अझै खुल्नसकेन सेजलको मृत्युको कारण

बैकल्पिक खवर

इलाम देउमाई नगरपालिका –४का सरोज कोइराला गत बिहीबार झापाको दमक छोरी लिन जाने तयारीमा थिए । दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत छोरी सेजल कोइरालाले निषेधाज्ञाको कारण घर आउँछु भनेपछि छोरी लिनजाने भनेर पाससमेत बनाए ।

तर, बुधबार साँझ लाइफलाइन हस्पिटलबाट गएको फोनले कोइरालाको होस नै हरायो । “३ दिन अघि छोरीसँग कुरा भएको थियो बिहिबार लिन आउँछु भनेकाले सोही अनुसार लिन जाने तयारीमा थिए” कोइरालाले भने, “बुधबार साँझ हस्पिटबाट छोरीको मृत्यु भयो भन्ने फोन आयो ।” फोन आएपछि सोही दिन राती ११ बजे दमक पुगेको कोइरालाले बताए ।

मृतक सेजल कोइराला ।

बुधबार साँझ सेजल दमक– ५ स्थित डेरा बसेको घरको बाथरुममा बोहोस अवस्थामा फेला परेकी थिइन् । सेजललाई साथीहरुले उपचारका लागि लाइफलाइन अस्पताल पु¥याए लगत्तै अस्पतालले मृत्यु घोषणा गरेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताए । “अस्पताल लानु अघि नै या अस्पताल पु¥याएपछि मृत्यु भयो भन्ने कुरा पोस्टमार्टम रिपोर्ट आएपछि मात्र थाहा हुन्छ” डिएसपी कार्कीले भने ।

सोमबार (भोली)सम्म पोस्टमार्टम रिपोर्ट आइपुग्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । “सबै रिपोर्ट आउन भने दुईचार दिन लाग्न सक्छ ।” घटनामा संलग्न हुन सक्ने शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको डिएसपी थापाले जानकारी दिएका छन् । मृत्यु रहस्यमय भएको भन्दै प्रहरीमा जाहेरी दिएको सेजलका बुबा सरोज कोइरालाले बताएका छन् ।

आइतबार, ३० जेठ, २०७८, दिउँसोको ०४:१५ बजे

सम्बन्धित खवर