प्रदेश १ र बागमतीमा नयाँ मुख्यमन्त्री को को ?

दमक, २८ भाद्र /  प्रदेश १ र बागमती दुबैको मुख्यमन्त्रीमा एकीकृत समाजवादीले दाबी गरेको छ । सत्तारुढ गठबन्धनका नेताहरुका अनुसार प्रदेश १ मा एकीकृत समाजवादीलाई नै मुख्यमन्त्री दिने मोटामोटी सहमति भएको छ ।

त्यसो भएमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री बन्नेछन् । एकीकृत समाजवादीकी सांसद सावित्राकुमारी रेग्मी भन्छिन्, ‘औपचारिक त केही भएको छैन । तर अनौपचारिक सहमति हामीले सरकारको नेतृत्व लिने भन्ने हो ।

कांग्रेस सांसद हिमाल कार्की पनि केन्द्रको निर्णय अनुसार नयाँ सरकार बन्ने बताउँछन् ।

‘एमालेपछि हामी ठूलो पार्टी हो । सरकारको नेतृत्व गर्न पाए हुन्थ्यो भन्ने लाग्नु स्वाभाविक हो’ उनले अनलाइनखबरसँग भने, ‘तर, हामी केन्द्रले जे निर्णय गर्छ, त्यसअनुसार नयाँ सरकार बनाउँछौं ।’

उनका अनुसार नयाँ सरकार गठनबारे भोलि मंगलबारदेखि दलहरुबीच छलफल हुनेछ र, गठबन्धनका तर्फबाट मुख्यमन्त्री आचार्यलाई नैतिकताको आधारमा राजीनामा माग गर्ने सम्भावना छ । ‘राजीनामा नदिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ’ उनले भने, ‘राजीनामा नदिए ३० दिन कुर्ने कि अविश्वास प्रस्ताव लैजाने भनेर गठबन्धनमा छलफल गरेर निष्कर्षमा पुग्छौं ।’

बागमतीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले मुख्यमन्त्री दाबी गरेका छन् ।

६ वटा प्रदेश सरकारमा तीन दलको २-२ भाग लाग्नुपर्ने उनको तर्क छ । हाल कांग्रेसले गण्डकी प्रदेशमा सरकारको नेतृत्व गरेको छ भने दशैंपछि कर्णालीमा माओवादी केन्द्रले कांग्रेसलाई सरकारको नेतृत्व छाड्दैछ । त्यसो गर्दा सुदूरपश्चिम र लुम्बिनीमा माओवादीको नेतृत्वमा गठबन्धन सरकार कायमै रहनेछ ।

तर कांग्रेसले भने बागमतीको मुख्यमन्त्री आफूले पाउनुपर्ने दाबी गरेको छ । माओवादी केन्द्र, संसदीय दलका नेता शालिकराम जम्कट्टेल भन्छन् ‘यसै गर्ने भन्ने टुंगोमा पुगिसकेका छैनौं ।’ यद्यपि मुख्यमन्त्री शाक्य विश्वासको मत लिन आए नदिने, नआए अविश्वासको प्रस्ताव दर्ता गरेर हटाउन एकमत रहेको उनले बताए ।

सोमबार, २८ भदौ, २०७८, रातीको ०९:१९ बजे

सम्बन्धित खवर