महँगी आकाशिएर वित्यो वर्ष २०७८

वर्षभरीनै उपभोक्ता महँगीको मारमा पर्नुपर्यो ।  इन्धनको मूल्यमा लगातार बढोत्तरी भएपछि त्यसको नकारात्मक असर ढुवानी सेवादेखि उपभोक्ताको भन्सासम्म पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुन महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.१४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको फागुन महिनामा यस्तो मुद्रास्फीति ३.०३ प्रतिशत रहेको थियो । चालू आवको आठ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५१ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७७ फागुन महिनाको तुलनामा २०७८ फागुन महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल, तरकारी, दूधजन्य उत्पादन तथा अण्डा र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २६.३४ प्रतिशत, १३.९६ प्रतिशत, ११.३० प्रतिशत र १०.३० प्रतिशत रहेको छ ।
साथै, गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात, विविध वस्तु तथा सेवा र शिक्षा उपसमूहको मुद्रास्फीति क्रमशः १६.२७ प्रतिशत, ९.०१ प्रतिशत र ८.७९ प्रतिशत रहेको पनि राष्ट्र बैंकले जनाएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सोमबार पत्रकार सम्मेलनमा विगत तीन वर्षको औसत मुद्रास्फीति ५.१८ प्रतिशत रहेकोमा चालू आर्थिक वर्षको पहिलो ८ महिनासम्मको औसत उपभोक्ता मुद्रास्फीति ५.४ प्रतिशत रहेको दाबी गरेका छन् । पछिल्लो समयमा विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ्दै गएका कारण त्यसैको प्रत्यक्ष प्रभाव नेपालको समग्र मूल्यस्तरमा परेकाले उपभोक्ता मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्न थप उपायहरू अवलम्बन गर्नुपर्ने स्थिति रहेको उनले स्वीकार गरे तापनि सरकारको तथ्यांकमा देखिनेभन्दा बजारमा महसुस गरिने मूल्यवृद्धि धेरै रहेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण लागि सरकारले लकडाउन गरेको दुई वर्षमा आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण उपभोक्ताको भान्सामा असर गर्न पुगेको हो । साथै, डेढ महिनादेखि रूस तथा युक्रेनबीचको युद्धका कारण पनि आपूर्ति श्रृंखलामा थप अवरोध भएका कारण अत्यधिक वस्तुमा मूल्यवृद्धि भएको छ ।
घरेलु बजारमा कोरोनाको समयमा कच्चा पदार्थको आपूर्ति कम भएसँगै उत्पादन कम भयो, तर माग भने घटेन । जसका कारण अधिकांश वस्तुका मूल्य २० देखि ५० प्रतिशतसम्म बढ्यो । यस्तै, आयातित वस्तु पनि पेट्रोलियम पदार्थको मूल्यसँगै बढेको छ । अन्तर्राष्ट्रिय बजारमै अधिकांश वस्तु तथा कच्चा पदार्थको मूल्यवृद्धिले गर्दा पनि त्यसको प्रत्यक्ष असर नेपालीको भान्सामा परेको छ ।
यसैबीच रूस–युक्रेनबीचको युद्धका कारण संसारभरि नै खाद्यान्नको मूल्य निरन्तर बढिरहेको भन्दै खाद्य तथा कृषि संगठन (एफएओ) को प्रतिवेदनले फेबु्रअरीको तुलनामा मार्च महिनामा विश्वभरि नै खाद्यान्नको मूल्य लगभग १३ प्रतिशतले बढेको उल्लेख गरेको छ । एफएओद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार एउटा ठूलै फड्को मारेर विश्वभरि नै खाद्यान्नको मूल्य मार्च महिनामा उच्चतम बिन्दुमा पुगेको छ ।
संगठनले आफ्नो नयाँ खाद्यान्न मूल्य सूचकांक प्रतिवेदनमा उल्लेख गरेअनुसार ब्ल्याक सी क्षेत्रमा भएको युद्धका कारण अन्न र वनस्पति तेलको मूल्य अत्यधिक वृद्धि भएको छ । मार्चमा औसत सूचकांक १५९.३ अंक पुगेको भन्दै प्रतिवेदनले फेबु्रअरीभन्दा १२.६ प्रतिशत बढेको जनाएको छ । सन् १९९० फेब्रुअरीदेखि नै विश्व खाद्यान्नको मूल्यको निगरानी गरिरहेको संगठनका अनुसार हालको मूल्य ३२ वर्षकै सबैभन्दा उच्चतम हो । रूस र युक्रेन विश्वभरिकै गहुँ र मकैको क्रमशः ३० प्रतिशत र २० प्रतिशत निर्यात गर्ने भन्दै संगठनले मकैको मूल्य फेबु्रअरीमा मात्र १९.१ प्रतिशतले बढेको जनाएको छ ।
त्यतिमात्र होइन, रूस र युक्रेन संसारभर विभिन्न खाद्यान्नको आपूर्ति गर्ने राष्ट्रमा पर्छन् । विश्वभर आपूर्ति हुने गहुँ र जौको ३० प्रतिशत हिस्सा, मकैको १५ प्रतिशत हिस्सा र सूर्यमुखीको तेलको ७० प्रतिशत हिस्सा यी दुई देशबाट मात्र निर्यात हुने गर्छ । साथै, कृषिका लागि अति आवश्यक पोटास, युरिया, फस्फोरस, नाइट्रोजनलगायत विभिन्न रासायनिक मलको उत्पादनमा पनि रूस एक नम्बरमै आउँछ भने विश्वभर आपूर्ति हुने पोटासको १४ प्रतिशत, युरियाको २१ प्रतिशत र नाइट्रोजन मलको ठूलो हिस्सा रूसमा नै उत्पादन हुन्छ ।
त्यसैले रूस–युक्रेन युद्धकै कारण भएका आपूर्ति व्यवधानले गर्दा सूर्यमुखीको तेलको मूल्य पनि बढेको छ । संगठनका अनुसार वनस्पति तेल मूल्य सूचकांक २३.२ प्रतिशतले बढेको छ, जसमा सूर्यमुखीको तेलको मात्रा अधिक छ, किनकि युक्रेन सारा दुनियाँमा सूर्यमुखीको तेलको निर्यात गर्छ । रूस तथा युक्रेनको जारी युद्धले विश्व ऊर्जा बजारमा पनि गम्भीर समस्या उत्पन्न गरेको छ । विश्वभर तेल र ग्यासको मूल्यमा भारी मात्रामा वृद्धि भएको छ ।

बिहिबार, ०१ बैशाख, २०७९, बिहानको ०८:१४ बजे

सम्बन्धित खवर