फिदिममा सात वर्षमा साढे ३९ करोड खर्च, निर्माण सुस्त

पाँचथर, २८ भदौ /  पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म करिब साढे ३९ करोड रुपैयाँ खर्च भएको छ।

नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म ३९ करोड ४५ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ। पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० सहरमध्ये एक नम्बरमा नयाँ सहरका रुपमा विकास गर्ने योजनाका साथ आर्थिक वर्ष २०७१/७२ देखि पूर्वाधार निर्माण भइरहेकामा उक्त परिमाणमा खर्च भएको हो। उक्त रकम जग्गा खरिद, सडक, बसपार्क, उद्यान, फोहोर व्यवस्थापन स्थान, भवनलगायतको निर्माणमा खर्च भएको नयाँ सहर आयोजना कार्यालयले जनाएको छ।

आर्थिक वर्ष २०७२/७३ मा फिदिममा आयोजना कार्यालय स्थापना भएपछि १७ किलोमिटर सडकको ट्रयाक कार्य सम्पन्न भएको छ भने ९.९४ किलोमिटर सडक ग्रावेल निर्माण भएको छ। यस्तै‚ दुई किलोमिटर सडकको कालोपत्रे तथा १.३२ किलोमिटर सडक ढलान कार्य सम्पन्न भएको नयाँ सहर आयोजना कार्यालय फिदिमका प्रमुख विश्वराम प्रजापतिले जानकारी दिए। गत आर्थिक वर्षमा ३.४३ सहित हालसम्म कार्यालयले कुल २० किलोमिटर नाला तथा ढल निर्माण कार्य सम्पन्न गरेको छ। कार्यालयका लागि दुई वटा भवन निर्माण पूरा हुनका साथै कार्यालयबाट फिदिम नगरपालिका–२ पल्लोटारमा नौ रोपनी क्षेत्रफलमा बसपार्क निर्माण पूरा भएको उनले जानकारी दिए।

बहुवर्षीय योजनाका रुपमा कार्यालयले फिदिम–४ गणेशमान उद्यान र फिदिम–१४ मा सुकेपोखरी व्यवस्थापन तथा उद्यान निर्माण थालेको छ। यस्तै‚ व्यवस्थित बसोबास निर्माणका लागि ९९ रोपनी जमिनको जग्गा एकीकरण गर्ने कार्यसमेत पूरा भएको छ। फिदिम–२ नेपालटारमा १०८ कित्तामा रहेको एकीकृत जग्गालाई सडक, विद्युत् तथा खानेपानीलगायतका संरचनाले युक्त बनाई जग्गा जग्गाधनीलाई फिर्ता गर्न थालिएको प्रजापतिले जानकारी दिए। उक्त जग्गा १०० जना जग्गाधनीको हो। यहाँ सात कार्यालयको भवन निर्माणका लागिसमेत जग्गा प्राप्त भएको छ। यस्तै ६३ रोपनी क्षेत्रफलमा फैलिएको फिदिम–५ स्थित रंगशाला निर्माणका लागि प्रक्रिया अगाडि बढाइनुका साथै ५२ रोपनी क्षेत्रफलमा रहेको फोहोर व्यवस्थापन स्थानमा समेत संरचना निर्माण गर्ने कार्यलाई सो कार्यालयले क्रमशः अगाडि बढाएको छ।

सोमबार, २८ भदौ, २०७८, बिहानको ११:१६ बजे

सम्बन्धित खवर