तराई मधेसमा दसैँ : टीका, जमरा लगाइँदैन

तराई मधेसमा दसैँलाई, दुर्गा पूजा, दशहरा, दशमी, भगवती पूजाको नामले पनि मनाउने गरिन्छ ।

तराई मधेसमा जताततै दसैँका लागि दुर्गा भगवतीको आकर्षक मूर्ति बनाएर सजाइन्छ । दसैँ आउनुभन्दा एक/डेढ महिना अघि नै माटोको त्यस्ता मूर्ति बनाउने कालिगढलाई मूर्ति बनाउन भ्याइ–नभ्याइ हुने गर्दछ ।

नवरात्रिभर दैनिकजसो भक्तजनहरु मूर्ति राखिएको स्थानमा पूजाका लागि आउने गर्दछन् । दुर्गा भगवतीको मूर्ति राखिएको स्थान एक प्रकारले धार्मिक पर्यटकीय गन्तव्यजस्तै बनेको हुन्छ, जहाँ आसपासका गाउँ तथा टोलबाट भक्तजनहरु पूजा–आराधना गर्न र मेला भर्नसमेत आउने गर्दछन् ।

​मेलामा विभिन्न नाच आयोजना गरिएको हुन्छ । जस्तै, अलाह रुदल, कुमर भिजमान, चाटजटिन, सोरैठ लगायत हुन्छन् ।

तराई मधेसमा दुर्गा भगवतीका लागि जसले भाकल गरेका हुन्छन्, उसले भाकलअनुसारको बलि दिएर घरमा प्रसादको रुपमा मासु पकाएका हुन्छन् । जसको घरमा खसी काटिएको हुँदैन, त्यसलाई बोलाएर खुवाउने चलन तराई मधेसमा छ ।

तराई मधेसमा भाकल गरेर बलि दिने प्रचलन बढ्दै गएको हुनाले प्रायःको घरमा खसी काटिएको हुन्छ । दसैँमा मासुमात्र खान नभई दुर्गा भगवतीलाई गरिएको भाकल अनुसार खसी तथा बोका काट्ने गरिन्छ ।

तराई मधेसमा महानवमीका दिन विशेष पूजाआजा गरिन्छ । धेरैजसोले यही दिन भाकल अनुसार बलि दिने गर्दछन् । मधेसी समुदायमा टीका तथा जमरा लगाउने चलन हुँदैन । यद्यपि कतिपय ठाउँमा पहाडको सिको गरेर टीका लगाउने चलन पनि सुरु भएको छ ।

बिहिबार, २८ असोज, २०७८, बिहानको १०:०३ बजे

सम्बन्धित खवर