यसरी हुनसक्छ सङ्क्रमण नियन्त्रण

सन् २०१९ को अन्त्यबाट प्रारम्भ भएको विश्वव्यापी कोरोना सङ्क्रमण केही नियन्त्रण भएकाले मानव जगत्ले राहतको महसुस गरेका थिए, सन् २०२१ मा नयाँ लक्षणका साथ यो सङ्क्रमणले अतङ्क सिर्जना गरेको छ । छिमेकी देश भारतमा यसले कहालीलाग्दो अवस्था बनाएको छ । नेपाल यस सङ्क्रमणको चपेटामा नराम्ररी प्रताडित बनिराखेको छ ।

सङ्क्रमणको ग्राफ बढ्दै गएको स्थितिले गर्दा उच्च स्तरको सतर्कता अवलम्बन गर्नुपर्ने स्पष्ट छ । सरकारले बढी प्रभावित क्षत्रको पहिचान गर्दै सङ्क्रमणको मात्राका आधारमा निषेधाज्ञा जारी गरिराखेको छ, देश बन्दाबन्दीको अवस्थामा छ । प्रायः सबै सङ्क्रमित देशहरूले दुई प्रकारका नीति अवलम्बन गर्दै आएका छन् । पहिलो, सङ्क्रमितहरूसँग सम्पर्कमा आउने सबै माध्यमहरू बन्द गरी पूरै समाज र भूगोललाई आपसी सम्बन्धबाट विच्छेद गर्नु हो, यसबाट थप सङ्क्रमण फैलिन नदिई समुदाय, समाज र देशवासीहरू थप सङ्क्रमित हुनबाट सुरक्षित रहन्छन् ।

उपचार गर्नुभन्दा सङ्क्रमण नै रोक्ने उपाय बढी प्रभावकारी हुने सन्दर्भमा यसलाई महव दिने गरिएको छ । यो आफैँमा उपचार होइन तर सङ्क्रमणबाट बच्ने उपाय भने निश्चय पनि हो । दोस्रो तरिका, महामारीबाट पीडित भई जटिल अवस्थामा पुगेकाहरूलाई अत्याधुनिक सुविधासहितको उपचारको व्यवस्था गर्नु हो । जटिल अवस्थामा पुगेकाहरूले व्यक्ति आफँले सङ्क्रमणसँग प्रतिवाद गर्न नसक्ने भएकाले राज्यले नै गुणस्तरीय उपचार प्रदान गरी मृत्युदर कम गराउने उद्देश्य यसमा निहित हुन्छ । बन्दाबन्दीबाट पर्ने प्रभावभन्दा उपचारका लागि कम खर्च लाग्ने निष्कर्षसहितको अनुभव भाइरसको सामना गरिरहँदा आधुनिक विश्वले हासिल गरिराखेको छ ।

छिमेकीको अवस्था
दोस्रो चरणको सङ्क्रमणबाट खुला सीमा रहेको छिमेकी भारतको अवस्था उल्लेख गर्नु उपयुक्त हुनेछ । २०७८ वैशाख २७ सम्मको आँकडाअनुसार भारतमा यस सङ्क्रमणबाट दुई करोड २९ लाख जनाभन्दा बढी प्रभावित भएकोमा दुई लाख ५० हजारभन्दा बढीले मृत्युवरण गरिसकेका छन् । भारतले आफ्नो आवश्यकताको ६० प्रतिशत माग पूरा गर्न सक्ने क्षमता आफ्नै उत्पादनबाट गर्न सक्ने अवस्था रहेकोमा थप भ्याक्सिन उत्पादन गरेन ।

चीनबाट दिन तयार पारिएको भ्याक्सिन पनि लिएन । अन्य देशलाई भ्याक्सिन उपलब्ध गराउने क्षमता रहेको दाबी गरिराखेकोमा आफैँ समस्यामा परेको छ । अक्सिजन र अस्पतालमा बेडको अभाव छ । भारतमा सन् २०२० को अन्त्यबाट यो सङ्क्रमण नियन्त्रणमा आएको महसुस गरी सावधानी गर्न छाडियो ।

धार्मिक उत्सवहरू र चुनावी ¥यालीमा प्रसस्त मानिसहरूको उपस्थिति हँुदै गयो, १८ देखि ४५ वर्षका जनसङ्ख्यामा बढी प्रभाव देखियो । केरलाबाहेक अन्य स्थानमा परीक्षण गर्ने, कन्ट्राक्ट ट्रेसिङ गर्ने, आइसोलेसनमा राख्ने र उपचार गर्ने विश्व स्वास्थ्य सङ्घले निर्धारण गएको प्रक्रियालाई गम्भीरतापूर्वक लिइएन । चीनको बुहान यसको उद्गम क्षेत्र मानेर यस देशलाई गत वर्ष विश्वले सम्बन्ध विच्छेद गरेकोमा अहिले भारतको अवस्था उस्तै भएको छ । यही क्रमले निरन्तरता प्राप्त गरेमा निकट भविष्यमा नै भारतको अवस्था अत्यन्त विकराल हुने स्थिति छ ।

घातक सङ्क्रमणको शृङ्खला
भाइरस सङ्क्रमण मानव जातिका लागि नौलो विषय होइन । विभिन्न कालखण्डमा विभिन्न स्थानमा सङ्क्रमण भई ठूलो मात्रामा धनजनको क्षति भएको छ । सन् ५४१–५४९ मा युरोप र भूमध्य सागरीय तटमा जास्टिनियन प्लेगबाट पाँच करोड जनाको मृत्यु भएको थियो । ब्ल्याक डेथ नाम दिइएको यही प्रकोपले सन् १३४७–१३५१ मा उत्तर अफ्रिका र युरोपमा २० करोड मानिसहरूले मृत्युवरण गर्न पुगेका थिए ।

तेस्रो चरणमा चीनमा सन् १८८५ मा सबाकरोड मानिसको मृत्यु भयो, सन् १७७२– १७७९ को बीचमा काठमाडौँमा १८ हजार जनाको ज्यान गएको थियो र सन् १९६५ मा कुल जनसङ्ख्याको १६ प्रतिशतमा बिफरको दाग देखिएकोमा यीमध्ये एक चौथाइ जनसङ्ख्याको मृत्यु भएको थियो । सन् १९१८ मा प्रारम्भ भएको स्पेनिस भाइरसबाट हिन्दुस्तानमा जनसङ्ख्याको सात प्रतिशत, इरान र मेक्सिकोमा क्रमश सात र पाँच प्रतिशत, विश्वभरका जनसङ्ख्याको २.५ प्रतिशत मानिसले मृत्युवरण गर्नुपरेको र यस्तै प्रकारले इजरायल, युरोप र अमेरिकी राष्ट्रहरू पनि प्रभावित भएका थिए । १९४९ मा फैलिएको प्लेगले युरोपमा २५ मिलियन मानिसहरूले मृत्युलाई स्वीकार्नु परेको थियो ।

केही वर्षको अन्तरालमा स्वाइनफ्लु, सार्स, एचवन एनवान, जीकाभाइरस, इबोला लगायतका भाइरसबाट विश्वका प्राणीहरू पटक पटक प्रभावित भएका छन् । यी सबै सङ्क्रमणको प्रकोपबाट सहज उपचारको व्यवस्था शीघ्र हुनसकेको थिएन र अहिले पनि यही स्थिति विद्यमान छ ।

कारणहरू
नेपालमा यस्तो अस्तव्यस्तता सिर्जना हुनुका केही कारण छन् । कतिपय अवस्था भारतसँग समान देखिएका छन् । हामीले विश्व स्वास्थ्य सङ्घको सुझाव अनुकूल आफूलाई सुरक्षित राखेनौँ । नेपालको आवतजावत र सम्पर्क भारतसँग रोजगारीलगायतका अन्य कारणहरूले गर्दा बढी छ । दुई देशबीचको आवतजावतले सङ्क्रमणको अवस्थामा समेत निरन्तरता पाई नै रह्यो । हामीहरूमा रोग प्रतिरोधात्मक क्षमता पश्चिमाहरूमा भन्दा सबल छ भन्ने अनुमान गर्दै सङ्क्रमणलाई मिच्ने काम गरिंदै गयो । अन्य देशले प्रदान गरेको खोपमा सीमित हुनुपर्ने स्थिति छ, स्वास्थ्य सामग्री, सुरक्षा सामग्री, अक्सिजन, अस्पतालको क्षमता अत्यन्त न्यून छ ।

राष्ट्रलाई नेतृत्व दिने तहमा नै अनुशासन र सतर्कताको अभाव रह्यो । खोपको दुवै डोज लगाएकाहरूमा समेत सङ्क्रमण देखियो र केहीले मृत्युवरण समेत गरिसके ।
लकडाउन वा निषेधाज्ञा नै अचुक उपाय हो वा होइन किनकि स्वीडेन र पाकिस्तानले यसलाई अस्वीकार गरेका छन्, यस द्विविधाका बारेमा हामी गम्भीर हुन सकेनौँ ।

यथासमयमा यो नयाँ प्रकृतिको भेरियन्ट (स्वरूप) लाई नियन्त्रणमा लिन होल्डिङ सेन्टर, क्वारेन्टाइन, आइसोलेसन, अस्पतालको क्षमता विकास, नेपाल प्रवेश गर्ने नाकाहरूमा नियन्त्रणका विषयहरूमा ध्यान पुगेन । सरकारी क्रियाशीलता र नागरिकका तर्फबाट हुनुपर्ने सतर्कता दुवैको अभाव देखियो । भारतमा सङ्क्रमणले उग्र रूप लिँदै गर्दा नेपालमा जानकारी मात्र लिएर बसी कुनै तयारी नगर्नु नै यस अवस्था सिर्जना हुनुको मूल कारण हो । सचेत नागरिक स्तरमा नै गम्भीरता देखिएन, हरिद्वारको कुम्भमेला भरेर फर्कने वित्तिकै भारतका मुख्यमन्त्री, नेपालका पूर्व राजासमेत सङ्क्रमित भई उपचाररत रहनु यसको पराकाष्ठाको रूपमा लिनुपर्छ । यिनै असावधानीलगायतका कारणले गर्दा हामीहरू प्रताडित हुँदै गएको हो ।

समाधानका उपाय
यो सङ्क्रमण सामान्य रुघाखोकी मात्र हो सहजै नियन्त्रणमा लिन सकिन्छ र यो अत्यन्त ठूलो महामारी हो यसबाट भयावह स्थिति उत्पन्न हुन्छ भनी विद्वता प्रदर्शन गर्ने विपरीत धारका अतिवादीहरूले यसलाई थप चुनौतीपूर्ण बनाएका छन् । नेतृत्व तहले विशेष सतर्कता अपनाउनु जरुरी देखियो । सरकार ढाल्ने र निरन्तरता दिने नाटक मञ्चन गर्दा ठूलो सङ्ख्यामा मानिसहरू जम्मा गर्ने तीव्र प्रतिस्पर्धा चल्यो । यसमा तीन वटा अन्तर्राष्ट्रिय उदाहरणबाट हामीले सिक्नुपर्छ, न्यूजिल्यान्डका प्रधानमन्त्री डेभिड क्लार्कले सरकारी सूचना विपरीत घुम्दा पदबाट राजीनामा गर्नुभयो । बेलायतका प्रधानमन्त्री जोन्सन सरकारले तोकेको मापदण्ड पालना गर्न राजकुमार फिलिपको अन्त्येष्टिमा सहभागी हुनुभएन । नर्बेकी प्रधानमन्त्री एर्ना सोल्बर्गले आफ्नो जन्मदिन मनाउँदा १३ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउनेमा १५ जना पुग्दा २० हजार क्रोन जरिवानासहित जनतासँग माफी माग्नुभयो । यी उदाहरणहरूबाट हाम्रा अगुवाहरूले पनि सिक्नुपर्ने हो ।
अस्पतालमा बेड नपाएको, अक्सिजनको हाहाकार भएको लगायत धेरै प्रकारका अभाव र कमजोरीका कारण नेपालीहरू अकालमा ज्यान गुमाउन विवश छन् । सरकारले होटल, सार्वजनिक स्थल, पार्टी प्यालेस, विद्यालयहरू, रङ्गशाला, कारखाना उद्योगहरू सबै जानकारीमा लिई उपयोगमा ल्याउने योजना शीघ्र गर्नुपर्छ । स्वास्थ्य र सुरक्षा उपकरणहरूको अभावमा ठूलो खतराको सामना गर्दै स्वास्थ्यकर्मीहरू सेवारत छन्, ती जनशक्तिलाई सुरक्षाको प्रत्याभूति गराई सेवा लिनुपर्ने हुन्छ । खोप उपलब्ध गराउने कूटनीतिक क्षमताको भरपुर उपयोग हुनु जरुरी छ । लकडाउनमा ज्याला मजदुरी गरेर जीविका गर्ने अति विपन्न समूहको बाँच्न पाउने अधिकारको प्रत्याभूति सरकारले गर्नुपर्छ । स्वास्थ्य लगायतका सबै क्षेत्रमा प्रभावकारी व्यवस्थापन गर्दै सेवा प्रवाह गरिनुपर्छ ।

विश्वको सरदर खर्च हेर्दा स्वास्थ्य क्षेत्रमा मात्र कुल गार्हस्थ उत्पादनको १० प्रतिशत छुट्याइएको छ । हाम्रो स्वास्थ्य क्षेत्रको लागि विनियोजित रकम अत्यन्त न्यून छ, यो अवस्थामा महामारीसँग लड्न सकिँदैन । त्यसैले सबैभन्दा पहिलो प्राथमिकता स्वास्थ्यलाई दिई पर्याप्त रकमको व्यवस्था गर्नु जरुरी छ । खाद्यान्न, तरकारी खरिद गर्ने स्थानहरूमा भएको भीडभाडलाई व्यवस्थित गर्नु जरुरी छ । अन्तर विभागीय एवं गैरसरकारी सङ्घको समन्वयमा विशेष ध्यान जानुपर्छ । यथार्थ र भरपर्दो सूचनाको प्रवाह निरन्तररूपमा हुनुपर्छ । समस्यासँग सामना गर्न पूर्वतयारी यथासमयमा हुनु जरुरी हुन्छ । विज्ञान, तथ्य र तथ्याङ्कका आधारमा रणनीति तय हुनुपर्छ ।
रकार र नागरिकहरू सबैको सहकार्य र सतर्कताबाट सङ्क्रमण कम गर्न सकिन्छ । सरकारले आफ्नो क्षमताको अभिवृद्धि गर्ने, स्वास्थ्य क्षेत्रमा अत्यधिक रकम विनियोजन गर्ने, नागरिकले सरकारको सहयोग र साथका आधारमा बच्ने र बचाउने कार्य गर्नु अत्यावश्यक छ । अन्यथा ठूलो महामारीको चपेटामा हामी नेपालीहरू पर्ने लक्षणहरू देखिँदै आएका छन् । त्यसैले सबै प्रकारका भाइरसबाट बच्न र पछि सामना गर्नुपर्ने सङ्क्रमणलाई न्यून गर्न आजै सतर्कता अवलम्बन गर्नु जरुरी छ ।

बुधबार, २९ बैशाख, २०७८, बिहानको ११:३३ बजे

सम्बन्धित खवर