कांग्रेस महाधिवेशनमा राति ९ बजेसम्म मतदान हुने

नेपाली कांग्रेसको नेतृत्व चयनका लागि आज राति ९ बजेसम्म मतदान हुने भएको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले मतदान समय थपिएको बताए। निर्वाचनमा मतदाताको संख्या र हालसम्म खसेको मतको संख्यालाई मध्यनजर गरी आज राति ९ बजेसम्म मतदान गर्ने समय थप गरिएको निर्वाचन समितिका संयोजक घिमिरेले जानकारी दिए।

निर्वाचन समितिका अनुसार साँझ ५ बजेसम्म २ हजारभन्दा बढी मत खसेको छ। कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ मतदाता छन्। संयोजक घिमिरेले जारी गरेको सूचनामा भनिएको छ, “नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज मिति २०७८ मंसीर २७ गते सम्पन्न भइरहेको निर्वाचनमा मतदान कार्य राति ९ बजेसम्म कायम गरिएको व्यहोरा जानकारी गराइन्छ।”

आज बिहान ८ बजेदेखि मतदान शुरू गर्ने कार्यसूची रहेको थियो। तर, समयमा मतपत्र छपाइ नहुँदा बिहान ११ बजेदेखि मतदान शुरू भएको थियो। ढिलो गरी मतदान प्रारम्भ भएकाले समय बढाएको निर्वाचन समितिले जनाएको छ। सभापतिसहित १३२ पदका लागि ४८७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। काठमाडौंको राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान केन्द्र राखिएका छन्।

सोमबार, २७ मंसिर, २०७८, साँझको ०६:२१ बजे

सम्बन्धित खवर