दमक/  भारतको सिक्किमका प्रसिद्ध साहित्यकार पद्मश्री सानु लामासंग शनिबार झापाको दमकमा साहित्यिक भेटघाट तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ । सेर्गेम प्रकाशन गृह दमकको आयोजनामा भएको सो कार्यक्रम दमक–१ भाङबारीस्थित विद्याशिल्प एकेडेमीमा भएको थियो ।

वरिष्ठ लोकगायक एलपी जोशीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रा. डा.गोविन्दराज भट्टराईले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा सिलिगुडीका साहित्यकार मुक्ति बरालले सानु लामाको व्यक्तित्व र कृतित्वका बारेमा सविस्तार प्रकाश पारेका थिए । प्राध्यापक डा. व्यञ्जना शर्माले स्रष्टा लामाको ‘सूर्यको तेश्रो किरण’ कथा संग्रह, साहित्यकार कमलराज भट्टराईले उनको नियात्रा ‘हिमालचुली मन्तिर’ कृतिका बारेमा विवेचना र समीक्षा गरेका थिए । त्यस्तै साहित्यिक स्रष्टाहरु पदम प्रसाद ओली र नारायण शर्मा फूयाँलले आफूहरुको सिक्किम यात्रा र अनुभूति सुनाएका थिए । दमकेली लोकगायक लक्ष्मी प्रसाद खनालले सानु लामाद्वारा रचित एउटा गीत गाएर सहभागीहरुलाई मनोरञ्जन दिलाएका थिए भने वरिष्ठ साहित्यकार खेमलाल पोखरेलले अंग्रेजी र नेपाली दुवै भाषामा कविता सुनाएका थिए । प्राध्यापक डा. अञ्जना भट्टराईले सानु लामाका सिर्जनाका बारेमा चर्चा गरेकी थिइन् । त्यस्तै कविहरु गंगाधर कट्टेल, रुद्र प्रभात, वैदिक अत्री, हिमाल सुब्बा गुराँस, विन्दु दाहाल मूकदर्शक, कृष्ण उदासी, झाँक्री खोले, विवश बलिभद्र कोइराला लगायतले कविता वाचन गरेका थिए । कार्यक्रममा दार्जिलिङका साहित्यकार मुक्ति प्रसाद उपाध्याय, सिक्किमा चलचित्र निर्माता निर्देशक र कलाकारा सीपी गिरी, शिक्षिका श्रीमति दिप्ती उपाध्याय, साहित्यकार उषा नन्दी विशेष अतिथिका रुपमा रहेका थिए । उनीहरुले पनि आ–आफ्ना रचना वाचन गरेका थिए । निर्मला भट्टराईले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन साहित्यकार विवश बलिभद्र कोइरालाले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार सानु लामाले सिक्किमका नेपालीहरु नेपालबाटै गएको र हाल भारत सरकारले नेपाली भाषालाई मान्यता दिएको बताए । उनले नेपालका र भारतको पूर्वोत्तर क्षेत्रका स्रष्टाहरुको भ्रमण आदान प्रदान तथा साहित्यिक भेटघाटले नेपाली साहित्यलाई अझै उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा साहित्यकार तथा श्रृष्टाहरु धनकुटे कान्छा, बैदिक अत्री, प्राध्यापक उत्तम भट्टराई, सञ्चारकर्मी विमल लामिछाने, गिरिराज भट्टराई, पंकज दाहाल लगायतको उपश्थिति रहेको थियो ।

 

Facebook Comments Box