एमालेमा मान न मनितो भएको भिम रावलको गुनासो, एमाले छाड्न सक्ने संकेत

२८ भाद्र  /  नेकपा एमालेका उपाध्यक्ष भीम रावलले आफू निकट नेताहरूलाई १० बुँदे सहमति कार्यान्वयन नभए एमालेमा नरहने अवस्था आउनसक्ने संकेत गरेका छन् । आइतबार बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्ज लेखराज भट्ट भएको बताएपछि रावलले १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएका कारण पार्टीबाट बाहिरिने अवस्था पनि आउनसक्ने बताएका हुन् ।

आइतबार ओली निवास बालकोटबाट फर्किएपछि रावल एमाले दलको बैठकमा समेत गएका थिएनन् । प्रतिनिधिसभा बैठक पछि सिंहदरबारमा आफू निकटका नेता सँग १० बूँट सहमति कार्यान्वयनमा ‌ओली गम्भीर नदेखिएको र आफू यसरी सँगै रहन नसक्ने संकेत गरेका थिए ।

अध्यक्ष ओलीले सुदूरपश्चिममा भट्टलाई इन्चार्ज बनाउन चाहेको भन्दै १० बुँदे कार्यान्वयन नभए एमाले भित्रै रहेकाहरू पनि नरहने आसय व्यक्त गरेको एक नेताले बताए ।

‘लाखौं लाख कार्यकर्ताको रगत र पसिनाको बनाएको पार्टी हो । अन्तिम सम्म अझै प्रयत्न गर्नु पर्छ । जेठ २ मा लैजान र १०बुँदे कार्यान्वयन गर्न नेतृत्व इमान्दार भएर लाग्नु पर्छ,’ भीम रावलले भनेको कुरा उदृत गर्दै झपट रावलले भने, ‘यो हुँदैन भनेर बाहिरिनु भएका साथीहरूलाई पनि आउने वातावरण बन्छ नत्र यहिँभित्र रहेका साथीहरू पनि यहाँ नअट्ने वातावरण बन्छ भन्ने उहाँको बुझाइ छ ।’

छलफलमा दैलेखबाट निर्वाचित राजबहादुर बुढा पनि थिए ।

केहि व्यक्तिहरुको कारणले १० बूँदे र जेठ २ मा जान समस्या भइरहेको बताए। उनले जेठ २ भन्दाअघि सुदूरपश्चिम प्रदेशको संयोजक भीम रावल रहेको भन्दै अब पनि रावलले जिम्मेवारी पाउनु पर्ने बताए ।
२०७७ पुस ५ गतेअघि भीम रावल तत्कालीन नेकपाको सुदूरपश्चिम संयोजक थिए। २०७५ जेठ ३ मा एमाले र माओवादी एकता भएर नेकपा गठन हुनुभन्दा अघि पनि रावल एमाले उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज थिए । पुस ५ पछि नेकपामा फेरिएको समीकरणका कारण भट्ट इन्चार्ज बनेका थिए।

सहमति भएको भनिएको एक महिना नबित्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली १० बुँदे सहमति कार्यान्वयन गर्नबाट पछि हटेका छन् । अध्यक्ष ओली सहमतिबाट पछि हटेपछि एमालेभित्रका तेस्रो धारका केही नेताहरू ‘बिलखबन्द’मा पर्ने निश्चित भएको छ ।

एमालेमा तेस्रो धार भन्नाले माधव नेपाल समूहलाई छाडेर ओलीको पक्षमा आएका युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त लगायतलाई चिनिन्छ ।
तेस्रो धारका एक नेताले भने, ‘ओलीजी जेठ २ लाई कार्यान्वयन गर्न इमान्दार हुनुभयो भने माधव नेपालले नयाँ पार्टी गठन गर्नुको औचित्य समाप्त हुन्छ । तर, ओलीजी पहिलेकै तरिकाले अघि बढ्नुभयो भने माधव नेपालको पार्टीलाई फाइदा पुग्छ र हामी तेस्रो धारका भनिएकाहरूको परीक्षा सुरु हुन्छ ।’

खासगरी सुदूरपश्चिम प्रदेशको सवालमा १० बुँदे सहमति हुबहु कार्यान्वयन गर्न अध्यक्ष ओली तयार नभएपछि विगतमा जस्तै सहमति गर्ने तर कार्यान्वयन नगर्ने पुरानै शैलीलाई निरन्तरता दिन पुगेको एमालेभित्र टिप्पणी हुन थालेको छ ।

सोमबार, २८ भदौ, २०७८, बिहानको ११:४१ बजे

सम्बन्धित खवर