श्वेतपत्र पूर्वाग्रही ढंगले आएको होइन, तथ्याङ्क गलत भए जिम्मा लिन्छु : अर्थमन्त्री शर्मा

२८ श्रावण, काठमाडौँ / अर्थमन्त्री जनार्दन शर्माले देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा देशको अर्थतन्त्रको वास्तविक चित्र पेश गरेको र कतै आग्रह पूर्वाग्रह नराखिएको बताएका छन् ।राष्ट्रियसभाको बिहीबारको बैठकमा देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा वक्तव्य दिँदै उनले आफूले पेश गरेको तथ्याङ्क गलत भए त्यसको जिम्मा लिन आफू तयार रहेको बताए ।
मन्त्री शर्माले सरकारले संसद्‍मा पेश गरेको बजेटसम्बन्धी अध्यादेशहरू संशोधन र प्रतिस्थापनको निर्णय संसद्‍मा आएर मात्र हुने धारणा राखे । देशको वर्तमान आर्थिक अवस्थाका सम्बन्धमा ल्याइएको श्वेतपत्र पूर्वाग्रही ढंगले आएको भन्दै एमाले सांसदहरूले राष्ट्रियसभा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका थिए ।
अर्थमन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउन बाँकी सबै नेपाली नागरिकलाई छिट्टै खोप प्रदान बताए । उनले पहिलो मात्रा खोप लगाइसकेका करिब १३ लाख नागरिक लामो समयदेखि दोस्रो खोपको पर्खाइमा रहेको जानकारी दिए ।
त्यसैगरी उनले विद्युत् उत्पादन, व्यापार तथा आन्तरिक खपत बढाएर उत्पादनशील क्षेत्रलाई प्रवर्द्धन गर्दै आयात–निर्यातबीचको खाडल कम गर्नेतर्फ सरकारले जोड दिने बताए ।
अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए । आर्थिक वर्ष २०७७/७८ मा कुल राजस्व ९ खर्ब ३८ अर्ब संकलन भएकोमा, संघीय राजस्व ८ खर्ब २९ अर्ब संकलन भएको अर्थमन्त्री शर्माले बताए ।
बैठकले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस” भन्ने प्रस्ताव स्वीकृत गरेको छ । त्यस्तै “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस” भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । त्यस्तै लोक सेवा आयोग विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले प्रस्तुत गरेको “विद्युत विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस” भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ । राष्ट्रियसभाको अर्को बैठक भाद्र १ गते बोलाइएको छ ।

शुक्रबार, २९ साउन, २०७८, दिउँसोको १२:२१ बजे

सम्बन्धित खवर