धरानस्थित विपी प्रतिष्ठानमा अख्तियारको छापा

सुनसरी, २८ साउन/  अख्तियारको केन्द्रीय कार्यालय र इटहरीस्थित क्षेत्रीय कार्यालय समेतबाट खटिएको ६ जनाको टोलीले धरानस्थित विपी प्रतिष्ठानमा छापा मारेको छ ।

टोलीले आज प्रतिष्ठानमा छापा मारी महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपूर्ति लगायतका शीर्षकमा प्रतिष्ठानका पदाधिकारीले भ्रष्टाचार गरेको भन्दै चिकित्सक र कर्मचारीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन् भने सम्बन्धित निकायको समेत ध्यानाकर्षण गराउँदै आएका छन् ।

यसबारे छानबिन गर्न सरकारद्वारा गठित कार्यदलले पनि बीपी प्रतिष्ठानमा भ्रष्टाचार भएको ठहर गरेको थियो । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिष्ट्रार भएर आएयता बेथिति बढेको बढेको आन्दोलनरत पक्षको भनाइ छ ।

प्रतिवेदनमा भ्रष्टाचारको आरोप लागेको संस्थाबाटै सामग्री खरिद गरिएको, १४ करोड ६० लाखको खरिदमा मूल्य सार्थकता सुनिश्चित नभएको, ८ गुणा महँगोमा एक दशकदेखि इन्टरनेट सेवा लिएको उल्लेख गरिएको छ । यस्तै मिलेमतोमा एमआरआई, सिटी स्क्यान मेसिन खरिदमा पटक–पटक बोलपत्र रद्द गरेको, बिना प्रतिस्पर्धा प्रतिष्ठानको जग्गा निजी स्कुललाई भाडामा दिएको, उपकुलपति डा गिरीको योग्यताबारे छानबिन आवश्यक रहेको जस्ता विषय पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बिहिबार, २८ साउन, २०७८, दिउँसोको ०२:२७ बजे

सम्बन्धित खवर