नेवारहरुको दसैँ : अष्टमी र नवमी दुबै दिन भात पाक्दैन

नेवारी समुदायको दसैँ पनि घटस्थापनाको दिनदेखि नै सुरु हुन्छ । त्यसदिन खोलाबाट माटो ल्याएर घरका मूलीले जमरा राख्ने गर्छन् । फूलपातीको दिनमा फूलपाती भित्र्याइन्छ र अष्टमीको दिनदेखि दसैँ विशेष रुपमा सुरु हुन्छ । त्यसदिन टोलका नेवारी समुदाय मिलेर राँगा किन्छन्, काट्छन् र सबैजना मिलेर भाग लगाउँछन् । राँगाको टाउकोदेखि पुच्छर र रगतसम्म पनि सबैलाई बराबर भाग लगाइन्छ र त्यो मासु घरभित्र लैजाँदा सामान्य पूजा गरेर भित्र्याइन्छ । त्यो मासु पकाइन्छ र समयबजी बनाइन्छ । समयबजी (छोएला, आलु, भटमास, अण्डा, लसुन–अदुवा, चिउरा, गेडागुडीलगायतका खानेकुरा) सबै बनाएर खाइन्छ । त्यसदिन दिउँसो भोज हुन्छ । भोजमा चिउरालगायत अचार, छोएला, मासु सबैथरी बनाइएको हुन्छ ।

नवमीको दिन बिहान आफ्ना सबै सवारी साधन, हात हतियार, मेसिनलगायतका सर–सामानलाई पूजा गरिन्छ । नवमीकै दिन कतिले आफ्ना कूल देवताका मन्दिरमा गएर पूजा गर्ने चलन छ । पूजा सकिएपछि समयबजी खानै पर्ने प्रचलन छ । अष्टमी र नवमी दुबै दिन घरमा खाना पाक्दैन ।
नवमीकै रात ‘कुची भ्वे’ खाइन्छ । यतिबेला कूलका दाजुभाइ सँगै बसेर खाने प्रचलन छ । कूल देवता कसको घरमा राखेको छ, त्यहाँ घरको मूली गएर ‘कुची भ्वे’ खाने गरिन्छ ।

दशमीको दिनमा भिनसेनको पूजा गरिन्छ । कुखुरा काटिन्छ । कुखुराको पखेटा, खुट्टा, टाउकोलाई ठूल्ठूलो गरी काटिन्छ, त्यसलाई ‘सीऊ’ भनिन्छ । त्यो सीऊ घरको मूलीलाई खान दिइन्छ । त्यसपछि मात्रै घरका अन्य सदस्यले खाना (भात) खान पाउँछन् । खाना खाएपछि घरको मूलीले टीका लगाइदिन्छन् । नेवारी समुदायका कतिपयले अक्षता मुछेर टीका लगाउँदैनन् भने कतिपयले अक्षताको टीका लगाउने प्रचलन बढ्दै गएको छ । नेवारी समुदायमा टीका थाप्नका लागि आमन्त्रण गर्नुपर्छ भने क्षेत्री बाहुनको समुदायमा टीका थाप्न निम्तो दिने प्रचलन छैन । केही नेवारी समुदायमा आफन्तकोमा गएर टीका लगाउने चलन छैन । यद्यपि, नख्ट्या भनेर भोज खाने प्रचलन भने छ ।

बिहिबार, २८ असोज, २०७८, बिहानको १०:१४ बजे

सम्बन्धित खवर