चुरे पहाडको संरक्षण हुनुपर्छ : पूर्वराष्ट्रपति यादव

जेष्ठ २९, विराटनगर / पूर्वराष्ट्रपति डा. रामवरण यादवले तराईको हुलाकीमार्ग समयमै निर्माण नभएकाले चुरे पहाडको दोहन भइरहेको बताएका छन् ।
पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद् विराटनगरद्वारा आयोजित सम्मान समर्पण समारोहमा सम्मान ग्रहण गर्दै उनले अन्नको भण्डार मानिएको नेपालको तराई चुरे दोहनले समस्यामा परेको स्पष्ट पारे । उनले चुरेको संरक्षणले महाभारत र तराई पनि संरक्षित हुने कुरामा जोड दिँदै पिताजी कृष्णप्रसाद कोइराला स्मृति परिषद्बाट सम्मानित हुन पाएकामा गर्व महशुस भएको बताए ।
पूर्वराष्ट्रपति यादवले पिताजी कृष्णप्रसाद कोइराला समाजका परिवर्तक भएकाले उनको योगदानलाई नयाँ पिँढीले अध्ययन गर्नु आवश्यक रहेको चर्चा गर्दै देशको एकता र अखण्डतालाई कायम राख्न लोकतन्त्रको धरै ठूलो भूमिका रहेको बताए ।

लोकतान्त्रिक पद्धतिबाट नै समाजलाई परिवर्तन गर्न सकिने विचार बोकेका पिताजी कृष्णप्रसाद कोइराला त्यागी, समाजसेवी, शिक्षाप्रेमी र परिवर्तनका अग्रणी रहेको चर्चा गर्दै पूर्वराष्ट्रपति यादवले आफू अहिले स्वतन्त्र रहे पनि विद्यार्थी जीवनदेखि लागेको पार्टीबाट नेपालको प्रथम राष्ट्रपति बनेकामा गर्व लागेको धारणा राखे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पूर्वराष्ट्रपति डा यादवलाई सम्मानपत्र हस्तान्तरण गर्दै क्षणिक लाभका लागि राजनीतिक गर्ने मानिसबाट समाजले लाभ लिन नसकिने बताए । उनले पिताजी कृष्णप्रसाद कोइरालाको पदमार्गमा हिँड्न सके समाज अझ बलियो र विकसित हुने धारणा राख्दै चुरे पर्वत दोहनको विषयमा सरकार बेखर रहेको बताए ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले स्व पिताजी कृष्णप्रसाद कोइरालाले नै विराटनगर सहर बसाएको प्रसंग उल्लेख गर्दै समाजलाई परिवर्तन गर्न, विकास गर्न र मुलुकमा प्रजातन्त्र ल्याउन पिताजी कोइरालाको योगदानको अपूरणीय रहेको स्मरण गरे ।

आइतबार, २९ जेठ, २०७९, बिहानको ०९:१९ बजे

सम्बन्धित खवर