विकासमा अब्बल सम्भावना बोकेको मोरङको लेटाङ , यस्तो छ, इतिहास 

दमक, २७ भाद्र /  प्राकृतिक स्रोत र सम्पदाले भरिपूर्ण मोरङको उत्तरी क्षेत्रको हरित नगरी लेटाङको विकासले संघीय संरचनासँगै गति लिन थालेपछि स्थानीयमा खुशी छाएको छ । यो नगरमा पर्यटन विकास र कृषि, जडिबुटी तथा वनजन्य उत्पादनको प्रचुर सम्भावना

रहेरपनि कोरोना महामारीका कारण विकास गतिमा अवरोध भएको नगरप्रमुख शंकर राईले बताउनु भएको छ । उहाँले कृषि र पर्यटनको विकास गर्नसके लेटाङको विकासमा फड्को मार्न सकिने बताउनु भयो ।

यस्तो छ, लेटाङको इतिहास
मोरङको विजयपुरमा विजयनारायण पछि पाल्पाली सेनराजा लोहांगसेनले कब्जा गरेपछि भने यो भेग पाल्पाली सेनहरूको अधीनमा पर्न पुग्यो । तत्काल पाल्पाली सेन राज्य विभाजन हुँदा नारायणी पूर्वको मकवानपुर लोहांगसेनले पाएको हुनाले यो भेग पनि मकवानपुर भित्र पर्यो । यसैगरी हरिहरसेनका नाति विधाता इन्द्रसेनले मकवानपुरबाट विजयपुरलाई अलग्गै राज्य बनाएको हुँदा लेटाङ लगायतको स्थान विजयपुरको अभिन्न अङ्ग बन्न पुग्यो । सेनकाल भन्दा अघि नै लेटाङको सिमाभन्दा केही पश्चिम उत्तरमा रहेको कसेनीमा धनपाल नामका एकजना रजौटाले शासन गर्दथे । तिनको राजधानी र दरबारका अवशेषहरू अहिले पनि रहेको छ । यसलाई स्थानीय मानिसहरूले संरक्षण गरेर राखेका छन् । जसलाई धनपालगढीका नामले चिनिन्छ । कालान्तरमा धनपाल रजौटाको पतन भयो । धनपालको राज्य विजयपुरमा गाभियो । यता विजयपुर पनि स्थानीय रजौटाबाट सेनहरूको अधीनमा परेको देखिन्छ । वि.स. १८३१ मा पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेसँगै यो भूभाग पनि बृहत्तर नेपालमा गाभिएको पाइन्छ ।
वि. स. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरेदेखि नै हालको लेटाङ नगरपालिकाले ओगटेको क्षेत्र मोरङ जिल्लाको उत्तरी भागका रुपमा रहन पुग्यो । वि.स. २०७१ सालमा लेटाङ र भोगटेनी गा.वि.स. मिलाएर लेटाङ भोगटेनी नगरपालिका बनाइयो । नेपालको संविधान २०७२ ले अङ्गीकार गरेको संघीय गणतन्त्र नेपालको राज्य पुनर्संरचना गर्दा स्थानीय तह पुनर्संरचना सुझाव आयोगको प्रतिवेदन २०७३ अनुसार साविक लेटाङ भोगटेनी नगरपालिकाको १ न.ं वडा बाहेक सबै, जाँते गाउँ विकास समितिका १,२,५,६,७,८ र ९ वडाहरू र वारङ्गी गाउँ विकास समितिको सम्पूर्ण वडाहरूलाई मिलाएर वि.सं. २०७३ ,११, २७ मा लेटाङ नगरपालिका बनाइएको हो ।

भौगोलिक अवस्था र बनावट
मोरङ जिल्लाको उत्तरी भागमा दुई वटा गाउँपालिकासँग पूर्वी र पश्चिमी सीमाना जोडिएको लेटाङ नगरपालिकाको केन्द्र लेटाङ बजार हो । मोरङ जिल्लाको सदरमुकाम विराटनगरदेखि पूर्व उत्तरतर्फ ४९ किलोमिटरको दूरीमा पर्दछ । लेटाङ नगरपालिकामा हाल ९ वटा वडाहरू रहेका छन् ।
लेटाङ नगरपालिकाको कार्यालय पुग्नका लागि विराटचोक हुँदै कानेपोखरी र त्यसबाट उत्तरतर्फ ८ किलोमिटर जानुपर्दछ । यस नगरपालिकामा तराई भू–भाग तथा बाह्रैमास चिसो हुने महाभारत पर्वत श्रेणी समेत पर्दछ । भौगोलिक विषमता यस नगरपालिकाको मुख्य विशेषता हो । मोरङ जिल्लाको एक महानगरपालिका र आठ नगरपालिकाहरू मध्ये पहाडी भूभागलाई समेत समेटर यो नगरपालिका बनेको छ ।
नगरपालिकाको सिमाना पूर्वमा मिक्लाजुङ गाउँपालिका, पश्चिममा केराबारी गाउँपालिका, उत्तरमा धनकुटा जिल्लाको चौबीसे गाउँपालिका एवम् दक्षिणमा मोरङको तीन वटा स्थानीय तह बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँ पालिकासँग सीमाना जोडिएको छ । नगरपालिकाको भौगोलिक परिवेश फरक भए तापनि सीमाना जोडिएका छिमेकी पालिकासँग प्रतिस्पर्धात्मक रुपमा विकास निर्माणका कार्य गर्नुपर्ने अवस्था रहेको छ ।

 जातीय विविधता बोकेको नगर पनि हो । धरान धनकुटाको सडक नखुल्दा धनकुटा, तेह्रथुम, पाँचथर आदि पहाडी भूभागबाट तराई झर्ने मुख्य बाटो नै लेटाङ थियो अथवा भनौँ लेटाङ तराई झर्ने द्वार थियो । नेपालको दोस्रो जलविद्युत आयोजना शिखरबाँस जलविद्युत आयोजना कुनैबेला लेटाङ क्षेत्रमै पर्दथ्यो ।

कृषि र बन र जनघनत्व
तराई,चुरे क्षेत्र हुँदै महाभारत पर्वतश्रेणी सम्म फैलिएको यस नगरपालिकाको भू–उपयोगको अवस्थामा अधिकांश भूभाग कृषि क्षेत्र र वनले ओगटेको छ । वि. सं. २०६८ को जनगणना अनुसार यस नगरपालिकाको जनसङ्ख्या ३२०५३ जना रहेको छ । यसको क्षेत्रफल २१९.२३ वर्ग कि.मि. रहेको छ । यहाँको जनघनत्व १५० जना जनसंख्या प्रतिवर्ग किलोमिटर रहेको छ । हाल लेटाङ नगरपालिकाले नगरप्रोफाईलका निम्ति गरिएको स्थलगत सर्वेक्षण अनुसार यस नगरपालिकामा ७९ सय ७७ घरधुरी र जनसंख्या ३८ हजार १ सय ४६ रहेको देखन्छ । हाल जनघनत्व प्रतिवर्ग किरलोमिटर १७३ दशमलव ९९ भएको छ । यस आधारमा विश्लेषण गर्दा लेटाङ नगरपालिका मोरङ जिल्लाका नौ नगरपालिकाहरू मध्ये सबै भन्दा कम जनसंख्या र कम जनघनत्व भएको नगरपालिकामा पर्दछ ।
लेटाङ नगरपालिकाले मोरङ जिल्लाको कुल जनसंख्या ९६५४३० को ३ दशमलव ३२ प्रतिशत अंश र कुल क्षेत्रफल १८ सय ५५ वर्ग किलो मिटरको ११ दशमलव ८२ प्रतिशत भूभाग ओगटेको छ ।
यो जातीय विविधता बोकेको नगर पनि हो । धरान धनकुटाको सडक नखुल्दा धनकुटा, तेह्रथुम, पाँचथर आदि पहाडी भूभागबाट तराई झर्ने मुख्य बाटो नै लेटाङ थियो अथवा भनौँ लेटाङ तराई झर्ने द्वार थियो । नेपालको दोस्रो जलविद्युत आयोजना शिखरबाँस जलविद्युत आयोजना कुनैबेला लेटाङ क्षेत्रमै पर्दथ्यो ।

आइतबार, २७ भदौ, २०७८, साँझको ०७:०६ बजे

सम्बन्धित खवर