समृद्ध नगरमा लास जलाउने घाटनै छैन

नगरको पहल नपुग्दा सर्वसाधारणलाई सास्ती

         विमल लामिछाने

    दमक /   झापाको दमकस्थित रतुवा र मावा खोलाको घाटलाई व्यवस्थित गर्न नसक्दा शव जलाउन समस्या हुन थालेको छ ।

लामो दूरीमा गाडीको ब्यवस्था गरेर पूर्वतर्फ कनकाई माई र पश्चिमतर्फ मोरङको बक्राहा घाटसम्म शव लान नसक्ने सर्वसाधारणले रतुवा खोला किनारमा दुवैतर्फ शव जलाउने गरेको भएपनि व्यवस्थित घाट निर्माण हुन नसक्दा थप समस्या हुने गरेको बताएका छन् । स्थानीय सरकारले घाट व्यवस्थित बनाउन चासो नदिएका कारण वर्षाको समयमा बाढी आउँदा निकै कष्टपूर्ण तरिकाले शव जलाउनु परेको र हिउँदमा जथाभावी रुपमा शव जलाउने गरिएका कारण दायाँबायाँका किनारामा लास जलाउन प्रयोग गरिने दाउरा, खरानी, अँगार त्यतिकै छोडिने गरेको छ । जसले गर्दा खोलाको किनार फोहोर र प्रदूषित भई वातावरण र जनस्वास्थ्यमा असर पर्न गएको स्थानीय बासिन्दा बताउँछन् । सो स्थानमा मलामीले खाएको पानी तथा बिस्कुटका खोलहरु जथाभावी फ्ँयाक्ने गरिएको छ । जसले थप प्रदुषण बढ्दै गएको स्थानीयको गुनासो छ ।

दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले नगरभित्र घाटलाई ब्यवस्थित गर्न नसकिएको स्वीकारेका छन् । उनले उचित स्थानको छनौट हुन नसक्दा घाट बनाउन अलमल भएको बताए । उनले भने– ‘यसअघि रतुवाको माथिल्लो भाग (नमूना बस्ती छेउ) मा घाट बनाउने योजना अघि सारेका थियौं, स्थानीयको विरोधका कारण पूर्णता दिन सकिएन, अब अर्को उचित स्थानको टुंगो लागेपछि निर्माण कार्यले पूर्णता पाउने छ ।’ उनले स्थानीय चुनावका समयमा आफूले चुनाव जिते दमकका बासिन्दाले लास बोकेर कनकाई र बक्राहा घाट पुग्न नपर्ने, दमककै रतुवा र मावा खोलामा सार्वजनिक घाटको ब्यवस्था गर्ने प्रतिबद्धता जनाएका कारण आफ्नै कार्यकालमा योजना पूरा गर्न नगरपालिकाले प्रयास गरिरहेको बताएका छन् ।

स्थानीय चुनावमा नगरप्रमुखको प्रमुख प्रत्यासीसमेत रहेका राप्रपाका नेता रामकुमार थापाले दमकवासीको अति आवश्यकीय विषयलाई नगरपालिकाले प्राथमिकतामा नराखेको बताए । उनले भने– ‘दमकवासीले लामो दूरीमा शब बोकेर हिंड्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ, दमकको रतुवामा नै शव दाहसंस्कार गर्ने घाटको ब्यवस्था नगरपालिकाले गर्नैपर्ने विषय हो, यो अतिआवश्यक विषय पनि हो, यो बन्नुपर्छ ।’ उनले भने– नगरले यो प्राथमिकतामा नराख्नु दुःखद कुरा हो ।

नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष तिर्थराज बस्नेतले नगरपालिकाले घाट बनाउने योजनामात्रै ल्याएपनि स्थानीय दल र नागरिक स्तरबाट थप सहयोग हुने बताए । उनले यसअघि नगरले नमूना बस्तीको छेउमा घाट बनाउने योजना ल्याउँदा असफल भएकाले अब बस्तीलाई प्रत्यक्ष असर नपुग्ने खुला स्थानको छनोट गर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली काँग्रेस दमक नगर सभापति प्रकाश प्रशाईंले नगरले उचित स्थान नभेटेको भनेर जिम्मेवारीबाट पन्छिन नहुने बताए । उनले भने घाट नभइ नहुने मानव जीवनको अपरिहार्य विषय भएकाले घाट बनाउने स्थानको आसपास भएका घरहरुलाई उचित ब्यवस्थासहित स्थानान्तरण गरेर भएपनि घाट बनाउने योजना सफल गर्नु नगरको दायित्व भएकाले नगरपालिका पन्छिन नहुने बताए ।

जनता समाजवादी पार्टीका नगर अध्यक्ष भेषराज भट्टराईले दमकबासी जनताले कहिलेसम्म लास बोकेर कनकाई र बक्राहा कुद्ने भनेर नगरलाई प्रश्न गर्नुपर्ने बेला आएको बताए । उनले भने– ‘हामी दमकबासी आसपासमा ठूला खोला भएरपनि घाट नहुँदा लास बोकेर लामो दूरीको यात्रा गर्न बाध्य भएका छौं । बुढाबुढी अवस्थाका मान्छेलाई मलामी जानसमेत कठीन हुने गरेको छ । स्थानीय खोलामा नै नगरले घाट बनाउने योजना चाँडै अघि बढाउनु पर्छ ।’

पूर्वमा इलामको चुलाचुली र कमल गाउँपालिका, दक्षिणतर्फ गौरादह नगरपालिका, पश्चिममा मोरङ जिल्लाको मधुमल्ला गाउँपालिका र उर्लाबारी नगरपालिकासँग सीमा जोडिएको दमक नगरमा बिभिन्न जातिहरुको बसोबास रहेको छ । खासगरी बाहुन, क्षेत्री, धिमाल, लिम्बू, राई, मगर, सतार, राजवंशी, कुमाल, कामी, दमाई, तामाङ, गुरुङ, थारु, मुस्लिम, सुनुवार, माझी आदिको बाहुल्यता रहेको छ । यीमध्ये धेरैजसो जातिहरुले मृत्युपश्चात् दाहसंस्कार गर्ने गरेका छन् भने केही जातिहरुले चिहान बनाएर गाड्ने संस्कारलाई निरन्तरता दिँदै आएका छन् । जसकालागि पनि नगरले उचित स्थान छनौट गरेर तोक्न नसक्दा विभिन्न सामुदायिक बनहरु र बस्ती नजिकका सार्वजनिक स्थानमा लास गाड्ने गरिँदै आएको छ । ७ हजार ५ सय १३ हेक्टर क्षेत्रफलमा रहेको दमक नगरपालिकामा पछिल्लो समय बस्ती बढ्दै गएपछि लास गाड्ने ठाउँको पनि अभाव हुँदै गएको छ । यसअघिको स्थानीय चुनावमा सबैजसो राजनीतिक दलहरुले रतुवामा घाट बनाउने कुरा घोषणा पत्रमा उल्लेख गरेका थिए ।

शुक्रबार, २६ कार्तिक, २०७८, बिहानको ०९:०२ बजे

सम्बन्धित खवर