०० भन्दा बढी समूह वनभोज खान आउने गरेका छन् भने अन्य दिन दैनिक पाँचदेखि सात वटासम्म समूह वनभोज खान आउने गरेका छन् । वनभोज खान आउनेहरु यसैमा मात्र सीमित नभएर बोट चढ्ने, कोशी नदीमा पौडी खेल्ने र नाचगान गरेर मनोरञ्जन लिइरहने मानिसको जमघट दिनप्रतिदिन बढ्दै गएको खड्काले बताउनुभयो ।

धरानबाट पारिवारिक वनभोजमा जानुभएकी इन्दु खड्काले कोशी पुल वनभोजका लागि उत्तम गन्तव्य भएको बताउनुभयो । “बोटिङ, फिसिङ, स्वीमिङमा यहाँ रमाउन सकिनेरहेछ । अझ प्याराग्लाइडिङ गर्नेहरुका लागि पनि सुविधा रहेकोले धेरै मजा आउँछ”, गत शनिबार वनभोजस्थलमा भेटिनुभएकी खड्काले भन्नुभयो ।

खानेपानी र फोहर व्यवस्थापनको समस्या

दैनिक आन्तरिक पर्यटक वनभोज खान आउने गरे पनि वनभोज क्षेत्रमा खानेपानीको अभाव छ । खोलाको बगर भएका कारण बसेर खानेकुरा पकाउने, खानका लागि असुविधा हुने गरेको वनभोज आउनेहरुले बताएका छन् । जेट बोट पनि त्यही किनाराबाट लाग्ने भएकाले ती स्थानमा वनभोज खानेहरु बढेका हुन् । तर स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसक्दा वनभोज खानेहरुले थोरै दुःख व्यहोर्नु परिरहेको छ ।

यसमा स्थानीय पालिकाको ध्यान पुग्नुपर्ने वनभोजमा सहभागीहरुले भनेका छन् । स्थानीय सरकारको बेवास्ताले गर्दा वनभोजस्थल वरपर खाली पानीको बोतल, मदिराका बोतल, खानेकुराको फोहरको डङ्गुर हुन थालेको छ । ती फोहरको उचित व्यवस्थापन हुनसकेको छैन । वनभोजमा आएर नाचगान गर्ने, फराकिलो ठाउँको अभाव छ । भिरालो जग्गा भएका कारण दुःखले वनभोज खाने गरेका छन् । बिजुलीको समेत व्यवस्थापन नहुँदा वनभोज आउनेहरुले वैकल्पिक व्यवस्था गर्नुपरेको छ ।

वनभोजस्थलमा आकर्षक उद्यानसहितको डिपिआर तयार

बराहक्षेत्र गाउँपालिका–८ का वडाध्यक्ष जयकुमार राईका अनुसार प्रदेश सरकारको सहयोगमा कोशी पुलदेखि केहीमाथि सप्तकोशी किनारमा सुविधा सम्पन्न वनभोजस्थलको डिपिआर तयार गरिएको बताउनुभयो । करिब ५० सवारी अटाउने पार्किङ क्षेत्र, १०० वनभोजस्थल (पिक्निक स्पर्ट), सेल्फी स्टेशन, फिसिङ क्षेत्र, बोट चढ्न जाने बाटो, खानेपानीको व्यवस्थापनसहितको डिपिआर बनाएर प्रदेश सरकारलाई पठाइएको छ ।

आगामी वर्षको पर्यटन शीर्षकको बजेटबाट सबै निर्माण गरिने अध्यक्ष राईले जानकारी दिनुभयो । “तत्काल व्यवस्थापनका लागि वनभोजस्थल व्यवस्थापन समिति बनाउने तयारी भइरहेको छ । शौचालय निर्माण गरिसकिएको र तत्काल खानेपानी र फोहर व्यवस्थापन गर्न लागिएको छ”, अध्यक्ष राईले भन्नुभयो ।

वनभोजमा आउनेका लागि जेट बोट आकर्षण

बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालिले सुनसरीको बराहक्षेत्र–१ चतराबाट भोजपुर, उदयपुर र धनकुटाको सङ्गम सिम्लेसम्म जेट बोट सञ्चालन गर्दै आएको छ । यसले शुरु गरेको चतरामा हाल चारवटा कम्पनीले सातवटासम्म सानो ठूलो बोट सञ्चालन गर्दै आएका छन् ।

वरुण वाटरवेज, बराहक्षेत्र मरिन एण्ड रिसोर्ट र बराहक्षेत्र जल यातायात तथा पर्यटन सेवा प्रालि गरी चार कम्पनीले साना ठूला गरेर सातवटा जेट बोटबाट कोशी पुलदेखि बराह क्षेत्र हुँदै भोजपुर, धनकुटाको त्रिवेणीघाट र सिम्लेसम्म सेवा दिँदै आएका हुन् । करिब १८ देखि ६० जनासम्म अट्ने बोट सप्तकोशीमा सञ्चालन हुँदै आएका छन् । सोही बोट चढ्न पनि कोशीपुलमा आन्तरिक पर्यटक पुग्ने गर्छन् ।

चतराबाट १० किलोमिटर हाराहारीको सिम्ले पुग्न पाँच मिनेट लाग्छ । सिम्लेबाट भोजपुरको घोडेटार क्षेत्र एक घण्टामा पुगिन्छ । सडक यात्रा गर्दा भने घोडेटार पुग्न दिनभर नै समय खर्चनुपर्ने हुन्छ । सिम्लेबाट धनकुटा सदरमुकाम, भेडेटार हुँदै आउँदा सात घण्टा लाग्नेमा अब जेट बोटबाट चतरा आएर सिधै दुई घण्टामा यात्रा गर्न सकिन्छ । शनिबार जेटबोटबाट सिम्लेसम्म पुग्ने १० जनाभन्दा बढीको समूह हुने गरेको छ । शनिबार जेट बोट मात्र चढ्न रहर गर्नेलाई दुई किमीमाथि कोप्चेसम्म घुमाएर ल्याएको बोटले प्रतिव्यक्ति रु ३०० लिने गरेको छ । सिम्लेसम्म पुग्न भने रु ८०० भाडा लाग्ने बोट चालक राजेश चौधरीले जानकारी दिनुभयो ।

उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने चतरामा पुल सञ्चालनमा आएसँगै हेटौँडाबाट पूर्व क्षेत्रमा जाने वैकल्पिक बाटो पनि खुलेको थियो । पुल सञ्चालन भएपछि धरान, चतरा, गाईघाट, कटारी, सिन्धुली तथा हेटौँडा सहजरूपमै जोडिएका छन् । सोही सडकलाई सरकारले मदन भण्डारी राजमार्गको रुपमा विस्तार गरेको छ । रु ७६ करोड ११ लाख लागतमा कोशी पुल बनेपछि यहाँ चहलपहल बढेको स्थानीय बताउँछन् । दुई सय ६१ दशमलव तीन मिटर लामो यो पुलमा तीनवटा पिलर रहेको उच्च प्रविधिको पुल रहेको कालिका कन्स्ट्रशनले जनाएको छ । यो प्रविधि कर्लाणी पुलमा पनि प्रयोग भएको बताइएको छ ।

बोपताङ डाँडाबाट प्याराग्लाइडिङ

कोशी पुलबाट करिब तीन किमी पश्चिम बोपताङ डाँडाबाट प्याराग्लाइडिङ उडान हँुदै आएको छ । नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ सङ्घले राष्ट्रिय खेलकूद विकास समितिको सहयोगमा एक वर्ष अघि प्याराग्लाइडिङको सफल परीक्षण उडानपछि सङ्घको सहयोग र बुढासुब्बा प्याराग्लाइडिङ धरानको समन्वयमा नेपाली सेनालाई प्रशिक्षण दिएर यसको उडानका लागि तालीम प्रशिक्षण केन्द्र सञ्चालन ल्याएको छ ।

सो प्रशिक्षण केन्द्रले बोपताङ डाँडाबाट बेलायतका एक प्रशिक्षक पेट ग्यलेगरले उदयपुरका एक, पोखराका तीन, पाल्पाका एक र धरानका एक जना गरी छ जनालाई आधारभूत तालीम दिइसकेका छन् । उदयपुरको आकाशमा बोपताङ र चम्पाकोट डाँडाबाट यो खेल खेल्न सकिन्छ । बोपताङ डाँडा समुद्र सतहदेखि ५१० मिटर र चम्पाकोट डाँडा समुद्र सतहदेखि ७०० मिटरको उचाइमा रहेको नेपाल प्याराग्लाइडिङ एण्ड ह्याङ ग्लाइडिङ सङ्घ सुनसरीका सचिव विकास आचार्यले बताउनुभयो । उहाँका अनुसार उडान गर्दाको एलिभेयसन बोपताङ डाँडाबाट ४५० मिटर र चम्पाकोट डाँडाबाट ५५० मिटर भन्दा बढी रहेको छ ।

प्याराग्लाइडिङ अवतरण गर्ने स्थल कोशी किनार सामुदायिक वन क्षेत्रको सिसौली चौरदेखि बोपताङसम्म कच्ची सडक निर्माण गरिएको छ । बनभोजमा रमाउन आउनेहरुले मौसम खुलेका बेला प्याराग्लाइडिङको मजा लिने गरेका छन् ।

आन्तरिक पर्यटकलाई बराह क्षेत्र दर्शनको अवसर

यहाँ वनभोज खान आउनेहरु नेपालका चार ठूला धाममध्येको बराह धामको दर्शन गर्ने अवसर पाउने छन् । कोशी पुलबाट उत्तर करिब दुई किमी जेटबोटबाट पाँच मिनेटमा पुग्न सकिन्छ । सडक मार्गबाट चार किमी बाटो १५ मिनेटमा पुग्न सकिन्छ । त्यहाँ बराह भगवानको दर्शन गरेर नजिकको क्षेत्र घुमघाम गरेर फर्कन सकिन्छ ।

नेपालमा रहेका प्रशिद्ध चार धाम सप्तकोशी किनारमा रहेको बराह क्षेत्रधाम, बागमती नदी किनारमा रहेको पशुपित क्षेत्र, कालीगण्डकीको शीर मुक्ति क्षेत्रधाम र कालीगण्डकी किनारको ऋषिकेश क्षेत्र धाम धार्मिक पर्यटकीय हिसाबले महत्वपूर्ण मानिदैँं आएका छन् । धार्मिक पर्यटन र जलस्रोतको अपार सम्भाव्यता भएको यो क्षेत्र साहसिक र मनोरञ्जनात्मक खेल प्रवद्र्धनका दृष्टिले पनि प्रचुर छ । बराह क्षेत्रलगायत कुम्भ नगरी प्राचीन हरिद्वार, औलिया मठ, रामधुनी, छिन्नमस्तालगायत धार्मिक तीर्थ, सुनसरी मोरङ सिँचाइ आयोजना, चतरा हाइड्रोपावर, पूर्वपश्चिम वैकल्पिक लोकमार्गका कारण पनि यो क्षेत्र आकर्षक बन्दै गएको छ ।

शुक्रबार, ३० माघ, २०७७, बिहानको ०९:०८ बजे

सम्बन्धित खवर