‘धान रोप्ने बेला भयो मल छैन’

   दमक / चुनावका बेला जतिसुकै ठूला ठूला कुरा गरेर किसानका पक्षमा छौं, भनेपनि राजनीतिक दलहरु र सरकारसमेत किसानको पक्षमा नभएको गुनासो किसानहरुले गर्दै आएका छन् । वर्षेनीजसो खेतीको सिजनमा रासायनिक मलको अभाव हुँदै आएको र अहिले पनि असार लाग्दासमेत किसानले मल नपाएपछि किसानले खेतीमा समस्या भएको गुनासो गर्दै आएका हुन् । धान रोप्ने सिजन सुरु हुनै लाग्दा किसानले मल पाउन सकेका छैनन् । सोमबार प्रतिनिधिसभाले अविलम्ब मलको प्रबन्ध गर्न सरकारलाई निर्देशन दिएको छ । तर, हरेक वर्ष दोहोरिने मल अभावको समस्याले किसान पिरोलिने क्रम भने जारी छ ।

सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मल अभाव भएको छ । मकै, चैते धानका बेला पनि मल अभाव खेपेका किसानले बर्खे धानका लागि बिऊ राख्दा पनि मल अभाव भएको छ । रोपाइँ गर्ने सिजनमा पनि मल पाइने–नपाइने टुंगो छैन ।
२०७० सालदेखि रासायनिक मलको अभाव खेप्दै आएको विराटनगर १९ का किसान शान्तिप्रसाद घिमिरे बताउँछन् । ‘सरकारले खेती गर्ने सिजनमा मल दिँदैन’, उनले भने ‘कालोबजारी गरेर ल्याएको मल महँगो पैसा तिरेर किन्नुपर्छ ।’

अभाव उच्च भएकै कारण प्रतिकिलो ५० रुपैयाँ पर्ने मल किसानले १ सय रुपैयाँ तिर्न बाध्य छन् । झापाबाट १ सय रुपैयाँ हालेर किनेको बेलबारीका कृषक माधव पोख्रेलले बताए । किसानले धान रोप्दा युरिया र डिएपी मल लगाउने गरेका छन् । ‘झापाको अर्जुनधाराको शनिश्चरेबाट प्रति किलो १ सय रुपैयाँ तिरेर मल ल्याएँ,’ उनले भने ‘त्यही पनि प्रशस्त पाइएन । मल ल्याउने कम्पनीहरू मल छैन भन्छन् तर व्यापारीहरूले मल लुकाएर बेच्ने गरेका छन् ।’

‘समयमै मल नपाउँदा रोप्ने बेला हुन लागेको धानको बिऊ ब्याडमै सुक्न थालेको विराटनगर १९ कि टंकादेवी काफलेले बताइन । ‘मकै रोप्दादेखि मल खोज्यो थन्काउने बेलासम्म पनि पाइएन । धानको बिऊ राख्दादेखि रासायनिक मलको खोजी गर्र्याै,’ उनले भनिन ‘मकै जस्तै धान थन्काउँदा मात्रै मल आउँछ जस्तो लाग्न थाल्यो ।’

नेपालमा आधिकारिक रूपमा रासायनिक मल आयात गर्न दुई वटा कम्पनीले अनुमति पाएका छन् । तर, मुख्य सिजनमै सधैँ मल अभाव हुनुमा यिनै संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्ण सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्ध सरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनीले मल आयात गर्छन् । उनीहरूले पनि कृषकलाई मल दिन सकेका छैनन् ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रदेश १ मा १२ सय मेट्रिक टन पोटास र ८ सय ५० मेट्रिक टन डिएपी मल मौज्दात रहेको छ । अहिले साल्टसँग मलको मौज्दात शून्य छ ।कृषि सामग्रीमा पनि युरिया मल भने छैन । भएकै मल पनि कृषि सामग्री कम्पनी लिमिटेडले बाँड्न चासो देखाएको छैन । माग अनुसारको मल नभएकै कारण वितरण गर्न समस्या भएको कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय प्रदेश १ का प्रमुख नरेशकुमार सापकोटाले बताए । ठेकेदारले समयमै मल नल्याइदिएका कारणले समस्या भएको उनले बताए । भएको मल असारको दोस्रो हप्तादेखि वितरण गरिने उनले बताए ।

भारतसँग सीमा जोडिएका क्षेत्रबाट मल ल्याएर बिचौलियाहरूले मल बेच्ने गरेको कृषकहरूले आरोप लगाएका छन् । साइकलमा मल ल्याएर कालो बजारी गरेको सूचना बढेकाले सीमा नाकामा कडाइ गर्न थालिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए । भारतसँग सीमा जोडिएका झापा मोरङ सुनसरी लगायतका जिल्लाबाट मल ल्याएर कालो बजारी गर्ने गिरोह सक्रिय भए पनि सम्बन्धित निकाय भने मौन रहेको छ । अवैध रूपमा ल्याएको ३० बोरा रासायनिक मल भने नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ ।

प्रदेश १ को कृषि मन्त्रालयका अनुसार प्रदेश १ मा ३ लाख ४० हजार ८ सय २९ हेक्टर क्षेत्रफलमा बर्खे धान खेती लगाइन्छ । उक्त क्षेत्रफलमा बर्खे खेती लगाउनका लागि मात्रै १६ हजार मेटिक टन डिएपी र सोही अनुसारको युरिया र पोटास आवश्यक पर्ने कृषि प्राविधिकहरू बताउँछन् ।

प्रदेश १ लाई अन्न भण्डारका रूपमा चिनिन्छ । मल अभाव हुँदा उत्पादनमा गिरावट आउने कृषि मन्त्रालय प्रदेश १ का कृषि प्रसार अधिकृत अभिमन्यु अधिकारी बताउँछन् । । मल अभाव हुँदा किसानहरू चिन्तित बन्ने गरेका छन् । प्रदेश १ का पहाडी जिल्लामा जेठ अन्तिम सातादेखि र तराईका जिल्लामा असार पहिलो साताबाट रोपाइँ सुरु हुन्छ ।

मङ्गलबार, ३१ जेठ, २०७९, बिहानको १०:२८ बजे

सम्बन्धित खवर