लोप हुँदै चर्खे रोटे पिङ

दमक /  गाउँमा युवा भेला भएर खुल्ला ठाउँ खोजी पिङ हाल्ने र रमाइलो गर्ने समय क्रमशः टाढा हुँदै गएको छ । दशैं पर्व सुरु हुनु महिना दिनअघिदेखि नै गाउँघरमा बाबियो, काठ काट्न भ्याईनभ्याई हुन्थ्यो । पिङ तयार पार्न खरबारी, जङ्गलमा बाबियो काट्ने, काठ तयार पार्ने, बोक्नेको चहलपहलले दशैंको रौनकता छाउँथ्यो ।
अहिले भने परम्परागत पिङ बनाउने र खेल्नेको उत्साह नहुँदा संस्कृति नै हराउँदै गएको छ । आधुनिक प्रविधिको प्रयोग र सुखसुविधाले पुराना संस्कृति नै हराउँदै जान थालेका छन् ।
गाउँमा सबै जुटेर पिङ राख्ने चलन रहेको बूढापाका बताउँछन् । हिजोआज परम्परादेखि नै आएको रोटे चर्खे, लिङ्गेजस्ता पिङ लोप हुँदै गएका छन् । यद्यपि चर्खे पिङको तुलनामा लिङ्गे पिङ भने पूर्णरूपमा विस्थापित भइसकेको छैन । लिङ्गे पिङ पहिलेजसो बाक्लो मात्रामा भने भेटिँदैन ।
चर्खे पिङ खर्चिलो र निर्माणका लागि धेरै जनशक्ति आवश्यक पर्ने हुँदा पनि अहिले यहाँबाट हट्दै गएको हो । एक पटकमा धेरै जनासम्म खेल्न सकिने हुँदा पिङ खेलेर मनोरञ्जन लिन सकिन्थ्यो ।
पिङ राख्न थालेपछि दशैंको माहोल सुरु हुन्थ्यो । चर्खे पिङ नराखेसम्म गाउँघरमा चाडपर्वको रौनक नै नहुने गरेको अग्रजहरु बताउँछन् । ‘गाउँघरमा पिङ राखेपछि बल्ल दशैं लाग्यो भन्ने आभाष हुन्थ्यो, दशैंका दिन एकपटक भए पनि जमिन छाड्नुपर्छ भन्ने मान्यताले पिङ खेलिन्थ्यो, हिजोआज त पुरानो संस्कृति नै हराउँदै जान थालेको छ ।
आजभोलि युवापुस्ताले पनि त्यति पिङप्रति चासो दिँदैनन् । साना–साना बच्चाका लागि बजारमा आएका प्लाष्ट्रिकको डोरी बाँधेर घरघरमा पिङ राख्ने चलन भने बढ्न थालेको छ ।

 

बुधबार, २७ असोज, २०७८, बिहानको ०९:१३ बजे

सम्बन्धित खवर