गठबन्धनका सिट संख्याको बाँटफाँटमा समझदारी, असोज दोस्रो सातापछि फाइनल

 दमक/  सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि सिट संख्याको बाँटफाँटमा समझदारी बनाएका छन् ।
एक नेताका अनुसार गठबन्धनमै नबस्ने अडानमा रहेका जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादवसमेत मिलेर जान तयार भएपछि शीर्ष नेताहरुले सिट संख्या समझदारी बनाएका हुन् तर, त्यो सहमति दशैँ पछिमात्र सार्वजनिक गर्ने तयारी छ ।
समझदारी अनुसार कांग्रेसले दाबी गरेको केही सिट घट्ने छ । कांग्रेस एक नेताका अनुसार ८४ देखि ८६ हाराहारी सिट कांग्रेसले राख्नेछ । माओवादी केन्द्रले पनि ४५ देखि ५० हाराहारी सिट पाउनेछ । एकीकृत समाजवादी र जसपाको सिट केही थप हुनेछ ।
यसअघि जसपालाई १२ सिट दिने तयारी रहेको बताइएको थियो । उसले मधेस प्रदेशमा बहुमत र प्रदेश १ को मोरङ ५ र धनकुटा मागेको छ । एक शीर्ष नेताले भने, ‘गठबन्धन नै छोड्छु भनेर उपेन्द्र जी तरङ्गित हुनुभएको थियो, महन्थ ठाकुर एमालेसँग मिलेपछि उहाँ यहीँ गठबन्धनमै रहनुभयो । उहाँलाई २, ४ सिट थप दिने मूलभूत रुपमा समझदारी बनायौं ।’
यही समझदारीकै आधारमा समानुपातिक नाम बुझाउन सहज भएकोले अब प्रत्यक्ष तर्फको पछि घोषणा गर्न लागिएको उनले बताए ।

निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूचिमा नाम बुझाउन असोज २ र ३ लाई तोकेको छ । त्यो अवधिमा प्राप्त भएका नामलाई सच्याउन १६ असोजसम्म आयोगले समय दिएको छ ।
शीर्ष तहमा सहमति जुटेको भनिएपनि केही क्षेत्रको सिट बाँडफाँट भने अझै सकिएको छैन । अहिलेसम्म प्रतिनिधि सभाका १ सय २० भन्दा बढी क्षेत्रमा समझदारी बनिसकेको छ । अब बाँकी ४५ क्षेत्र छ ।
स्रोतका अनुसार प्रदेश सभाको सहमतिको लागि ११ सदस्यीय कार्यदलले काम गर्नेछ । आइतबारदेखि कम्तीमा ३ दिन सो कार्यदललाई प्रदेश सभाको सहमति गर्न समय छुट्याइएको स्रोतले जनायो ।
गठबन्धनले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति घोषणा भएपछि गठबन्धनभित्र सिट बाँडफाँटका विषयमा समझदारी बनाउन कार्यादेश दिएर २१ साउनमा ११ सदस्यीय कार्यदल बनाएको थियो ।
एक महिना लामो छलफल र विभिन्न मोडालिटी बनाएको कार्यदलले २३ भदौमा गठबन्धनका शीर्ष नेतालाई रिपोर्ट बुझाएको थियो । सो रिपोर्टका आधारमा शीर्ष नेताहरुले समझदारी जुटाएका हुन् तर, समझदारीलाई केही समय होल्ड गरेर मात्र बाहिर ल्याउने शीर्ष नेताहरुबीच समझदारी छ ।
कार्यदलले बनाएको पहिलो मोडालिटी थियो, शीर्ष नेताहरुलाई जिताउने । प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव लगायत नेताहरुको टुंगो लगायो । शीर्ष नेता उठेको क्षेत्रमा सबै लागेर सानदार जीत निकाल्ने सहमति थियो ।
दोस्रो, जितेको क्षेत्र सोही दललाई दिने ।

स्थानीय तहको निर्वाचन ३० बैशाख २०७९ सालमा यही सूत्रअनुसार गठबन्धनले स्थानीय तह बाँडफाँट गरेका थिए । तर, त्यतिबेला ७ सय ५३ वटै पालिकामा भएको थिएन ।
कार्यदलले त्यो अनुभवका आधारमा स्थानीय तहमा प्राप्त गरेको मत र २०७४ को प्रतिनिधि र प्रदेश सभा चुनावमा प्राप्त मत अनि समानुपातिक मत, र जितेको निर्वाचन क्षेत्र सोही दललाई दिएर क्षेत्र बाँडफाँट गरे ।
तर, एमालेबाट विभाजन भएको एकीकृत समाजवादीले पहिलो पटक प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव लड्न लागेकोले उसको हकमा जति सांसद खुलेका छन्, त्यसैलाई आधार बनाइएको छ । एकीकृत समाजवादीको प्रत्यक्षबाट जितेका १३ सांसद छन् ।
प्रदेश सभाको प्रत्यक्षतर्फ ३ सय ३० सिट छ । स्रोतका अनुसार प्रतिनिधि सभाका केही मिल्न बाँकी क्षेत्रमध्ये दुई दल, तीन दल र कतै कतै चार दलकै दाबी छ । कांग्रेस(जसपा, जसपा( समाजवादी( काङ्ग्रेस, काङ्ग्रेस( माओवादी, माओवादी) समाजवादीबीच दाबी छ ।
कांग्रेस (माओवादी) समाजवादी(जसपा चारै दलको दाबी छ । बागमतीका केही क्षेत्र, कर्णालीका केही क्षेत्र, मधेस प्रदेशका बढी जसो क्षेत्र, लुम्बिनी र काठमाडौं उपत्यकाका केही क्षेत्रमा यस्तै भएको ती नेताले बताए ।

सोमबार, २७ भदौ, २०७९, दिउँसोको १२:४५ बजे

सम्बन्धित खवर