कानेपोखरी गाउँपालिका लाई सहकारीको साढे १२ लाखको स्वास्थ सामाग्री सहयोग

बैकल्पिक खवर

समुदायस्तरका महिलाहरूको दिगो आर्थिक विकास र महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको मोरङको एक सहकारीले कानेपोखरी गाउँपालिका लाई साढे १२ लाखको स्वास्थ सामाग्री उपलब्ध गराएको छ । कानेपोखरी–६ स्थित दिगोपन सामाजिक महिला उद्यमी सहकारीले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले कानेपोखरी गाउँपालिकालाई उक्त १२ लाख ५० मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको हो।

आइतबार सहकारीकी अध्यक्ष उमा रानामगरले उक्त सामाग्री गाउँपालिका परिसरमा अध्यक्ष ताराबहादुर काफ्लेलाई हस्तान्तरण गरिन। दिगोपन सहकारी हेफर इन्टरनेसनलद्वारा प्रवर्द्धित संस्था हो। हेफर नेपालले अभियान नेपालसँगको सहकार्यमा दीगोपन सामाजिक महिला उद्यमी सहकारी संस्था मार्फत स्वास्थ्य सामग्री प्रदान गरेको हो। सहकारी संस्थाले अभियान नेपाल र हेफरसँग सहयोगको अपिल गरेको थियो।

स्वास्थ सामाग्री हस्तान्तरण गर्दै संस्थाकी अध्यक्ष मगरले भनिन्, ‘महिला उद्यम र सशक्तिकरणका क्षेत्रमा सहकारी संस्थासँग सहकार्य गर्ने संस्थाहरूलाई सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ।’ अभियान नेपालका अध्यक्ष एवं संविधान सभा सदस्य प्रेमबहादुर गिरीले हेफर इन्टरनेसनलबाट ४२ लाख ५० हजार मूल्य बरावरका स्वास्थ्य सामग्री र उपकरण प्राप्त भएको बताए। ती सामग्रीमध्ये झापा जिल्लामा ८ लाख मूल्यका र ३२ लाख ५० हजारको मोरङका चार पालिकामा वितरण गरिने अध्यक्ष गिरीले बताए। सबैभन्दा बढी सामग्री कानेपोखरी गाउँपालिकालाई प्रदान गरिएको उनको भनाइ थियो।

अभियान नेपाल हेफरद्वारा प्रबर्द्धित मोरङका चारपालिकाका उद्यमी सहकारीसँग सहकार्यमा काम गर्दै आएको छ। उनले मोरङका कानेपोखरी गाउँपालिका, सुन्दरहरैंचा, पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा स्वास्थ्य सामग्री वितरण गरिने बताए। वितरित स्वास्थ्य सामग्रीमा अक्सिजन कन्सनट्रेटर मेसिन २ थान, पोर्टेबल एक्सरे मेसिन १ थान, लुज ग्लोब्स ९७ बक्स, सर्जिकल ग्लोब्स ३० बक्स, पीपीई ५५ सेट र फोल्डिङ बिरामी बेड कपडा सिरानीसहित ७ सेट रहेको छ।

स्वास्थ्य सामग्री प्राप्त गरेपछि गाउँपालिकाका अध्यक्ष काफ्लेले कोभिडका कारण ६ जनाले ज्यान गुमाइसकेको कानेपोखरीमा यो नै सबैभन्दा ठूलो स्वास्थ्य सहयोग भएको बताएका छन्। उनले गाउँपालिकाले काठको खाट बनाएर तिनै खाटमा बिरामीको उपचार गरिरहेको अवस्थामा सुविधा सम्पन्न सामग्री प्राप्त भएकोमा खुसी प्रकट गरे।

सोमबार, ३१ जेठ, २०७८, बिहानको ०९:३२ बजे

सम्बन्धित खवर