झापा / आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा तयारी सवै पुरा भएको छ । जिल्ला निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार मतदान अधिकृतसहितका कर्मचारीहरू मतदानस्थलमा बिहीबारबाट खटिएका छन् ।
सदरमुकाम चन्द्रगढीमा रहेको मुख्य निर्वाचन अधिकृत तथा जिल्लाका विभिन्न स्थानमा रहेको निर्वाचन अधिकृतको कार्यालयबाट सामग्री बुझेर उनीहरू कार्यक्षेत्रमा हिँडेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारीदिएका छन् । कर्मचारी सँगै सुरक्षाकर्मीहरु पनि निर्वाचन स्थल पुगि सकेका छन । कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटी, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदान स्थल पठाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतसहित अन्य अधिकृतको कार्यालयबाट मतपत्र र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ५६ प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचयपत्र र अनुसूची फारमहरू बुझेर कर्मचारी हिँडेका छन् । ३ लाख ३१ हजार ४४ जना पुरुष ३ लाख ३२ हजार २ सय ५९ महिला तथा ८ अन्य गरी कुल ६ लाख ६३ हजार ३ सय ११ जना मतदाता रहेको जिल्लामा प्रतिनिधसभातर्फ ५ सिटकालागि ९४ र प्रदेशसभातर्फ १० सिटका लागि ९८ गरी कुल १ सय ९२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
झापा जिल्ला कारागार र मेची रंगशालासहित दुई अस्थायी र विभिन्न ठाउँमा २ सय ८५ गरी कुल २ सय ८७ वटा मतदान स्थल कायम गरिएको छ । त्यसैगरी दुई अस्थायी र ७ सय ६६ स्थायी गरी कुल ७ सय ६८ वटा मतदान केन्द्र रहेको कार्यालय प्रमुख नेपालले बताए । आगामी निर्वाचनमा सुरक्षाको दृष्टिले झापाका मतदान स्थललाई तीन किसिममा वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । उहाँका अनुसार २ सय ७१ वटालाई अति संवेदनशील ३ सय ८१ वटालाई संवेदनशील र १ सय १४ मतदान स्थललाई सुरक्षाको दृष्टिले सामान्य रूपमा वर्गीकरण गरिएको छ । सुरक्षाका दृष्टिले अति संवेदनशील, संवेदनशील तथा समान्य अवस्थाअनुसार सुरक्षकर्मी परिचालन हुने छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा योजनाअन्तर्गत नै संयुक्त रूपमा परिचालन गरिने भएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।
७ सय ६८ मतदान केन्द्रमा ७ सय ६८ जना मतदान अधिकृत र त्यती नै संख्यामा सहायक मतदान अधिकृत तोकीएको र उनीहरु सवै कार्यक्षेत्र पुगेको बताइएको छ । यसैगरी प्रत्येक मतदान केन्द्रमा ५÷५ गरी ७ सय ६८ मतदान केन्द्रमा ३ हजार ८ सय ४० जना सहायक कर्मचारीको व्यवस्था गरिएको छ भने प्रत्येक मतदान केन्द्रमा ४÷४ गरी २ हजार ९ सय ५२ जना स्वयम् सेवक र ७ सय ६८ मतदान केन्द्रमा १÷१ गरी ७ सय ६८ जना कार्यालय सहयोगीको व्यवस्थापन गरिएको छ ।
जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवक र कार्यालय सहयोगी गरु िकुल ९ हजार ९६ जना कर्मचारी परिचालन गरिएको कार्यालयले जनाएको छ । ‘निर्वाचनको तयारी सवै पुरा भएको छ’ कार्यालय प्रमुख नेपालले मेरो मेचीनगर डट कमसँग भन्नुभयो—‘शुक्रबार दिउसो २ बजेभित्रमा मतदान केन्द्रका सवै संरचना निर्माण हुन्छन् । शनिवार बाकी काम अघि बढ्छन् र आइतबार निर्वाचन हुन्छ । ’ विहान ७ देखि साँझ ५ बजेसम्म निर्वाचन हुने र राति ११ देखि मध्यरातको १२ बजेसम्ममा सवै मतदान केन्द्रका मतपेटिका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसक्ने र तत्काल सवैपक्षको बैठक बसेर रातिदेखिनै अधिकाँश क्षेत्रका मतगणना शुरु गरीने योजना रहेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।
जिल्ला सुरक्षा समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिएको छ । निर्वाचनलाई स्वच्छ,भयरहित बनाउनका लागि सुरक्षामा कुनै कमी नहुने समितिको भनाई छ । सुरक्षा संवेदनशीलताका आधारमा नेपाल प्रहरी, सशस्त्र प्रहरीसँगै नेपाली सेनालाई समेत परिचालन गरिएको छ । मतदान स्थल पुगेका कर्मचारीहरुले मतदान स्थललाई सिल गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र तोकिएको सूचना प्रकाशन गर्ने लगायतका काम गरिरहेका छन् ।
सुरक्षा स्रोतका अनुसार पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरीसँगै तेस्रो घेरामा नेपाली सेनालाई समेत परिचालन गरिएको छ । जिल्लामा निर्वाचनकालागि सुरक्षा सर्तकता उच्च बनाएकाले ढुक्क भएर मतदान गर्न मतदातालाई सुरक्षा समितिको आग्रह छ ।

Facebook Comments Box