चुनावमा के होला एमालेको हालत ?

सरकारले प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा गरेपछि राजनीतिक दलहरू निर्वाचनको आन्तरिक तयारीमा जुटेका छन् । प्रमुख राजनीतिक दलहरू बैठक बोलाउने, निर्वाचनको तयारीबारे छलफल र योजना बनाउने काममा जुट्न थालेका छन् । सत्तारूढ गठबन्धनमा रहेका दलहरूले गठबन्धनभित्र सिट बाँडफाँटको बारेमा छलफल गरिरहेका छन् । कुन दलले कहाँ–कहाँ उम्मेदवारी दिने, सिट बाँडफाँटको मोडालिटी के हुने भन्ने बारेमा उनीहरू घनिभूत छलफलमा छन् । संसदको प्रमुख पक्ष नेकपा एमाले भने कमिटीको बैठकहरू बोलाएको निर्वाचनको तयारीमा जुटेको छ ।
एमालेलाई सत्तारूढ दलहरूले चुनावमा घेराबन्दीको प्रयास गरिरहेका छन् । संसदमा रहेको एमाले बाहेकका सबै ठूला दलहरूले गठबन्धन गर्ने र एमालेलाई एक्ल्याउने प्रयास भइरहेको छ । एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सरकारमा प्रधानमन्त्री रहँदा दुई पटक संसद विघटन सिफारिस गरेर संघीय प्रणाली, संविधान र गणतन्त्र नै धरापमा पार्न खोजेको आरोप गठबन्धनमा रहेका दलहरूले लगाउने गरेका छन् । ओलीले त्यसबखत प्रतिगमनको प्रयास गरेको र सत्ता गठबन्धनमा रहेका दलहरूले त्यसलाई निस्तेज पार्न सफल भएको तर्क गर्ने गर्छन् । एमालेले भने त्यस्तो तर्कलाई खण्डन गर्दै आएको छ । गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमालेविरूद्ध गठबन्धन गरेका थिए ।

गत चुनावमा एमालेले क्षति व्यहोरेको थियो । २०७४ को निर्वाचनमा २९८ स्थानीय तहका जित निकालेको एमालेले गत निर्वाचनमा २०६ स्थानीय तहमा मात्रै चित्त बुझाउनुपर्ने अवस्था आयो । स्थानीय तहको चुनावमा भाग लिँदाकै अवस्थामा एमाले संसदीय निर्वाचनमा सहभागी हुँदै छ । प्रतिगमनको आरोपसहित चौतर्फी घेराबन्दीका बीच चुनावी प्रतिस्पर्धामा सहभागी हुन लागेको एमालेले आगामी निर्वाचनमा कति सिट जित्न सक्ला भन्ने सबैमा चासोको विषय छ ।

गठबन्धनसँग भिड्दाको सम्भावित परिणामः एमालेको ९ सिट
मतान्तरमा हुने सम्भाव्य झिनो अन्तरले हाराहारीका दुई दल (कांग्रेस र एमाले) बीच हुने प्रतिस्पर्धामा अरू दलले कता साथ दिन्छ भन्ने महत्वपूर्ण हुन्छ । अहिले सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र तेस्रो, तर निर्णायक दल हो भने मधेशमा जनता समाजवादी पार्टी (जसपा) को बलियो उपस्थिति देखिन्छ ।

यदि कांग्रेसले अहिले सत्तारुढ गठबन्धनमा रहेका माओवादी र जसपाका साथै एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चालाई पनि साथमा लिएर चुनाव लड्ने हो भने प्रतिस्पर्धा एकतर्फी हुन सक्नेछ । १६५ सिट मध्ये १५५ सिटमा पाँचदलीय गठबन्धनले जित्ने देखिन्छ । एमालेले ९ र नेपाल मजदुर किसान पार्टीले एक सिट जित्नेछ । बाँकी दलहरूलाई प्रत्यक्षमा चुनाव जित्न सहज छैन ।यद्यपि पाँचदलीय गठबन्धनले जित्ने देखिएका १८ सिटमा मतान्तर ५ प्रतिशत भन्दा कम छ भने थप १६ सिटमा ५ देखि १० प्रतिशत छ । यो स्थानहरूमा प्रतिस्पर्धामा रहेका एमाले आउने सम्भावना रहन्छ । तर एमालेले जित्ने देखिएका ६ सिटमा ५ प्रतिशत र थप ३ सिटमा ५ देखि १० प्रतिशतसम्म मतान्तर भएकाले समग्र परिणाममा ठूलो हेरफेर नहुन सक्छ यदि स्थानीय निर्वाचनमा देखिएको रुझानमा नै भोट खस्यो भने । तथापि नयाँ मतदाताहरूको संख्या अझै नआइसकेकोले उनीहरूको संख्या धेरै हुँदा नतिजामा केही स्थानमा प्रभाव पार्न सक्छन् ।

७४ को सम्झना
२०७४ को मंसिरमा भएको संघीय संसद र प्रदेश सभाको निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रले देशव्यापी गठबन्धन गरेका थिए । त्यसबेला उनीहरू पार्टी एकताको नारा लिएर चुनावमा गएका थिए । उक्त चुनावमा एमाले र माओवादी केन्द्रले ६०–४० को अनुपातमा सीट बाँडफाँट गरेका थिए । एमालेको भागमा ९९ सीट थियो । त्यसबाहेक, हृदयेश त्रिपाठी, पशुपति दयालमिश्र, वृजेशकुमार गुप्ता र ईश्वरदयाल मिश्रले सूर्य चिह्नबाट चुनाव लडेका थिए । त्यसो हुँदा सूर्य ध्वजाबाहक उम्मेदवारको संख्या १०३ थियो । सूर्य चिह्न लिएर उम्मेदवार भएकामध्ये ८० जनाले चुनाव जितेका थिए । उक्त जीतमा माओवादी केन्द्रको पनि मत समावेश भएको थियो ।
माओवादी केन्द्रले ५९ सीटमा उम्मेदवारी दिएको थियो । त्यसमध्ये माओवादीले ३६ स्थानमा मात्रै जितेको थियो । अहिले एमाले २०७४ मा जस्तो सग्लो छैन । एमाले विभाजित भएर अर्को दल नेकपा एकीकृत एकीकृत समाजवादी बनेको छ । त्यसबेला सूर्य चिह्नबाट प्रत्यक्षतर्फ चुनाव जितेका १३ जना र समानुपातिकतर्फका १० जना गरेर २३ जना सांसद एकीकृत समाजवादीतिर लागेका छन् । एकीकृत समाजवादी भने एमालेका उम्मेदवारलाई पराजित गराउने उद्देश्यले सत्तारूढ गठबन्धनमा सामेल छ । एमालेले भने अन्य दलहरूले एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर गठबन्धन बनाएको तर्क गर्ने गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गठबन्धनमा रहेका दलहरू राजनीतिलाई प्रतिस्पर्धामा भन्दा शत्रुतामा लगेको भनेर टिप्पणी गरेका छन् । लोकतान्त्रिक शेर्पा संघले आयोजना गरेको कार्यक्रममा ओलीले भने, ‘लोकतन्त्रमा सत्रुता हुँदैन । अहिलेको गठबन्धनवालाहरू प्रतिस्पर्धा गर्न आँट गरिरहेका छैनन, सत्रुता गर्न खोजिरहेका छन् ।’

एमालेको तयारी
एमालेले चुनावलाई लक्षित गरेर भेला, छलफल र बैठकहरू बोलाउन थालेको छ । त्यसबाहेक, एमालेले आगामी निर्वाचनलाई लक्षित गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरिसकेको छ । गत बिहीवार बसेको एमालेको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो ।
कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहने निर्णय भएको एमालेका प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरूङले जानकारी दिए । त्यसबाहेक, जनसंगठनका अध्यक्ष र महासचिवहरू, पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू पनि निर्वाचन परिचालन कमिटीको सदस्य रहनेछन् । बैठकले चुनावका लागि तयारीका लागि भदौ पहिलो साता स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । भदौ ७ गते स्थायी कमिटी, ९ गते पोलिटब्युरो र ११ गते केन्द्रीय कमिटीको बैठक एमालेले बताएको छ । यी सबै बैठक चुनावको तयारीका लागि नै बोलाइएका हुन्।

आइतबार, २९ साउन, २०७९, बिहानको ०८:३२ बजे

सम्बन्धित खवर