आज गुरु पूर्णिमा

ॐ असतो मा सद्गमय ।
तमसो मा ज्योतिर्गमय ।
मृत्योर्मा अमृतं गमय ।
ॐ शान्ति: शान्ति: शान्ति: ॥

अर्थात्

“हे भगवान् ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देऊ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।”

यो संसारमा शान्ति होस्, आदि दैविक शान्ति होस्, आदि भौतिक शान्ति होस् र आध्यात्मिक शान्ति होस् ।

उपनिषदबाट साभार गरिएको उपरोक्त मन्त्रको अर्थले नै ज्ञान रुपी उज्यालो र त्यसको महत्त्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र त्यसको मानव जीवनसँग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे हामी जुनसुकै धर्म या सम्प्रदायको भए पनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठुलो महत्त्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।

गुरु पूर्णिमा को पृष्ठभूमि
अषाढशुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ। यस दिन गुरुका रूपमा ज्ञानको पूजा गर्ने गरिन्छ। गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरु पूर्णिमा मनाउने गरिन्छ।

“गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:”

अर्थात्

“गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान् शंकर हुन्,
गुरु नै हुन् साक्षात् परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु ।”

आफूलाई पढाउने सर, मिस, दाइ, दिदी लगायत सबैलाई एकफेर नमन गरौँ, सम्झना गरौँ । असल गुरु र असल शिष्य दुवै बन्न सक्नुहोला गुरु पूर्णिमाको शुभकामना !

बुधबार, २९ असार, २०७९, बिहानको ०७:३२ बजे

सम्बन्धित खवर