माधव नेपालले आत्मालोचना गर्ने ठाउँ छैनः ओली

नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका कारण आफू सत्ताबाट बाहिरिनुपरेको बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवासबाट भक्तपुरस्थित घरमा फर्कने क्रममा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन्।
प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरेर राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा हस्ताक्षर गर्नु पार्टी अनुशासन विपरीत भएको ओलीको भनाइ छ।
सर्वोच्च अदालतको फैसलाबारे पनि उनले असन्तुष्टि व्यक्त गरे। अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहीँ पनि नभएको नजीर बनाएर संविधान र लोकतन्त्रमाथि अतिक्रमण भएको उनले बताए। जनादेशमा जाने निर्णय विपरीतको अदालतको फैसला संविधानसम्मत नभएको उनको आशय थियो।
सर्वोच्च अदालतको परमादेश अनुसार, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको भोलिपल्ट ओली निजी निवासमा सरेका छन्।

बुधबार, ३० असार, २०७८, साँझको ०५:१२ बजे

सम्बन्धित खवर