प्रदेश १ मा कुन जिल्लामा कति कृषि पकेट क्षेत्र ?

 झापा /   प्रदेश १ मा झापामा कृषितर्फ ४५ र पशुपालनतर्फ २० वटा पकेट क्षेत्र छन् । यस्तै सबैभन्दा बढी पकेट क्षेत्र मोरङमा छ । मोरङमा कृषिका ५२ र पशुपालनका २४ वटा पकेट क्षेत्र छन् ।
ताप्लेजुङमा ४१, पाँचथरमा ३२, सुनसरीमा ५२, धनकुटामा ३३, तेह्रथुममा २४, संखुवासभामा ४५, भोजपुरमा ३९, सोलुखुम्बुमा ४०, ओखलढुंगामा ३५, खोटाङमा ४४, इलाममा ४१ र उदयपुरमा ३८ वटा पकेट क्षेत्र निर्धारण गरिएको छ ।

ब्लकमा हालसम्म झापा, ताप्लेजुङ र ओखलढुंगामा ६-६ वटा, मोरङ र उदयपुरमा ८-८ वटा, इलाम, पाँचथर, सुनसरी, धनुकटा, भोजपुर, खोटाङ र सोलुखुम्बुमा ५÷५ वटा, तथा तेह्रथुम र संखुवासभामा ४-४ वटा ब्लक छन् । १४ वटा जिल्लामा विभिन्न २८ वटा जोन छन् भने झापा जिल्लामा एउटा मात्रै धानको सुपरजोन घोषणा गरिएको छ ।

वर्गीकरण गरिए अनुसार झापामा धानको सुपरजोन छ भने रबर, सुपारी र मकैको जोन छ । यस्तै इलाममा किबी र गाई, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, भोजपुर र संखुवासभामा अलैंची जोन, मोरङमा धान र माछा जोन, सुनसरीमा अदुवा÷बेसार, तरकारी, माछा, धान र बंगुर, धनकुटामा तरकारी, उदयपुरमा सुन्तलाजातका फलफूल, अदुवा-बेसार, बहुबाली धान, मकै र आलु, ओखलढुंगामा आलु, खोटाङमा मकै÷मकै बिउ र सोलुखुम्बुमा सुन्तला जात फलफूल, अदुवा÷बेसार र किबी जोनमा राखिएको छ ।

पकेट क्षेत्र, ब्लक, जोन र सुपरजोनमा के फरक छ ?

अहिलेसम्म जोन, सुपरजोन संघीय सरकार कृषि मन्त्रालयले हेर्छ । ब्लक प्रदेश अन्तर्गत छन् भने पकेटको कार्यक्रम स्थानीय तहले हेर्छन् ।
पकेट कार्यक्रमबाट साना तथा मझौला कृषक समूहहरु लाभान्वित हुनेछन् । प्रत्येक पकेटले पकेट क्षेत्र आसपासका कम्तीमा १० जना कृषकलाई सेवा पु¥याउने छन् । पकेट क्षेत्र १० हेक्टरमा हुनेछ ।
यस्तै व्यावसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम अन्तर्गत राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली-वस्तुमा न्यूनतम १०० हेक्टर क्षेत्रफलमा हुनुपर्ने उल्लेख छ ।
यस्तै व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम अन्तर्गत राष्ट्रिय प्राथमिकता र स्थानीय सम्भाव्यताका आधारमा तोकिएको पूर्वाधारहरू भएको र तोकिएको बाली र वस्तुमा न्यूनतम ५०० हेक्टरमा सञ्चालन भएको व्यावसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रुपमा जोनहरु रहन्छन् ।

यस्तै वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपर जोन) विकास कार्यक्रममा भने तोकिएको पूर्वाधारहरु भएको र तोकिएको बाली र वस्तुमा न्यूनतम १ हजार हेक्टरमा सञ्चालन भएको वृहत व्यावसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र रहने परिकल्पना गरिएको छ ।

बिहिबार, ३० असार, २०७९, साँझको ०५:३४ बजे

सम्बन्धित खवर