कुन जातिको दशैं कस्तो ?

विमल लामिछाने

किराती दशैंको कोशेली – सुँगुरको ढाडे, फिला, अचारे पेरुंगा, सेलरोटी र कठुवामा रक्सी –
सन्थाल दसैंमा नाचको चटारो –समुदायमा अन्तरजाति विवाहले भित्रियो दशैंको टीका –
चेपाङ समुदायको दशैं –वनकेराको पातको दुना र टपरीमा खाना, चिउरीको बिरुवा दाइजो –
थारूको दशैंमा पिठोको टीका – पहिरन र परिकार पनि सेतै –
मुसलमानको दशैं –मन्त्रोच्चारण गरी हलाल गरिएको मासु समूहमा खाने परम्परा –

    ===================

दशैंमा सन्थाल समुदाय
आदिवासी सन्थाल (सतार) जातिलाई दशाँए एनेका अर्थात दसैं नाचको चटारो छ अहिले । यो समुदायले दसैंलाई यसरी नै मनाउँछ । टोल–टोलमा बजारमा वाद्यवादनसहित नाच्न व्यस्त हुन्छन् । झापाका गौरादह, लखनपुर, कोहबरा, बैगुनधुरा, कोरोबारी, गरामनीलगायत सन्थालका उच्च बसोबास भएका क्षेत्रमा यो पर्व धुमधामसँग मनाउँछन् । पञ्चमीदेखि पूर्णिमासम्म नाच्ने चलन छ । दशाँएमा उनीहरू सामूहिक नृत्य गर्छन् । एक समूहमा २० देखि १ सय २० जनासम्म नर्तक सहभागी हुन्छन् । महिलालाई नृत्यमा सहभागी गराइँदैन । ‘तर, उनीहरू नर्तकलाई हौसला प्रदान गर्छन् ।
‘नृत्यमा शक्ति प्रदर्शन र वीरगाथा गाउने हुनाले पुरुष मात्रै सहभागी भएको तर्क उनीहरुको छ ।’ सन्थालहरू लामो बाँसमा मयूरको प्वाँख बाँधिएको आलम अगाडि उभ्याउँछन् र तुम्दा, तामाक, कुरताल, दारामजस्ता बाजा बजाउँदै नाच्छन् । सन्थालहरू मयूरको प्वाँखलाई सद्भाव र विजयको प्रतीकका रूपमा लिन्छन् । नर्तकहरूले शिरमा फेटासित मयूरको प्वाँख सिउरिन्छन् । सन्थाल समुदायका सांसद मोहन टुडुका अनुसार पहाडी समुदायको तीजमा झैं उनीहरू दसैंमा चेलीबेटी बोलाएर मीठो मसिनो खुवाउँछन् । दुर्गाको पूजा गर्छन् । टीकाचाहिँ लगाउँदैनन् । टुडु भन्छन्, ‘हिजोआज त टीका लगाउने चलन पनि भित्रिँदै गएको छ, धेरैले लाउन थाले ।’ खासगरी पहाडी समुदायसँग अन्तरजातीय बिहे गर्नेहरूले दसैंमा टीका लगाउने चलन भित्र्याइरहेको उनी बताउँछन् ।
झापा र मोरङमा बसोबास गर्ने अन्य आदिवासी समुदाय पनि दसैं मनाउँछन् । उनीहरूको मान्ने परम्परा भने भिन्न छ । लोपोन्मुख आदिवासी खडिया समुदायले दसैंलाई सामान्य चाडका रूपमा मात्रै मान्छ । कुल पूजा गर्ने, मीठो मसिनो खाने चलन यो समुदायमा छ ।
पहाडी समुदायले भन्दा विलकुल भिन्न शैलीमा दसैं मनाउँछन् अर्काे आदिवासी मुन्डा समुदायका मानिसले । कुलपूजा गर्ने, मीठो मसिनो खाने, पाहुनापात आउजाउ गर्ने चलन छ यो समुदायमा । सादरीभाषीअन्तर्गत गर्ने मुन्डा, उराव, किसान, खडिया, मालपाडे, घासी, ग्वाल, बिर्जा, करुवा, रौतियालगायत जातिको दसैं मनाउने तौरतरिका मिल्दोजुल्दो छ । पहाडीसमुदाय तिहारको औंसीलाई विशेष रूपमा मनाउँछन् । उनीहरू पूर्णिमालाई विशेष चाड ठान्छन् । ‘सादरी भाषीको दसैं मनाउने शैली अन्यभन्दा फरक छ ।’

लोपोन्मुख चेपाङ समुदायको दशैं
लोपोन्मुख चेपाङ समुदायले फरक किसिमले दसैं मनाउँछन् । घटस्थापनाका दिन वनकेराको पात घरमा भित्र्याउँछन् । फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म वनकेराको पातको दुना र टपरीमा खाना खान्छन् । दसैंमा समुदायका नयाँ दम्पती ससुरालीमा टीका लगाउन जाँदा सुँगुरको एउटा फिला, चार पाथी चामल, एक घैंटो लोकल मदिरा, एक घरी केरा र लोकल कुखुराको मासु बोकेर जानुपर्छ भन्ने चलन छ । विवाह गरेको तीन वर्षसम्म टीका लगाउन जाँदा ती सामानहरू बोकेर लैजानुपर्छ । विवाह गरेको तीन वर्षसम्म लगातार छोरीज्वाइँ टीका लगाउन जानै पर्छ । चौथो वर्ष टीका लगाउन जाँदा छोरीको घर पक्का भो भनेर बाबुआमाले छोरीलाई चिउरीको बिरुवा दाइजो दिने गर्छन् ।

थारूको दशैंमा पिठोको टीका
दसैंलाई थारूहरूले कुलदेवतालाई नयाँ अन्न (धान) को ढिक्री तथा कुखुराको बलि चढाउने र पितृलाई सम्झने पर्वका रूपमा मनाउँदै आएका छन् । दहित, टेर्रालगायत थरका थारूमा दसैंको श्राद्ध गर्ने चलन छ । अरू थरका थारूले भने नवमीको बिहान पितृ सम्झने गर्छन् । दसैंको टीकाको दिन चामलको पिठोको टीका बनाएर सेताम्मै हुन्छन् । पछिल्लो समय अरू जातजातिको देखासिखीमा रातो टीका लगाउने चलन बढ्दै गएको छ । सखिया नाच्ने युवतीले सेतो फरिया र रातो चोलिया लगाउँछन् । युवकले भने सेतो धोती र रुचिअनुसारको रंगको कमिज लगाउँछन् । यो नाचमा भगवान् कृष्णको जीवनमा आधारित गीत गाइने चलन छ, ‘कृष्ण भगवान्को जीवनकथामा आधारित गीत नसकिएसम्म नाच पनि सकिँदैन ।’

किराती समुदायको दशैं
एक नम्वर प्रदेशमा बसोबास गर्ने किराती समुदायमा आधासरो किरात राईले हर्षाेल्लासमा दसैं मनाउने गरेका छन् । चाम्लिङ, दुमी, साम्पाङ, थुलुङ, नाछिरिङ, कोयी, बान्तवा, पुमा, वाम्बुलगायतका किरात राईले दसैं मनाउँछन् । दसैंबारे विभिन्न तर्क आए पनि सनातनदेखि मनाउँदै आएकाले सद्भाव, भाइचारा विकास गर्ने पर्वको रूपमा लिनुपर्ने केही किराती अगुवाहरु बताउँछन् । ‘आफन्तसँगको भेटघाट, मान्यजनसँगको टीका र आशीर्वाद ग्रहणले सद्भाव र भाइचाराको सम्बन्ध विकास हुन्छ,’ भन्ने तर्क उनिहरुको छ ।
दसैं मनाउने किरात राईले आफन्तजनसँगको भेटघाटमा सुँगुरको ढाडे, फिला, पेरुंगा, सेलरोटी र कठुवामा रक्सी कोसेली लाने गरेका छन् । दसैं मनाउने किरात राईहरूले पूर्णिमाको दिनसम्म आफन्तसँग भेटघाट गर्नुका साथै टीका ग्रहण गर्ने चलन छ । किरात राईहरूले गहुँको जमरा र गच्छेअनुसारको दक्षिणासहित चामलको टीका ग्रहण गर्छन् । घरघरमा सुँगुर काट्ने, रक्सी पार्ने, भीमसेनको पूजा गर्नेलगायत परम्परा छ ।
पूर्वी नेपालका लिम्वू समुदायले पनि दशैं मनाउँदै आएका छन् । कतिपय युवा पुस्ताले दशैं वहिष्कार गरेपनि दशैं लिम्वू समुदायमा मान्ने चलन हटेको छैन । लिम्वू समुदायमा पनि टिका जमरा नै लगाइन्छ तर पछिल्लो समय यो समुदायले दशैं रित लैजाने चलन छाड्दै गएका छन् । धार्मीक तथा सांस्कृतिक जागरण आएसँगै उनीहरुले दशैंमा ससुरालितर्फ दशैं रित लैजान छाड्दै गएका हुन् । लिम्वू समुदायले दशैंमा टिका लगाउन छाडेपछी पनि दशैं रित लैजाने क्रम घटेको हो । लिम्वू समुदायमा नव– दुलाहा र दुलहीले दशैंमा सुंगुरको नाक र खुट्टामा फूल लगाएर ढाकरमा ठाडोपारी लैजानुका साथै रक्सी र अचारका साथमा दशैं रित लिएर ससुराली तथा माईत जानु पर्ने चलन थियो । यो क्रम विबाह गरेको लगातार तिन बर्षको दशैंमा चल्ने गथ्र्यो । हिजो– आज पहिलो दशैंमा मात्र सामान्य रुपमा दशैं रितमा सिमित भएको छ । ‘दशैं किराती समुदायको चाड हैन भन्ने चेतनाको विकाससँगै लिम्वू समुदायमा दशैं रित पनि हट्दै गएको अग्रजहरु बताउछन् । ‘दशैं हाम्रो चाड हैन भन्ने लिम्वू समुदायको बुझाई रहेको किरात याक्थुम चुन्मलुङका सदस्य तिगेलालृ भने । ‘ त्यसैले दशैंमा टिका लगाउने र दशैं रित लैजाने चलन पनि बिस्तारै हट्दै गएको हो ।’
विशेष गरी २०४६ सालको प्रजातन्त्र बहालीपछी लिम्वू समुदायमा टिका लगाउने र दशैं रित लैजाने चलन बिस्तारै हट्दै गएको र झन गणतन्त्र स्थापना पश्चात त युवा युवतीले समेट टिका लगाउन छाडेका छन ।

मुस्लिम समुदायले पनि मान्छ दसैं
मुस्लिमका घरमा कहिल्यै जमरा राखिँदैन । तर, घटस्थापनाका दिन हिन्दुहरूका घर–घरमा जमरा राखेको हरेकजसो मुसलमानलाई थाहा हुन्छ । अधिकांश मुसलमान बस्तीमा दसैंको अलग्गै रौनक हुन्छ । घटस्थापनाका दिन जमरा राखेसँगै हिन्दुको बस्तीसँग कुम मिलाएर बसेको मुसलमान बस्तीमा पनि दसैंको झल्को सुरु हुने गर्छ । गोरखा, लमजुङ, स्याङ्जा, कास्की, तनहुँ, धादिङ, नुवाकोट, पाल्पा, पर्वत, बागलुङ, म्याग्दी, अर्घाखाँची, दाङ, प्यूठान, गुल्मी, अछाम, बाजुरा, डडेलधुरा, डोटीलगायतका पहाडी जिल्लामा छरिएका मुसलमान बस्तीमा दसैंको बेग्लै खालको रौनक हुन्छ । गोरखा, लमजुङ, स्याङ्जा, कास्की, तनहुँका विभिन्न गाउँको कुरा गर्दा फूलपातीको दिनदेखि नै उमंग सुरु हुन्छ । हिन्दु धर्मावलम्बी बाहुन, क्षेत्री, मगर, नेवार, गुरुङ, दलितसँगै मुसलमान बस्ती पनि जोडिएका छन् । हिन्दु बस्तीमा जस्तै मुसलमान बस्तीमा पनि रोटे र लहरे पिङ राखिएको हुन्छ । दसैं मुसलमानको पर्व होइन । तर, मुसलमान गाउँ पुग्दा उनीहरूले पनि दसैं उल्लासपूर्वक मनाइरहेको देख्दा कतिपयलाई अचम्म लाग्न सक्छ । तर, सयौं वर्षदेखि पहाडी जिल्लामा मुसलमानहरूले पनि दसैंलाई आफ्नै हिसाबले उल्लासपूर्वक लिने गरेका छन् । मुसलमानले मासु नखाने होइनन् । तर, मन्त्रोच्चारण गरी हलाल गरिएको जनावरको मासु खाने परम्परा छ । त्यही भएर दसैंकै आसपासमा मुसलमानले पनि हलाल गरिएको मासु खान्छन् । राँगो, खसी, बोकाको मासु काटेर समूहमा खाने गरिन्छ । वर्षाैंदेखि सँगै जोडिएर बसेका मुसलमानले हिन्दु समुदायबीच शुभकामना साटासाट गर्छन् । हिन्दु–मुसलमान सँगसँगै मिलेर बस्दाको मिठासपन नै यही हो । हिन्दुको पर्वमा हिन्दु मात्र होइन, मुसलमान पनि रमाउँछन् । मुसलमानको पर्वमा हिन्दु पनि रमाउँछन् । टीका (विजया दशमी) का दिन हिन्दु र मुसलमान बस्तीका पिङमा जहिल्यै होलो हुन्छ । त्यसैले टीका नलगाइन्जेलसम्म अधिकांश पिङमा मुसलमानको मात्र घुइँचो हुन्छ । मुसलमानले टीका लगाउँदैनन् । तर, दसैंका बेला टीकाबाहेक रमाइलो गर्न मुसलमानले केही पनि बाँकी राख्दैनन् ।

 

बुधबार, २७ असोज, २०७८, बिहानको ०९:०३ बजे

सम्बन्धित खवर