दमक, २८ भाद्र / प्रदेश १ मा ९३ सांसद छन् । विभाजनअघि एमालेको एकल बहुमत अर्थात ५१ प्रदेशसभा सदस्य थिए । १० जना सांसद एकीकृत समाजवादी रोजेसँगै एमालेले बहुमत गुमाएको छ र उसको सांसद संख्या ४१ मा झरेको छ ।
केन्द्र सरकारमा गठबन्धन गरेको कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिल्दा प्रदेश १ मा प्रष्ट बहुमत पुग्छ । बहुमतका लागि ४७ सांसद चाहिन्छ । कांग्रेससँग २१, माओवादीसँग १५, एकीकृत समाजवादीसँग १०, जसपासँग ३ सांसद छन् ।
प्रदेशसभामा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक–एक सांसद छन् ।
यस्तै १०९ सदस्यीय बागमती प्रदेशमा बहुमत जुटाउन ५५ सांसदको समर्थन चाहिन्छ । विभाजनअघि एमालेको टुप्लुक्क बहुमत अर्थात ५५ सांसद थिए । पार्टी विभाजनसँगै १३ सांसदले एकीकृत समाजवादी रोजेपछि बहुमत गुमेको छ । एमालेको सांसद ४२ मात्र कायम भएको छ ।
माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी मिल्दा प्रष्ट बहुमत हुन्छ । किनकी माओवादी केन्द्रका २३, कांग्रेसका २२ र एकीकृत समाजवादीका १३ सांसद छन् । विवेकशील साझाका तीन, नेपाल मजदुर किसान पार्टी र राप्रपाका दुई-दुई र एक स्वतन्त्र सांसद छन् ।