यी हुन् प्रदेश १ मा स्थाननामबाट नाम राखिएका बनस्पति

दमक/ प्रदेश १ का विभिन्न स्थाननामबाट दुर्लभ बनस्पतिको नाम राखिएको पाइएको छ । प्रदेशका स्थाननामबाट अहिलेसम्म २८ प्रजातिका वनस्पतिको नामकरण भएको छ। ताप्लेजुङको तमोर नदीबाट तीन वटा वनस्पतिका नाम राखिएका छन्– मालाक्सिस् तमुरेन्सिस्, स्ट्रोबिलान्थस् तम्बुरेन्सिस् र पेडिकुलारिज् तमुरेन्सिस्।

ताप्लेजुङबाट पैयुँ जातिको वनस्पतिको नाम पु्रनस ताप्लेजुङनिका राखिएको छ भने यही जिल्लाको तोप्केगोला भन्ने ठाउँबाट प्रुनस तोप्केगोलेन्सिस् र सौसुरिया तोप्केगोलेन्सिस् नामकरण गरिएको छ। यी दुवै वनस्पति रूख प्रजाति र नेपालका रैथाने हुन्। जापानी टोलीले यी दुई प्रजाति समुद्री सतहबाट क्रमशः ३७ र ३५ सय उचाइमा फेला पारेको थियो। तिनका नमूना जापानको युनिभर्सिटी अफ टोक्योमा सङ्गृहीत छन्। यसको नमूना नेपाली वनस्पतिविद्वय पीआर शाक्य र नवीन आचार्य संलग्न टोलीले सङ्कलन गरेको अभिलेख भए पनि यसबारे थप अध्ययन गरिएको छैन।

सर्वोच्च शिखर सगरमाथाबाट तीन वटा वनस्पति बरबेरिज एभरेष्टिना, क्यारेक्स मोन्टी–एभरेष्टी र जेन्टियना सगरमाथाई नामकरण गरिएको छ। यस्तै, मकालु हिमालबाट पोटेन्टिल्ला मकालुइन्स्, र्‍यानन्कुलस मकालुइन्सिस् तथा जलजला हिमालबाट बिस्टोर्टा जल्जलेन्सिस्, सेक्सिफ्रागा जल्जलेन्सिस् नामकरण भएका छन्।

भारतका अनुसन्धानकर्ताले सन् १९५०–१९६० ताका कोशी नदीको विस्तार क्षेत्रबाट फूल फुल्ने करीब २०० प्रजातिका वनस्पतिका नमूना सङ्कलन गरेका थिए। तीमध्ये सुनसरीस्थित कोशी नदीको त्रिवेणीमा फेला परेको बिगोनिया (मकरकाँचे)को एक प्रजातिलाई सीआर राओले सन् १९६९ मा बिगोनिया त्रिवेनेन्सिस् नामकरण गरे। यस्तै, त्रिभुवन विश्वविद्यालय वनस्पतिशास्त्र केन्द्रीय विभागकी प्रा.डा. सङ्गीता राजभण्डारीले सन् २०१० मा पाँचथरबाट विश्वका निम्ति बिगोनियाको नयाँ प्रजाति बिगोनिया पाँचथरेन्सिस् पत्ता लगाएकी छन्।

धनकुटाबाट तुलसी परिवारको वनस्पति आइसोडन धनकुटानस् नामकरण भएको छ। सुनकोशीबाट इम्पाटियन्स सुनकोशीइन्सिस् नाम राखिएको छ। फ्लावरिङ प्लान्टस् अफ् प्रोभिन्स नं. १ पुस्तक (सन् २०२०)मा अरुण नदीबाट नामकरण गरिएको इम्पाटियन्स अरुनेन्सिस् नेपालको रैथाने प्रजाति भनेर चर्चा गरिएको छ। तर, यो नेपालको रैथाने होइन, यसको सही नाम इम्पाटियन्स बाइकोर्नाटा हो। वरुण नदीको नामबाट चिराइतो जाति अन्तर्गतको स्वेर्टिया बरुनेन्सिस् नामकरण भएको छ। यो नदी संखुवासभाको हाटखोला उत्तरतर्फ अरुण नदीमा मिसिन्छ।

संखुवासभाको लाम्नीनामाबाट सौसुरिया लामीनामइन्सिस् नामकरण भएको छ। सोलुखुम्बुको खुम्बु, हिङ्कु उपत्यका र कोशी नदीमा भेटिएका वनस्पतिका नाम क्रमशः सोर्बस खुम्बुइन्सिस्, एफ्राग्मस हिङ्कुइन्सिस् र पेडिकुलारिज कोशीइन्सिस् राखिएका छन्। भारतको दार्जीलिङबाट सङ्कलित वनस्पतिको नमूनालाई सिंगलिला हिमाल (इलाम सहितका ठाउँमा पर्ने)को नामबाट सन् २०१० मा प्रुनस सिंगलिलइन्स् नाम दिइयो। यद्यपि, यो वनस्पतिको नमूना बेलायतका जेडिए स्टेन्टनले वैज्ञानिक अध्ययनका लागि सन् १९५६ मै नेपाल (संखुवासभा)बाट सङ्कलन गरिसकेका थिए।

बेलायतका जेडी हूकर सन् १८४८ मा दार्जीलिङबाट नेपाल प्रवेश गरी तमोर नदीको किनारैकिनार ताप्लेजुङको दोभानसम्म पुगेर तापेथोक हुँदै ओलाङचुङ्गोला पुगेका थिए। उनले त्यस वेला तमोर किनारबाट सङ्कलन गरेको उन्यू अन्तर्गत टेरिडेसी परिवारको एक प्रजातिलाई हेमिओनिटिस टम्बुरिई नाम दिइएको छ। यो प्रजाति नेपाल सहित भारत, दक्षिण–मध्य चीन, बर्मा लगायत देशमा पाइन्छ।

फन्जी वा फन्गाई (माइकोटा) भनिने ढुसी अन्तर्गत च्याउ पनि पर्छ। बेलायतकी कीट वैज्ञानिक फ्रान्सिस् एल. बाल्फोर–ब्राउनीले बेलायती अन्वेषकहरूले पूर्वी तथा मध्य नेपालबाट सन् १९४९, १९५२–१९५६, १९६१–१९६२ मा सङ्कलन गरेको नमूना अध्ययन गरी लेखेको फन्गी अफ रिसेन्ट नेपाल इक्सपीडिशन्स् (सन् १९६८) पुस्तक प्रकाशन भएको थियो। पुस्तकमा धनकुटाबाट सङ्कलन गरिएको एक नमूनालाई मोलिसिआ धनकुटाई नामकरण गरिएको छ, जुन नेपालको रैथाने प्रजाति हो।

यस्तै, लेउ वर्गका दुई वनस्पति प्रजातिलाई सगरमाथा र मकालु हिमालको नामबाट कोलेओडेस्मियम सगरमाथाई र गोम्फोनेमा मकालुइन्स् नामकरण गरिएको छ। गोम्फोनेमा मकालुइन्स्को नमूना भोजपुरको नेपाले डाँडा हुँदै आउने खोलाबाट सन् १९९४ मा सङ्कलन गरिएको थियो।

सोमबार, २७ मंसिर, २०७८, साँझको ०६:३७ बजे

सम्बन्धित खवर