नवरात्र र दुर्गोत्सवको महिमा

डा. वासुदेव खनाल

प्राचीनकालदेखि सम्पूर्ण भारतवर्षमा आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गापूजा गर्ने तथा दुर्गोत्सव मनाउने परम्परा छ । नवरात्र भनेको यही अवधि हो । शरद (आश्विनशुक्ल) र वसन्त (चैत्रशुक्लपक्ष) मा समान रूपले दुर्गोत्सव गर्नुपर्ने कुरा धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ ।

हुन त वर्षमा चारवटा नवरात्र मनाउने परम्परा पनि देखिन्छ जसअनुसार आषाढशुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्र र पौषशुक्लपक्षको प्रतिपदादेखि नवमीसम्म नवरात्र मानिएको छ । यसको वर्णन देवीभागवत आदि पौराणिक ग्रन्थहरूमा छ । आषाढशुक्लमा पर्ने नवरात्र र पौषशुक्लको नवरात्रलाई त्यति महत्व दिएको देखिँदैन ।

नेपालमा आश्विनशुक्लपक्षको नवरात्रलाई जति महत्व चैत्रशुक्लपक्षको नवरात्रलाई छैन । चैत्रशुक्लपक्षमा पनि शक्तिपीठहरूमा भवानी दुर्गाको पूजा तथा आराधना गर्ने परम्परा भने छ ।

नेपालका सबै भागका साथ भारतको बङ्गाल, विहार र कामरूपमा पनि आश्विनशुक्लपक्षको दुर्गोत्सव विशेषरूपले मनाइन्छ । वर्तमानमा नेपाली संस्कृति र परम्पराका अनुयायीहरू संसारको कुनाकुनामा पुगेका छन् जसले गर्दा संसारभरि नै धुमधामका दुर्गोत्सव हुने गरेको छ । नेपालमा मनाइने सबैजसो चाडपर्वहरू नेपालीका माध्यमबाट संसारभरि पुगेका छन् । यातायात र सञ्चारको विश्वव्यापीकरणका कारण आज हाम्रा चाडपर्वहरूको पनि विश्वव्यापीकरण भएको छ ।

हिन्दू सनातन धर्ममा सबै व्रत, उत्सव तथा पर्वहरूका लागि विशेष काल धर्मशास्त्रीय नियम र विधानअनुसार निर्धारण गरिएको छ । व्रत तथा उत्सवहरूको प्रारम्भ तथा अन्त्य विशेष काल तथा समयमा गर्नुपर्ने शास्त्रीय विधान छ ।

यसरी विशेष कालमा व्रतोत्सव गर्नुपर्ने हुँदा कालसम्बन्धी ज्ञान अवश्यक हुन्छ । हिन्दु सनातन धर्मशास्त्रीय ग्रन्थहरूमा विशेष गरेर आठ प्रकारका काल व्यवहारमा मानिएको छ । यी काल सम्वत्सर, अयन, ऋतु, महिना, पक्ष, तिथि, वार र नक्षत्र हुन् ।

यहाँ सम्वत्सर र दुर्गोत्सवका सम्बन्धमा उल्लेख गरिएको छ ।

सम्वत्सर

सम्पूर्ण ऋतुहरूको एउटा चक्र सम्वत्सर हो । कुनै ऋतुबाट प्रारम्भ भएर पुनः त्यही ऋतु आउन जति समय लाग्छ त्यही अवधि सम्वत्सर हो । एउटा सम्वत्सरभित्र सम्पूर्ण ऋतुहरू पर्छन् भनी अमरकोशको कालवर्गमा सम्वत्सर शब्दको व्याख्या गरिएको छ ।

सम्वत्सरको माध्यमबाट मानिस लगायत सम्पूर्ण प्राणीहरूको आयुको गणना हुने गरेको छ । जसमा सबै प्राणी रहन्छन् त्यो समयविभागको नाम नै सम्वत्सर हो भनेर निरुक्तमा उल्लेख गरिएको छ ।

यसरी सम्पूर्ण ऋतुहरूको र सबै प्राणीहरूको कालविभाजनको आधारको नाम नै सम्वत्सर हो । मानवलाई सम्वत्सरको ज्ञान हुँदैनथ्यो भने न उसले ऋतुविभाग जान्दथ्यो न त प्राणीको आयुको गणना नै हुनसक्थ्यो । यसरी सम्वत्सर समस्त प्राणीको जीवनसँग जोडिएको छ ।

सम्वत्सर तथा ऋतु–विभागको सम्बन्ध सूर्यको गतिसँग छ । सूर्य सम्वत्सर तथा कालका अधिदेवता मानिएका छन् । सूर्यको अभावमा न त सम्वत्सर नै हुन्थ्यो न त कालको विभाजन नै ।

सम्वत्सरारम्भ (चैत्रशुक्ल प्रतिपदा)

धेरैजसो धर्मशास्त्रीय एवं ज्योतिषशास्त्रीय ग्रन्थहरूमा चैत्रशुक्ल प्रतिपदा नयाँ सम्वत्सरको आरम्भ भएको दिन भनेर उल्लेख गरिएको छ । त्यसमा पनि जुन दिन सूर्योदयको अवसरमा प्रतिपदा तिथि रहेको छ त्यही दिनलाई सम्वत्सरारम्भ मान्नुपर्ने कुरा धर्मशास्त्रहरुमा उल्लेख गरिएको छ । बह्मपुराणमा त्यही दिन सूर्योदय हुने बेलामा ब्रह्माले यो संसारको सृष्टि गरेको कुरा उल्लेख गरिएको छ

यदि दुबै दिन सूर्योदयको बेलामा प्रतिपदा रहेको छ भने या दुबै दिन सूर्योदयको बेलामा प्रतिपदा छैन भने पनि पहिलो दिनलाई नै सम्वत्सरारम्भ मान्नुपर्ने कुरा निणर्यसिन्धुकारले वृद्धवशिष्ठको वचनका रूपमा उल्लेख गरेका छन्–

वत्सरादौ वसन्तादौ बलिराज्ये तथैव च ।

पूर्वविद्धैव कत्र्तव्या प्रतिपत् सर्वदा बुधैः ।

(निर्णयसिन्धु, वृद्धवसिष्ठ)

यदि चैत्र महिनामा अधिकमास (मलमास) परेको छ भने प्रथम चैत्रशुक्ल प्रतिपदालाई नै सम्वत्सरारम्भ मान्नुपर्छ किनभने निर्णयसिन्धुकारले अधिकमासको गणना अघिल्लो वर्षमा गरिन्छ भनेका छन् ।

सर्वप्रथम ब्रह्माले चैत्रशुक्ल प्रतिपदाको सूर्योदयको समयमा यो संसारको निर्माण गरेका थिए भन्ने कुरा विभिन्न पुराण तथा धर्मशास्त्रीय ग्रन्थहरूमा वर्णन गरिएको पाइन्छ । पुराणहरूका अनुसार त्यसै दिन यो संसारमा कालगणना प्रारम्भ भएको हो ।

धर्मशास्त्रीय निबन्धग्रन्थहरूमा यस दिन महाशान्तिका साथ ब्रह्मासहित वर्ष, महिना, ऋतु, पक्ष, दिन आदि कालका अवयवहरूको पूजा गर्नुपर्ने विधान छ ।

यसरी ब्रह्मादिको पूजा गर्नाले सम्पूर्ण पापहरू नाश हुनुको साथै आयु, आरोग्य, धन, धान्य तथा शौभाग्य पनि अभिवृद्धि हुन्छ र घरमा मङ्गल एवं पवित्रता हुन्छ भने विश्वास रहिआएको छ । यसबाट यस लोक र परलोक पनि सुखदायक रहन्छ भन्ने कुरा व्रतार्कमा उल्लेख गरिएको छ ।

नवसम्वत्सरारम्भको दिन घर ध्वजा–पताकाहरूले सजाउने, स्नान गर्ने, ब्राह्मणहरूका साथ मङ्गलगान गर्ने; देवता, मान्यजन, नारी एवं बालबालिकालाई नयाँ वस्त्र तथा अलङ्कार प्रदान गरेर ज्योतिषहरूबाट पञ्चाङ्ग श्रवण गर्नुपर्ने कुरा धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ ।

दुर्गापूजा नित्य र काम्य दुबै हो । सात्विक, राजसी र तापसी तीन वटै उद्देश्यले अलगअलग विधिद्वारा देवी दुर्गाको आराधना गर्न सकिन्छ । वर्षमा चार पटक दुर्गोत्सव हुने मानिए पनि आश्विनशुक्लपक्षले बढी महत्व पाएको छ ।

तैलाभ्यङ्ग अर्थात् शरीरमा तेल लगाउनु नवसम्वत्सरम्भमा अनिवार्य नै मानिएको छ । सम्वत्सरारम्भमा तैलाभ्यङ्गादि कार्य नगरे नरकको भागी बन्नुपर्ने कुरा निर्णयसिन्धुमा उल्लेख गरिएको छ ।

रोगशान्तिका लागि मरिच, नुन, जिरा र ज्वानो तथा नीमको फूलका साथ कोमल पातको चूर्ण बनाएर खान पनि धर्मशास्त्रीय ग्रन्थहरूमा निर्देश गरिएको छ ।

चैत्रशुक्ल प्रतिपदा नै वसन्त ऋतुमा पर्ने नवरात्रको पहिलो दिन हो । वैदिक सनातन धर्मका निर्णायक ग्रन्थमा शरद र चैत्रशुक्ल प्रतिपदाका दिनमा प्रारम्भ हुने नवरात्र समान रूपले मनाउनुपर्ने कुरा उल्लेख गरिएको छ ।

यही परम्पराअनुसार वसन्त र शरदमा पर्ने नवरात्रमा दुर्गोत्वस मनाउने गरिएको हो । वसन्त ऋतुमा नवरात्र मनाएको छ महिनापछि अर्थात् आश्विनशुक्ल प्रतिपदामा नवरात्र प्रारम्भ हुन्छ । प्राचीनकालमा यी दुबै दिन अत्यन्त महत्वका साथ घरघरमा देवी दुर्गाको स्थापना गरी पूजा तथा आराधना गर्ने गरिएको कुरा ग्रन्थहरूमा पाइन्छ ।

पछिल्ला दिनमा चैत्रशुक्ल प्रतिपदामा शुरू हुने नवरात्र तथा दुर्गोत्सवलाई भन्दा आश्विनशुक्ल प्रतिपदामा मनाइने दुर्गोत्सवलाई विशेष महत्व दिने गरिएको छ । राज्यले पनि यो नवरात्रलाई विशेष महत्व दिएर लामो विदा दिने गरेको छ । शरद ऋतुको पहिलो दिन शुरू हुने शारदी नवरात्रले विशेष महत्व पाएको छ ।

यो नवरात्र मनाउन शास्त्रमा अन्य धेरै विकल्पहरू पनि दिएको छ । आश्विनशुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन यो उत्सव मनाउन शास्त्रमा निर्देश गरिएको छ । यसअनुसार प्राचीनकालदेखि नेपालमा पनि आश्विन शुक्लप्रतिपदादेखि आश्विशुक्ल पूर्णिमासम्म मनाउने गरिएको हो ।

यसमा देश, काल, परिस्थिति दृष्टिगत गरेर अन्यान्य विकल्पहरू पनि रहेका छन् । जसअनुसार आश्विनशुक्ल प्रतिपदादेखि नवमीसम्म, षष्ठीतिथिदेखि नवमीसम्म, सप्तमीतिथिदेखि नवमीसम्म, महाष्टमी र नवमी तथा केवल नवमी आदि अनेक विकल्पका सम्बन्धमा कालिका, देवीभागवत आदि पुराणहरूमा उल्लेख गरिएको छ ।

दुर्गोत्सवका सम्बन्धमा वैदिक सनातनधर्ममा विशाल साहित्य पाइन्छ । व्रत, पूजा र तिथिका सम्बन्धमा प्रकाश पार्ने उद्देश्यले लेखिएका धेरैजसो ग्रन्थहरूमा दुर्गोत्सवको वर्णन गरिएको पाइन्छ ।

केवल दुर्गोत्सवका सम्बन्धमा पनि धेरै ग्रन्थहरू प्राचीनकालदेखि नै प्रकाशित छन् । जसमध्ये दुर्गोत्सवविवेक, दुर्गापूजाप्रयोगतत्व, दुर्गार्चनपद्धति, दुर्गाभक्तितरङ्गिणी, नवरात्र–प्रदीप आदि छन् ।

दुर्गोत्सवका सम्बन्धमा मार्कण्डेयपुराणमा वर्णित (अध्याय ७८–९०) देवीमहात्म्य (दुर्गासप्तशती) अत्यन्त महत्वपूर्ण मानिन्छन् । यिनमा विष्णु, शिव, अग्नि आदि सबै देवताहरूको तेजबाट उत्पन्न भएकी देवीको स्वरूपको वर्णन गरिएको छ ।

दुर्गासप्तशतीमा उल्लेख भएअनुसार देवी दुगर्षले शिवबाट त्रिशूल, विष्णुबाट चक्र, इन्द्रबाट वज्र आदि हतियार प्राप्त गरेर महिषासुर, चण्ड, मुण्ड, शुम्भ, निशुम्भ आदि दानवहरूको वध गरी विजय प्राप्त गरेको कुरा वर्णन गरिएको छ ।

कालिकापुराण, बृहन्नन्दिकेश्वर पुराण, देवीपुराण तथा देवीभागवतमा दुर्गा एवं उनको पूजाका सम्बन्धमा विशद वर्णन गरिएको छ ।

दुर्गोत्सवका नौ दिनमा देवीका विभिन्न रूपको अर्थात् भिन्नभिन्न नामले पूजा गनुपर्ने कुरादुर्गासप्तशतीमा गरिएको छ ।

यसअनुसार पहिलो दिनकी देवीको नाम शैलपुत्री, दोस्रो दिनकी ब्रह्मचारिणी, तेस्रो दिनकी चन्द्रघण्टा, चौथो दिनकी कूष्माण्डा, पाँचौ दिनकी स्कन्दमाता, छैटौँ दिनकी कात्यायनी, सातौँ दिनकी कालरात्रि, आठौँ दिनकी महागौरी र नवौँ दिनकी सिद्धिदात्री हुन् ।

यी सबै देवीहरू नवदुर्गा नामले जानिन्छन्–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।

पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।

सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।

नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिता ।

दुर्गापूजा नित्य र काम्य दुबै हो । जुन कुरा नित्य हुन्छ त्यस्तो कर्म प्रमाद, छल, घमण्ड आदिका कारण नगरेको अवस्थामा दोष लाग्ने कुरा शास्त्रमा वर्णन गरिएको छ ।

यस्तै, दुर्गा पूजा विशेष कामना अर्थात् देवीलाई प्रसन्न गराएर अभीष्ट फल प्राप्त गर्ने उद्देश्यले पनि गर्ने गरिन्छ । यसरी कुनै कामनाका साथ देवीको पूजा गरेको अवस्थामा धर्म, अर्थ, काम र मोक्ष गरी यी चारवटै पुरुषार्थ प्राप्त हुने कुरा विभिन्न धर्मशास्त्रीय ग्रन्थ तथा पुराणहरूमा उल्लेख गरिएको छ ।

दुर्गापूजा तथा दुर्गोत्सव चार वर्णका लागि मात्र नभएर सबै जाति र वर्णका लागि हो भन्ने कुरा पनि पुराणहरूमा गरिएको छ । यसकारण दुर्गोत्सवको महत्व धार्मिकमात्र नभएर सामाजिक पनि रहिआएको छ ।

देवी दुर्गाको पूजा सात्विक, राजसी र तापसी रूपमा पनि गर्न सकिने कुराको वर्णन विभिन्न धार्मिक ग्रन्थहरूमा पाइन्छ ।

यसअनुसार दुर्गाको सात्विक पूजामा षोडषोपचारका माध्यमले पूजा हुन्छ र नैवेद्यको रूपमा फल, पक्वान्न आदि दिइन्छ । राजसी पूजामा पशुबलि दिइन्छ । तामसी पूजामा सुराका साथ मासुको पनि प्रयोग गर्ने गरिएको कुराको वर्णन शास्त्रीय ग्रन्थहरूमा पाइन्छ ।

(लेखक नेपाल संस्कृत विश्वविद्यालयमा धर्मशास्त्रका सहप्राध्यापक हुन्)

मङ्गलबार, २६ असोज, २०७८, बिहानको ०७:५० बजे

सम्बन्धित खवर