साक्य र आचार्यलाई विश्वासको मत लिन फलामको चिउरा,  दशैंअघि नै पदमुक्त

२८ भदौ, काठमाडौं /  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी साक्य र प्रदेश १ का मुख्यमन्त्री भिम आचार्यलाई विश्वासको मत लिन फलामको चिउरा सरह भएको छ । नेकपा एकीकृत समाजवादी, प्रदेश १ संसदीय दलले सोमबार मुख्यमन्त्री भीम आचार्य नेतृत्वको सरकारलाई समर्थन नभएको जानकारी गराएको छ ।

नेकपा एमाले विभाजित हुँदा १० सांसदले एकीकृत समाजवादी रोजेका थिए । निर्वाचन आयोगले कानूनी मान्यता दिएपछि उनीहरुले राजेन्द्रकुमार राईलाई दल नेता चयन गरे भने सरकारलाई आजकै मिति अर्थात २८ भदौबाट समर्थन नभएको जानकारी गराएको छ ।

प्रदेशसभा सचिव गोपाल पराजुली भन्छन्, ‘उहाँहरुको चिठीको प्रतिलिपी आजै मुख्यमन्त्री र प्रदेश प्रमुखको कार्यालयलाई जानकारी गराएका छौं । अब मुख्यमन्त्रीले विश्वासको मत लिन प्रदेशसभा अधिवेशन बोलाउन सिफारिस गर्नुहोला ।’ अर्थात ३० दिनभित्र मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

र राष्ट्रिय राजनीतिमा उथलपुथल नभए मुख्यमन्त्री आचार्यले विश्वासको मत पाउने छैनन् । उनी अबको ३० दिन अर्थात २६ असोज (वडादशैंको फूलपाती) अगाडि नै मुख्यमन्त्री पदबाट पदमुक्त हुनेछन् ।

यही अवस्था छ, बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको । एमाले विभाजित हुँदा १३ सांसदले एकीकृत समाजवादी रोजेका थिए । नयाँ दलले २७ भदौमा मुख्यमन्त्री शाक्यलाई समर्थन नभएको जानकारी गराएको प्रदेशसभा सचिव कृष्णहरि खड्काले बताए । अब उनले पनि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

राष्ट्रिय राजनीतिमा कुनै उथलपुथल नभए प्रदेश १ का मुख्यमन्त्री आचार्यले जस्तै मुख्यमन्त्री शाक्यले पनि विश्वासको मत पाउने छैनन् ।

जसलाई छाड्दा मुख्यमन्त्री भए, उसकै कारण पद चट्

अष्टलक्ष्मी र भीम दुबै नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट निर्वाचित भएका थिए । त्यतिबेला शाक्य उपाध्यक्ष र आचार्य सचिव चुनिएका थिए । मुख्यमन्त्री बन्ने योजनाका साथ दुबै जना २०७४ को आम चुनावमा प्रदेशमा झरे । माओवादी केन्द्रसँग चुनावी तालमेल गरेको एमालेले प्रदेश १ र ३ दुबैमा एकल बहुमत ल्यायो ।

दुई दलबीच मुख्यमन्त्री भागवण्डा गर्दा प्रदेश १ र बाग्मतीसँगै गण्डकी र लुम्बिनीमा प्रदेश सरकारको नेतृत्व एमालकै भागमा पर्‍यो । पार्टी अध्यक्ष ओली पक्षको बाहुल्य रहेको गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ र लुम्बिनी प्रदेशमा शंकर पोखरेल सर्वसम्मत रुपमा मुख्यमन्त्री बने । तर १ र बाग्मती प्रदेशमा दलको नेता चयनका लागि चुनाव भयो । शाक्य, डोरमणि पौडेल र आचार्य, शेरधन राईसँग पराजित भए । अर्थात माधवकुमार नेपाल समूहमा भएकै कारण उनीहरुले मुख्यमन्त्री बन्ने अवसर गुमाए ।

एमाले र माओवादीबीच ३ जेठ २०७५ मा एकता भयो, फेरि २३ फागुनको सर्वोच्च अदालतको एक फैसलापछि अलग पनि भए । एमाले पुनर्स्थापना भएपछि अध्यक्ष ओली एकपक्षीय रुपमा अघि बढे । उपाध्यक्ष शाक्य र सचिव आचार्य, नेपाल समूहले थालेको सामान्नातर गतिविधिमा सक्रिय रहे ।

तर जब माधव नेपालले नयाँ दल बनाउने निर्णय लिए, दुबैले साथ छाडेर एमालेमै बस्ने निर्णय लिए । शाक्य २ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री बनिन् भने आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री भए ।

निर्वाचन आयोगले माधव नेपालको नयाँ पार्टी एकीकृत समाजवादीलाई ९ भदौमा वैधानिकता दियो भने प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २२ भदौसम्म समय तोक्यो । एकीकृत समाजवादीले आफ्नो दलमा आए शाक्य र आचार्य दुबैलाई मुख्यमन्त्रीमा निरन्तरता दिने बताएको थियो । तर उनीहरु एमालेमै बसे । अब माधव नेपाल नेतृत्वको दलकै कारण उनीहरुको मुख्यमन्त्री पद जाने भएको छ ।

सोमबार, २८ भदौ, २०७८, रातीको ०९:३८ बजे

सम्बन्धित खवर