पुस्तकमा मध्यपहाडको मर्म

 

तपाईंको पुस्तक ‘मध्यपहाड यात्रा’ किन पढ्ने ?

मध्यपहाड बुझ्न ।

मतलब भूगोल बुझ्न ?

भूगोल मात्रै होइन, भूगोलसँगै मध्यपहाडको संस्कृति, शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक, राजनीति, विकास निर्माण, पर्यावरणको स्थितिका साथै त्यस भूगोलका मानिसको मनोदशा बुझ्न पुस्तकले मद्दत गर्नेछ ।

यति धेरै कुरा दुई सय पृष्ठको पुस्तक अटाएको छ ?

यो पुस्तक ‘डेली डायरी’ हो । मुख्यतः तीस दिनको यात्रामा देखेका, भोगेका, गरेका र सुनेका कुरालाई पुस्तकमा लिपिबद्ध गरेको छु । पुस्तकभित्र विषय र प्रसंगअनुसार विगतका घटना र सम्झना पनि समेटेको छु । चुनौती र सम्भावना पनि औँल्याएको छु ।

मध्यपहाडको खास समस्या के पाउनुभयो ?

कुनैवेला राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड रहेको मध्यपहाड शासकहरूको अल्पदृष्टि वा पूर्वाग्रहका कारण भौतिक पूर्वाधारविहीन हुँदा अहिले मर्नु न बाँच्नुको अवस्थामा छ । मध्यपहाडी लोकमार्गले थोरै आशा त जगाएको देखिन्छ तर विश्वस्त भने छैनन् । ०१८ सालमा चार लाख जनसंख्या रहेको तेह्रथुममा अहिले एक लाख जनसंख्या छ । बसाइँसराइ र पलायनको स्थिति कति भयावह छ ? तेह्रथुमको यही उदाहरण काफी छ ।

चुरेको फेदीमा पूर्वपश्चिम राजमार्ग बनाउनुको सट्टा तराई र पहाडको हुलाकी मार्गलाई राजमार्ग बनाएको भए आज पहाड पनि हराभरा र विकसित हुन्थ्यो । तराई पनि समृद्ध बन्थ्यो । पहाड र तराईको विकास नहुनुको मुख्य कारण यही हो । धेरै वर्षपछि गल्ती सच्याउने काम त भएको छ । तर, पूर्वाधार विकासको गति भने कछुवाको छ । भूगोल जोडिएको भए पनि मान्छेको भावना जोडिएको छैन । आर्थिक जीवन त झन् पटक्कै जोडिन सकेको छैन । पहिचानसहितको संघीयतामार्फत मान्छेको भावना जोड्ने र भौतिक पूर्वाधार तीव्र गतिमा निर्माण गरी आर्थिक रूपले पनि जोड्ने हो भने मध्यपहाड फेरि देशको मेरुदण्ड बन्ने पक्का छ ।

पुस्तक तयारीको पृष्ठभूमि ?

तत्कालीन नयाँ शक्ति पार्टीले १५ माघ ०७५ देखि १५ फागुनसम्म मध्यपहाडी पुष्पलाल लोकमार्गमा त्यहाँका नागरिकसँग एकमहिने जनसंवाद गर्ने योजना बनायो । म त्यसवेला नयाँ शक्ति पार्टीको हेडक्वार्टर सदस्य थिएँ । डा। बाबुराम भट्टराईको नेतृत्वमा सञ्चालन गरिएको त्यस यात्राको व्यवस्थापकीय नेतृत्व मैले गरेको थिएँ । बाटो सर्भेदेखि यात्रारम्भ हुँदै यात्रान्तसम्म म अभियान टोलीमा ४५ दिन सहभागी भएँ । तीनै ४५ दिनमा मैले मोबाइल डायरीमा गरेका टिपोटलाई अहिले पुस्तकको रूप दिएको हुँ ।

तपाईं राजनीतिज्ञ कि साहित्यकार रु यो पुस्तक वैचारिक आलेख कि साहित्य ?

किन र ?  राजनीतिज्ञले साहित्य लेख्न पाइँदैन र ? साहित्यकारले राजनीति गर्न हुँदैन ? म राजनीतिज्ञ र साहित्यकार दुवै हुँ । दुवै कामलाई एकसाथ बढाउन चाहन्छु । राजनीतिलाई फोहोरी खेल हो भन्दै गाली गरेर केवल उपदेश मात्रै लेखिरहने साहित्यकार म होइन । पुस्तक विधागत रूपमा यात्रा संस्मरणअन्तर्गत पर्छ । तर, यस पुस्तकमा आवश्यकताअनुसार राजनीतिले पनि स्थान पाएको छ ।

पुस्तकमा कहाँदेखि कहाँसम्मको अवस्थालाई समेट्नुभएको छ ?

पाँचथरदेखि बैतडीसम्म अर्थात् २८ जिल्लाका ५० हजार जनतासँग भेटघाट र १८ सय ७९ किलोमिटर दूरी पार गरेर प्राप्त गरेको अनुभव र ज्ञानको सँगालो यो पुस्तक हो । एउटै पुस्तकमा मध्यपहाडबारे यति धेरै सूचना संग्रहित गरिएको पुस्तक पहिला थिएन । मध्यपहाड बुझ्न यो पुस्तकले मद्दत गर्नेछ ।

पुस्तकमा छुटेको कुरा के हो जस्तो लाग्छ ?

भूमिकामा पनि उल्लेख गरेको छु । थोरै समय थपेर अन्तत्र्रिmया बढाउन पाएको भए अझ धेरै उत्कृष्ट बनाउन सकिन्थ्यो । पुस्तककको अनुसूचीमा ऐतिहासिक, धार्मिक, पर्यटकीय स्थललगायत स्थानीय निकायको नामावली र बाटोको बारेमा जानकारी गराउन सकेको भए अझ उपयोगी हुने थियो । आउने संस्करणमा यी सबै कुरामा ध्यान दिनेछु ।

नयाँपत्रीका अनलाइन बाट

शनिबार, ०१ चैत, २०७६, दिउँसोको ०१:५४ बजे

सम्बन्धित खवर