थारुको दसैँ : नवमीकै दिन टीका जमरा, ‘सख्या’ पैया नाचले दसैँलाई भव्य स्वागत

दसैँ आउनुभन्दा ७/१० दिन अगाडिदेखि थारु समुदायले ‘सख्या’ पैया नाचले दसैँलाई भव्य स्वागत गर्छन् । यो नाच करिब एक महिनासम्म नाचिन्छ ।   थारु समुदायमा नवमीकै दिन टीका र जमरा लगाउने प्रचलन छ । टीका रातो नभई चामलको पिठोमा मुछिएको सेतो टीका लगाउँछन् । साथै, पहेँलो जमरा मान्यजनबाट लगाएर आशीर्वाद लिन्छन् । दसैँलाई मनोरञ्जनको पर्वको रुपमा मात्रै नभई थारु समुदायले पितृ पूर्खा पूजाको अवसरको रुपमा पनि लिन्छन् ।

यतिबेला सबैले आ–आफ्नो घरमा पूजापाठ गरेर पितृको सम्झना गर्छन् । पूजा गर्दा कुखुराको मासु, माछा, कुभिन्डो, रायोको साग, ढिक्री आदि चाहिन्छ । पूजापछि परिवारका सबै सदस्य बसेर परिकार खान्छन् । बाँकी बचेका परिकार खोला वा नदीमा सेलाउँछन्, जसलाई उनीहरुले पितृ सेलाएको रुपमा व्याख्या गर्छन् ।
लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र कर्णाली प्रदेशको सुर्खेत जिल्लामा सामुहिक रुपमा दसैँमा सख्या, पैया, नाच नाच्ने संस्कृति छ ।

सप्तमीको दिन ‘पैनस्टोपी’ अर्थात् थारुको विशेष परिकार ढिक्री बनाउने एक प्रकारको भाँडा नजिकैको खोलामा लगिन्छ । गाउँका सबै महिला मिलेर त्यसलाई धुन्छन् ।

त्यसको भोलिपल्ट अर्थात् अष्टमीको दिन चामलको पीठोबाट गोलाकार ढिक्री बनाइन्छ । थारु समुदायले अष्टमीको दिन ढिक्री बनाएर आ–आफ्नो देवतालाई चढाउने चलन छ ।

त्यही दिन थारु समुदायमा रातभरि जाग्राम बसेर नाचगान गर्छन् । चलनअनुसार, कुखुरा तथा सुंगुरको बलि पनि त्यही दिन चढाइन्छ ।

थारु समुदायमा नवमीको दिनमा ‘गँवल्या’ टीका लगाइन्छ ।

सबैजना गाउँका अगुवा महटावाको घरमा भेला भएर गाउँका महटावासँग गाउँमै टीका लगाउने भएकोले त्यस दिनलाई गँवल्या टीका भन्ने गरिन्छ ।

गाँउका ‘देवठन्वा’ (देउता राख्ने स्थान) मा जुटेर महटावासँग कानमा जमरा लगाउने चलन छ । त्यहीँ सबैजना भेला भएर गीत गाउँदै महटावाको घरमा ‘गँवल्या’ टीका लगाउने प्रचलन छ ।

टीका भने सेतो हुन्छ । त्यही दिन सख्या नाच्ने सबै समूहले गाउँका अगुवा महटावासँग टीका लगाउने चलन छ ।

अरु समुदायको सांस्कृतिक प्रभावका कारण कसैकसैले टीकाकै दिन रातो टीका र जौकै जमरा लगाउने चलन पनि छ । टीका लगाइसकेपछि सबै गाउँले भेला भएर सखिया (सख्या) र बड्का नाच नाच्ने चलन छ ।

बिहिबार, २८ असोज, २०७८, बिहानको १०:०९ बजे

सम्बन्धित खवर