लाजमर्दो परनिर्भरता

विमल लामिछाने /
 तिहारमा लगाईने फूल पनि भारतबाट मसला र मिठाई पनि भारतबाटै
तिहारलाई फूलको पर्व मानिन्छ । त्यसैले यतिबेला फूलको व्यापार राम्रो हुन्छ । नेपालमा ठूला–ठूला राष्ट्रियताका कुरा हुन्छन्, मुलुकलाई पूर्ण रुपमा आत्मनिर्भर बनाउनेसम्म कुरा गरिन्छन् । तर वर्षमा एकपटक लगाईने फूलसमेत हामीले आफैलाई पुग्ने गरी आफ्नै भूमिमा उत्पादन गर्न सकिरहेका छैनौँ । विडम्बना यो छ कि हामी धेरैले तिहारमा लगााउने फूल भारतमा फुलेको हो ।
तिहारको समय मात्र नेपालमा अघिल्लो बर्ष करिब १ करोड रुपैयाँ बराबरको ३ लाख सयपत्री फूलको माला आयात गरिएको नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । बोटमै उत्पादन खेर जाने भएपछि यस बर्षपनि सयपत्री फूलका लागि भारतको भर पर्नुपर्ने बाध्यता देखिएको छ ।
तिहारको समयमा नेपालमा २० लाख बढी माला आयात गर्नुपर्ने आवश्यक पर्छ । यो दर हरेक बर्ष १५ प्रतिशतले बढ्ने एसोसिएसनको तथ्याङ्कले देखाएको छ । नेपालका ३५ जिल्लामा ६ सय ५० पुष्प फर्म तथा नर्सरीबाट १ सय १० हेक्टर क्षेत्रफलमा पुष्पको खेती हुँदै आएको भएपनि यसले आवश्यकता धान्न सकेको छैन । व्यावसायिक रुपमा ४ सय ५० प्रजातिका फूल नेपालमा उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन् ।

एक अर्बको मसला आयात
तिहारका लागि करिब १ अर्ब रुपैयाँबरारबरको त मसला नै आयात हुन्छ । भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा सकेसम्म बढी मसला दिने चलन भएकाले मसलाको माग बढी छ । मसला किन्ने सर्वसाधारण भने अघिल्लो वर्षभन्दा दोब्बरसम्म मूल्य वृद्धि भएको गुनासो गरिरहेका छन् । मसला किन्ने मुख्य समय कुकुर तिहारदेखि गोवद्र्धन पूजाको दिनसम्म हुने गर्छ । तर यो समय अत्यधिक बिक्रिको समय हो ।

ड्राइफुडमै बाहिरिन्छ एक अर्ब
भाइ मसलाको रूपमा प्रयोग हुने सुक्खा फलफूल अर्थात ड्राइ फुड तिहारमा सबैभन्दा बढी उपभोग हुने गर्छ । वर्षभर आयात हुने ड्राई फुडको सबैभन्दा धेरै परिणाम तिहारअघिको तीन महिनामा हुने गर्छ । साउन, भदौ र असोज गरी तीन महिनामा ९५ करोड ५० लाख रुपैयाँ बराबरको ड्राई फुड आयात भएको भन्सार विभागले जनाएको छ । तिहारमा प्रयोग हुने ड्राइ फुडमा विशेषगरी काजु, पेस्ता, नरिवल, सुपारी, बदाम, ओखर, खजुर, छोकडालगायत पर्दछन् । तिहारमा सबैभन्दा बढी खपत भए पनि नेपालमा उत्पादन नहुने ड्राई फुड पूर्णतः आयातमा निर्भर रहने गरेको छ । यी मसला भारत, चीन, बेलायत, भियतनाम, इन्डोनेसिया, इटाली, संयुक्त अरब इमिरेट्स, पाकिस्तान, कतार, थाइल्यान्ड, अमेरिकालगायतका मुलुकबाट आयात हुने गरेका छन् । मिठाई पनि भारतबाटै ! मीठाईका लागि प्रयोग हुने चीनीदेखि तेलसम्म भारतबाटै आयात हुन्छ । मीठाई नेपालमा बनेपनि त्यसका लागि आवश्यक सम्पूर्ण सामानका लागि भारतकै भर पर्नुपरेको छ ।

 

बिहिबार, २७ कार्तिक, २०७७, बिहानको ०९:११ बजे

सम्बन्धित खवर