देउवा ओली र प्रचण्डलाई भेटे चिनियाँ नेता चान्शुले

नेपाल भ्रमणमा आएका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले एमाले र माओवादी केन्द्रका नेताहरूसँगको छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । भेटवार्तामा उनले एक चीन नीतिमा बलियो प्रतिबद्धता खोजेका छन्।
मंगलबार लीले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। भेटमा उनले अमेरिकी सहायता परियोजना एमसिसी अनुमोदनपछि अमेरिकाको सक्रियताबारे चासो राखेको दुवै दलका नेताहरूले बताएका छन्।
लीसँगको छलफलमा उपस्थित एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यका अनुसार चीन र नेपालका सम्बन्धलाई कुनै पनि शक्ति राष्ट्रको आडमा असर पुग्न दिन नहुने धारणा लीले राखेका थिए।

लीले एक चीन नीतिमा बलियो प्रतिबद्धता खोजेको शाक्यले बताइन्। अध्यक्ष ओलीले चीनसँग बन्द रहेको नाका खुलाउन पहल गरिदिन आग्रह गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटमा लीले नेपालमा चीन विरोधी गतिविधि बढिरहेकोप्रति चिन्ता व्यक्त गरेको माओवादी उपाध्यक्ष हरिबोल गजुरेलले बताए।

भेटमा प्रचण्डले भनेको कुरा उद्धृत गर्दै गजुरेलले भने, ‘चीनको सुरक्षा संवेदनशीलताका बारेमा हामी सजग छौँ। नेपालको भूमिबाट चिनियाँ विरोधी गतिविधि हुन दिने छैनौँ।’

नेपालको पूर्वाधारसहित समग्र विकासको क्षेत्रमा चिनियाँ सहयोगबाट काम गर्न आफूहरू तयार रहेको प्रचण्डले बताएका छन्। उनले एक चीन नीतिबारे आफ्नो दल प्रतिबद्ध रहेको बताए।

प्रचण्डले चीनसँगको नेपाल बढ्दो व्यापार घाटालाई कम गर्न सहयोगको आग्रह गरेको माओवादी सचिव राम कार्कीले बताए। लीले मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । ली बुधवार राष्ट्रपतिसँग भेट गरेर उनी बिहीबार स्वदेश फर्किने छन्।

मङ्गलबार, २८ भदौ, २०७९, साँझको ०७:१६ बजे

सम्बन्धित खवर