माओवादी केन्द्रको प्रदेश १ मा त्रिपक्षीय भिडन्त, को को छन आकांक्षी ?

    दमक, २६ मंसिर/   नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रदेश १ को प्रथम अधिवेशनमा मुख्य पदकालागि ३ जनाको प्रतिष्पर्धा हुने भएको छ । प्रदेश १ माओेवादीको अध्यक्षका लागि सुरेशकुमार राई (हिमाल), हेमराज भण्डारी र ईन्द्रबहादुर आङ्बोले आकांक्षा राखेको र तीनजनाविच प्रतिष्पर्धा हुने पार्टीले जनाएको छ । प्रदेश १ समिति २५९ सदस्यीय हुने समितिले पदाधिकारी चयन गर्नेछ ।

प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछ । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।

पार्टी विधानअनुसार अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ ।

मोरङको विराटचोकमा सुरू भएको अधिवेशनको बन्दसत्र शुरु भएको छ । बन्दसत्रमा छलफलका लागि राजनीतिक तथा सांठनिक प्रतिवेदन र इन्द्रबहादुर आङ्बोले प्रस्तुत गरेको प्रदेश १ को अर्थ(राजनैतिक अवस्था र हाम्रो दायित्व शीर्षकको आर्थिक प्रतिवेदनमाथि छलफल शुरु भएको छ ।

सांगठनिक र राजनीतिक प्रतिवेदन प्रदेश समितिको तर्फबाट अध्यक्ष सुरेशकुमार राई (हिमाल)ले प्रस्तुत गरेका हुन् । दुवै प्रस्तावमाथि प्रदेशका १४ जिल्ला तथा विराटनगर महानगर गरि १५ समूहमा प्रतिनिधिहरूलाई विभाजन गरि छलफल भइरहेको छ । समूहगत छलफलको लागि दुई घण्टाको समय दिईएको छ । छलफलपछि टोली नेताले अधिवेशनमा रिपोर्टिङ गर्नेछन् । रिपोर्टिङ पछि प्रतिवेदन प्रस्तोताले जवाफ दिने र प्रतिवेदन पारित गर्ने कार्यसूचि छ । त्यसपछि दिउँदो नेतृत्व चयनको प्रक्रिया सुरू हुने जनाईएको छ ।

अधिवेशनमा प्रदेशभरीका प्रतिनिधि र पर्यवेक्षक गरि झण्डै १५ सय सहभागी छन् । माओवादीले देशभरका ७ वटा भूगोल प्रदेश समिति र २ विभागीय प्रदेश समितिको अधिवेशन आज एकैदिन गरेको हो । अधिवेशनलाई भर्चुअल माध्यमबाट पार्टी अध्यक्ष प्रचण्डले उद्घाटन र सम्बोधन गरेका थिए ।

आइतबार, २६ मंसिर, २०७८, बिहानको ०८:१७ बजे

सम्बन्धित खवर